काठमाडौं । एमाले नेताहरुको कार्यबिभाजन प्रस्ताव एकलौटी रुपमा प्रस्ताव गरिएको भन्दै विरोध भएपछि मंगलबार बस्ने स्थायी समिति बैठकमा परिमार्जित प्रस्ताव पेश हुने भएको छ । सोमबार बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले राखेको प्रस्ताव गुटगत आधारमा आएको भन्दै माधव नेपाल पक्षले आपत्ती जनाएपछि अध्यक्ष ओली ओलीले मिलाएर प्रस्ताव ल्याउन पोखरेललाई निर्देशन दिएका थिए ।
सोमबारको बैठकमा पाँच उपाध्यक्षहरू युवराज ज्ञवाली, विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य, वामदेव गौतम र भीम रावललाई क्रमशः पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमको जिम्मेवारी दिने प्रस्तावमा उल्लेख छ । त्यस्तै दुई उपमहासचिवमध्ये विष्णु पौडेललाई भूगोल सम्बद्ध विभाग र मोर्चा संगठनहरूको जिम्मेवारी तोकिएको छ भने अर्का उपमहासचिव घनश्याम भुसाललाई सरकार सम्बद्ध विभागहरूको संयोजक तोक्ने उल्लेख छ ।
पाँच सचिवमध्ये प्रदीप ज्ञवालीलाई केन्द्रीय सचिवालय, पृथ्वी सुब्बा गुरुङलाई संगठन विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, गोकर्ण बिष्टलाई मोर्चा संगठन र भीम आचार्यलाई राजकीय मामिला विभागको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ । त्यस्तै केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, आर्थिक विभाग प्रमुख विष्णु रिमाललाई दिने प्रस्तावमा उल्लेख छ ।
१४ अञ्चल र काठमाडौं उपत्यका इन्चार्जमा मेची हिक्मत कार्की, कोसी जीवन घिमिरे, सगरमाथा रामप्रीत पासवान, जनकपुर योगनारायण यादव, नारायणी काशीनाथ अधिकारी, उपत्यका सानु श्रेष्ठ, बागमती शेरबहादुर तामाङ, लुम्बिनी रामनाथ ढकाल, गण्डकी जगत विश्वकर्मा, धवलागिरी गणेश तिमिल्सिना, राप्ती भागवत विश्वासी, भेरी यामलाल कँडेल, कर्णाली गोरखबहादुर बोगटी, सेती कर्ण थापा, महाकाली गणेश तिमिल्सिनालाई बनाउन प्रस्ताव गरिएको छ । विद्यार्थी फाँट इन्चार्ज रवीन्द्र अधिकारी र युवा फाँट इन्चार्ज निरु पाललाई बनाउन प्रस्ताव गरिएको छ ।
स्थायी समितिको निर्देशनअनुसार कार्य विभाजन सर्वसम्मत बनाउन सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकमा पनि महासचिवले प्रस्तुत गरेको प्रस्तावमा चर्काचर्की भएपछि कुनै सहमतिबिना स्थायी कमिटीमा लगिएको थियो । स्थायी समितिको बैठकमा पोखरेलले पेश गरेको प्रस्तावमाथि उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव धनश्यम भूसाल, सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रस्ताव महाधिवेशनको आग्रहबाट केन्द्रित भएको र यसले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने बताएका थिए । उपाध्यक्ष भीम रावल र सचिव भीम आचार्यले दुवै पक्षलाई सन्तुलित गरेर जानुपर्ने बताएका थिए ।
उपाध्यक्ष वामदेव गौतमले महासचिवको प्रस्ताव पक्ष विपक्षमा प्रस्तुत भएकाले आफू कुनै पनि पक्षमा नलाग्ने बताएका थिए । वरिष्ठ नेता झलनाथ खनालले पनि सन्तुलन मिलाएर जानुपर्ने बताएका थिए। खनाल र गौतमले सहमतिमा अग्रसरता देखाएपछि नेताहरुको कार्यविभाजन पनि सहमतिमै गर्नका लागि परिमार्जन गरेर आज बस्ने स्थायी समितिको बैठकमा पेश हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७१