नेभिगेशन
अन्य

आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक एडिबीले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको यो वर्षको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ आज सार्वजनिक गर्दै एडिबीले उक्त प्रक्षेपण गरेको हो । अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।२ प्रतिशत रहे पनि कमजोर मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले धान, मकै, कोदोजस्ता खाद्यान्न उत्पादनमा असर पर्ने अनुमान एडिबीले गरेको छ । ‘राम्रो कृषिजन्य उत्पादन र विप्रेषण आप्रवाहमा भएको वृद्धिले आर्थिक वृद्धि र चालु खाता बचतमा रह्यो, प्रतिकूल मनसुनका कारण यो वर्ष वृद्धि कम हुने तर मौसम सामान्य रहेमा आगामी आवमा सुधार आउने छ’, एडिबीका देशीय निर्देशक केनिची योकोमाले भने । प्रतिकूल मनसुन र लम्बिँदो राजनीतिक सङ्क्रमणले गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन ४.६ प्रतिशतमा सङ्कुचित रहने अनुमान सुनाउँदै उहाँले धान र मकैको उत्पादन क्रमशः ५.१ र ६ प्रतिशतले घट्दा सरकारले अनुमान गरेको पाँच प्रतिशतको वृद्धि हासिल गर्न कठिन हुने बतानुभयो । विद्युत्, यातायात, सिँचाइ, सडकलगायत पूर्वाधारको अभाव हटाउन पुँजीगत खर्च वृद्धिमा बारम्बार जोड दिँदै उहाँले ती क्षेत्रको समुचित विकास एवम् पर्याप्त लगानी भएमा उच्च अर्थिक वृद्धिका साथै अर्थतन्त्रमा कृषि र विप्रेषणको निर्भरता हट्न सक्ने बताए । ‘अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन, वस्तु, श्रम तथा वित्तीय बजारको प्रभावकारिता प्रवद्र्धन गर्न नेपालले पूर्वाधार विकासको क्षेत्रमा बढी लगानी गर्दै निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन अपरिहार्य छ’, उच्च आर्थिक वृद्धिका पूर्वसर्त सुझाउँदै देशीय निर्देशक योकोयामाले भने । सन् २०१५/१६ मा एसियाको वृद्धिदर ६.३ प्रतिशत हुने र चीनको हालको ७.२ प्रतिशतको आर्थिक वृद्धिलाई भारतले उछिनेर ७.८ प्रतिशत पुर्याउने अनुमान परिदृश्यमा गरिएको छ । मोदी सरकारले थालेका सुधारका कार्यक्रमका कारण भारतको वृद्धिदर चीनको भन्दा उच्च हुने तर्क परिदृश्यले प्रस्तुत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्