काठमाडौं । अमेरिकाले अलाइना बी तेप्लिजलाई नेपालका लागि राजदूत मनोनयन गरेको छ । वर्तमान राजदूत पिटर डब्लु बोडेको कार्यकाल जुनमा सकिँदैछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेप्लिजको नाम शुक्रबार घोषणा गरेका हुन् ।
बोडे आउनुभन्दा अघि राजदूत रहेका स्कट एच डेलिसीले महिला राजदूत न्यान्सी जे पावेललाई प्रतिस्थापन गरेका थिए । अलाइना पाँचौं महिला राजदूतका रूपमा नेपाल आउन लागेकी हुन् । अमेरिकी माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि उनी राजदूतमा नियुक्ति हुनेछिन् ।
अमेरिकाबाट महिला राजदूतका रूपमा झन्डै तीन दशकअघि क्यारोल सिलेस, त्यसको केही समयपछि जुलिया चाङ ब्लक र त्यसपछि थोरै समयका लागि सान्द्रा भोगेलगेसाङ नेपाल आएका थिए । सन् १९९१ मा अमेरिकी विदेश सेवामा प्रवेश गरेकी अलाइना विदेश मन्त्रालयकी मिनिस्टर काउन्सिलर पदमा कार्यरत छिन् । हाल उनी विदेश मन्त्रालयअन्तर्गत व्यवस्थाकीय नीति विभागकी निर्देशकसमेत हुन् । त्यसअघि उनी सन् २०११ देखि एक वर्ष अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा म्यानेजमेन्ट मिनिस्टर काउन्सिलर रहिन् । त्यसअघि उनले बंगलादेश र ब्रसेल्समा रहेरसमेत काम गरिन् ।