काठमाडौँ । राष्ट्रपति डा रामवरण यादव र चीनका राष्ट्रपति सी जिनपिङबीच चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ सहरमा द्विपक्षीय भेटवार्ता भएको छ । एसियाका लागि बोआओ मञ्चमा भागलिन बोआओ पुगेका राष्ट्रपतिद्वयबीच सम्मेलन केन्द्रमा शनिवार अपरान्ह आधाघन्टा भेटवार्ता भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । त्यस अवसरमा राष्ट्रपतिद्वयबीच आपसी हित र चासोका विविध विषयका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सरोकारका अन्य मुद्दामा विचार आदानप्रदान भएको थियो ।
नेपालको विकास प्रयासमा चीनले निरन्तर सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै राष्ट्रपति यादवले अन्तर्राष्ट्रिय मामिलामा चीनले निर्वाह गरेको सक्रिय भूमिकाको सराहना गरे । ्एसियाली पूर्वाधार लगानी बैंक स्थापनालगायत चीनले क्षेत्रीय समृद्धिका निम्ति अघि सारेका प्रयासहरूमा नेपालको सधैँ सहयोग एवम् समर्थन रहने बताउँदै राष्ट्रपति यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को पर्यवेक्षक मुलुक चीनसँग नेपालले सहकार्य र सहयोगका दायरा अझ विस्तार गर्न चाहेको बताए । राष्ट्रपति डा यादवले जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट नयाँ संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्वतर्फ उन्मुख गर्नुका साथै विकास निर्माणका काममा अघि बढाउन आफूहरु प्रयासरत रहेको जानकारी आफ्ना समकक्षी सीलाई गराएका थिए । राष्ट्रपति सीले चीन र नेपाल निकटका छिमेकीमात्र नभइ एकअर्कामा निर्भर रहेका, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभका निम्ति सधैँ सहकार्यका साथ विकासको पथमा अग्रसर हुन तयार रहेकामा प्रसन्नता व्यक्त गरे । दुवै देशको समृद्धि साझा चासोको विषय भएको भन्दै उनले सुरक्षाका क्षेत्रमा पनि समन्वयात्मक ढङ्गले काम गर्नु लाभदायक हुने बताए ।
नेपालले अवलम्बन गरेको ‘एक चीन’ नीतिको मुक्तकण्ठले प्रशंसा गर्दै चिनियाँ राष्ट्रपतिले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन विगतमा झैं भविष्यमा पनि निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । कानुन कार्यान्वयन गर्ने दुवै मुलुकका निकायबीच अझ मजबुत सहकार्य एवम् सहयोग हुनुपर्नेमा पनि उनले दिएका थिए ।