नेभिगेशन
अन्य

भेरी—बबई डाइभर्सन आयोजनाको शिलान्यास

वीरेन्द्रनगर । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय गौरवको आयोजना भेरी—बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास गरेका छन् । आज दिउँसो उनले सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका–८ हात्तिखालमा आयोजित कार्यक्रममा आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले सरकारले आर्थिक वर्ष २०७०र०७१ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आफैमा महत्वपूर्ण रहेको बताए । उनले १२ किलोमिटर लामो सुरुङ खनेर भेरीको पानी बबईमा झारी ५१ हजार हेक्टरमा सिँचाइ र ४८ मेगावाट विद्युत उत्पादन हुने आयोजनालाई सफल बनाउनका लागि सबैले सहज वातावरण बनाइदिन निर्देशन दिए। उनले लामो प्रयास र मेहनतपछि शिलान्यास भएको बहुउद्देश्यीय आयोजनाले बर्दिया, बाँके र सुर्खेत जिल्लाका कृषकलाई सिँचाइ सेवा दिने जनाए । प्रधानमन्त्रीले सिँचाइ मात्रै नभएर यस आयोजनाले ४८ मेगावाट विद्युत उत्पादन पनि गर्ने र प्रत्यक्षरुपमा बर्दिया र बाँकेको ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने यस आयोजनामा राजनीतिकरण हुनु नहुनेमा पनि जोड दिए । प्रधानमन्त्री कोइरालाले शान्ति, स्थायित्व र लोकतन्त्र नभएसम्म विकासको बाटो नखुल्ने भन्दै सबैभन्दा पहिले नेपालमा यी कुराहरू संस्थागत हुन आवश्यक रहेको जिकिर गरे । अब नेपालमा सङ्घर्ष आवश्यक नभएको जिकिर गर्दै उनले आगामी १० वर्षसम्ममा नेपालले विकासमा मुहार फेरिसक्ने धारणा राखे । अशान्ति नै विकासको बाधक भएकाले शान्तिको वातावरण बने विकासको लहर आउने दाबी पनि उनले गरे ।उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले देशको स्रोतसाधनमा जनताको अधिकार रहेको भन्दै पहिले आयोजनामा स्थानीय जनतालाई पनि समेट्नुपर्ने सुझाव दिए । सुख्खा रहेको बर्दिया र बाँकेका खेतबारीमा अब सिँचाइ सुविधा पुग्ने भन्दै उनले कृषिमा पनि क्रान्ति हुने धारणा राखे । आयोजनाबाट उत्पादन हुने ४८ मेगावाट विद्युत सुर्खेत, बर्दिया र बाँके जिल्लामा लोडसेडिङमुक्त गराएर मात्रै बाहिर दिनुपर्ने सुझाव पनि उनले दिए । कार्यक्रममा सिँचाइ मन्त्री नारायणप्रकाश साउदले सिँचाइका ठूला आयोजनाहरूमध्ये भेरी—बबई डाइभर्सनको आयोजनापनि एक रहेको भन्दै यसलाई सम्पन्न गराउन आफू सक्रिय हुने धारणा राखे । सरकारको आफ्नो लगानीबाट सुरु हुने यस आयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्दै मन्त्री साउदले आयोजनामा नेपाली प्राविधिकले नेतृत्व गर्ने र आवश्यक विदेशी प्राविधिकको सहयोग लिएर आयोजना सम्पन्न गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका सह—महामन्त्री पूर्णबहादुर खड्का, सभासद् सीता नेपाली, क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकगायतले आयोजनाले पूर्णता पाउनुपर्ने र निर्माणको काममा स्थानीयस्तरबाट सहभागी गराउनु पर्ने सुझाव दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्