नेभिगेशन
अन्य

संवाद सुरु भए प्रक्रिया लम्बाउने नेम्वाङको संकेत

काठमाडौं । दलहरूबीच सार्थक संवाद सुरु भए थप केही दिन प्रक्रिया रोक्ने संकेत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएका छन् । संविधानसभा बैठक चैत २३ का लागि डाकिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । त्यसभन्दा अगावै अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्न उनले आग्रह गर्दै आएका छन् । ‘मेरो प्राथमिकता दलहरूबीचको सहमति हो । सबै नेतालाई सार्थक संवादका लागि सकेसम्म ठाउँ दिने बताएको छ,’उनले भने, ‘परिणामुखी वार्ता सुरु भयो भन्ने निश्चित आधार देखापरे सोहीअनुरूपको कदम चाल्न सकिन्छ ।’ उता आउँदो चैत २३ पछि झन् दलहरूबीचको दूरी बढ्ने संकेत देखापरेको छ । सत्तारूढ दलहरू संविधान निर्माणको प्रक्रिया अघि बढाउने तयारीमा छन् भने विपक्षी मोर्चा सडक तताउने योजनामा छन् । विपक्षी मोर्चाले संविधानसभाको बैठकमै नजाने घोषणा गरिसकेको छ । विपक्षी मोर्चालाई मनाउन सत्तारूढ दलको प्रयास जारी छ । प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानका विवादित विषय सहमतिबाटै टुंग्याएर चाँडै संविधान जारी गर्ने दिशामा अग्रसर हुन आग्रह गरेका छन् । उनले आमहडताल लगायतका कार्यक्रम स्थगन गर्न पनि ध्यानाकर्षण गराएका छन् । ‘सहमतिबाटै हामी अघि बढ्न खोजिरहेका छौं । तपाईंहरू किन आन्दोलनतिर जान लागिरहनुभएको सहमतिमा आउनुहोस् । सबै समस्या सहमतिबाटै हल गर्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्