काठमाडौ । विपक्षी गठबन्धनले चैत २४ देखि थाल्ने भनिएको ‘निर्णायक आन्दोलन’ लाई लिएर मधेसी मोर्चामा आवद्ध दलहरुका बीचमा खटपट सुरु भएको छ । मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टीलगायत मोर्चा भित्रका एकथरी दलहरू संविधानसभा नै छाडेर आन्दोलनमा जाने पक्षमा छन् । उनिहरु यो सभाले जनआन्दोलन र मधेस विद्रोहको भावना प्रतिनिधित्व नगर्ने भएकाले स.विधानसभाबाटै बाहिरिनुपर्ने तर्क गर्दछन् । फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिकलगायत भने सभा नछाडने, बरु वार्ताका लागि अन्तिम घडीसम्म कसरत गर्नुपर्छ भन्नेमा देखिन्छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार त जनताले आन्दोलन नचाहेको बताउछन् । आन्दोलन र वार्ता पक्षधरबीच यही मतभेदका कारण मोर्चाको माघ १८ यता बैठकसमेत बस्ने सकेको छैन । मोर्चाका नेताहरू ३० दलीय विपक्षी गठबन्धनको भेलामा एक–आपसमा भेट्छन् । औपचारिकताका लागि हल्का मुस्काउने, हात मिलाउनेबाहेक थप बोलचाल हुदैन ।
हाल मोर्चाको संयोजक त रहेका सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मोर्चा भित्र संविधानसभा छाडेर आन्दोलनमा जाने कि संविधानसभामै रहिरहने मतभेद भएको खुलाए । आफूहरू सभाभित्र झगडा गरेर केही नजित्ने भन्दै सडकमा जाने तयारीमा भए पनि मोर्चा भित्र सहमति जुटाउन नसकिएको उनको स्वीकारे । संविधानसभा छाडेपछि मात्रै सत्तारुढ कांग्रेस र एमालेलाई दबाब दिन सकिने मनोविज्ञान महतोलगायत केही नेताको छ । फोरम लोकतान्त्रिकलगायतको सभामा रहिराख्ने अडानका कारण मोर्चा टुक्रिन सक्ने महतोले बताए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने संविधानसभा छाडेर सडकमा जादैमा उपलब्धि हात नपर्ने तर्क गर्छन् । पूर्वी मधेसका कार्यकर्तासग भेटै उनले बुधबार संविधानसभा छाड्नु भनेको जनमतको अपमान हुने बताएका थिए ।