काठमाडौं । नेकपा एमाले भ्रातृ संगठन युवा संघ नेपालको विवाद जिल्ला तहमा पुगेको छ। असन्तुष्ट पक्षले चैत पहिलो साता गठन गरेको वैचारिक तथा सांगठनिक शुद्धीकरण अभियानले कास्कीमा छुट्टै भेला गरेको छ। एमालेका सचिव योगेश भट्टराईले उद्घाटन गरेको कास्कीको भेलामा पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्यहरू चुडामणि जंगली र रामकुमारी झाँक्रीले सम्बोधन गरेका थिए। असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएकी उपाध्यक्ष दिलु पन्तले समस्या चाँडै समाधान नभए सबै जिल्लामा कार्यक्रम आयोजना गर्ने चेतावनी दिइन्।
उपाध्यक्ष पन्तले आन्तरिक रूपमा विवाद मिलाउने धेरै प्रयास गरे पनि सहमति कार्यान्वयन नभएको गुनासो गरिन्। संस्थापन पक्षमा रहेका उपाध्यक्ष सूर्य ढकालले भने सानो विषयलाई अनावश्यक रूपमा ठूलो पारेर पार्टीभित्र समस्या पार्न खोजिएको आरोप लगाए। ‘विवाद खासै केही होइन। तर, त्यसलाई ठूलो बनाएर पार्टीभित्र पनि विवाद छ भनेर देखाउन खोजिएको छ,’ उनले भने, ‘केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि उहाँको उचाइ कम गर्न संघभित्र विवाद चर्काउन खोजिएको हो।’ उपाध्यक्ष पन्तले विधानविपरीत माघ २१ गते भएको निर्णय खारेज नहुन्जेलसम्म अन्य पक्षसँग वार्ता नहुने बताइन्। ‘हामीले सहेर बस्दा मात्रै एकता जस्तो देखिएको हो। असन्तुष्टि बाहिर नआएको हो। तर, अन्याय अब सहिन्न,’ उनले भनिन्।
माघ २१ गतेको स्थायी कमिटी बैठकले अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपट रावलको राजीनामा स्वीकृत गर्दै उपाध्यक्ष निरु पाललाई अध्यक्ष चयन गरेको थियो। सोही दिन अन्य पदाधिकारी पनि नियुक्ति गरिएको थियो।पार्टी अनुशासन आयोग र युवा फाँट इन्चार्जको निर्देशन बेवास्ता गर्दै चैत पहिलो साता संस्थापन पक्षले हेटौंडामा र असन्तुष्ट पक्षले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। पार्टीको अनुशासन आयोगले विवाद तत्काल समाधान गर्न शीर्ष नेतृत्वलाई आग्रह गर्दै दुवै पक्षलाई समानान्तर कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो।