काठमाडौ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले संस्थापनबाट पार्टी केन्द्रीय कार्यसमितिको निर्णय र विधान विपरीत क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको देउवा पक्षीय भेलाले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको धाँधलीको विरोध गर्दै त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय पनि लिएको छ । देउवाले काठमाडौंमा उपलब्ध आफू पक्षीय केन्द्रीय सदस्यलाई निवासमा डाकेर देशभरमा भइरहेको क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा समीक्षा गरेका थिए । पार्टीको १३औं महाधिवेशनको नेतृत्व छनोटमा प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र देउवा पक्षबीच क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणदेखि नै देशभर प्रतिस्पर्धा छ । क्रियाशील सदस्यताले क्षेत्रीय प्रतिनिधि छनोट गर्ने र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छन् ।
प्रत्येक निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व छनोट गर्छ । केन्द्रीय नेतृत्व छनोट तहसम्म नै प्रभाव पार्ने भएकाले क्रियाशील सदस्यता वितरणलाई दुवै पक्षले महत्त्वका साथ हेरेका छन् । संस्थापन पक्षले पनि कतिपय ठाउँमा देउवा पक्षबाट धाँधली भएको आरोप लगाएको छ । केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यताको फारम केन्द्रले जिल्लालाई दिने र जिल्लाले क्षेत्रलाई, क्षेत्रले गाउँलाई दिई वडा कार्यसमितिमार्फत नवीकरण तथा वितरण गर्ने प्रणाली निर्धारण गरेको थियो । पार्टीको विधानमा पनि यही किसिमको व्यवस्था छ । देउवा पक्षीय नेता प्रकाशशरण महतले पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णय विपरीत संस्थापन पक्षीय जिल्ला सभापतिहरूले आफूअनुकूल सदस्यता नवीकरण र नयाँ वितरण गरेकाले त्यसलाई सच्याएर पारदर्शी बनाउन आग्रह गरिने बताए । उनका अनुसार भक्तपुर, कैलाली, इलाम, सुनसरी लगायत धेरै ठाउँमा त्यस्तो समस्या देखिएको बताए । ‘जिल्ला सभापतिले क्षेत्र, गाउँ हुँदै वितरण गर्नुपर्नेमा कतिपय ठाउँमा सिधै आफू अनुकूल वितरण गरेका छन्,’ महतले भने, ‘धाँधलीपूर्ण रूपमा भएका वितरण र नवीकरणलाई सच्याउनुपर्छ र वितरण प्रणाली पारदर्शी हुनुपर्छ ।’ त्यस्तै खालको समस्या देउवा पक्षबाट पनि भएको संस्थापन पक्षीय एक नेताले बताए । क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रामकृष्ण यादवले विवादका झन्डै सय जति उजुरी केन्द्रीय कार्यालयमा आएको बताए । त्यस्ता उजुरी दुवै पक्षबाट आएको भन्दै उनले छानबिन बढिसकेको बताए । ‘कतिपय ठाउँमा सभापतिले सिधै व्यक्तिलाई दिएर वितरण गर्ने गरिएको पनि उजुरी आएको छ,’ उनले भने, ‘गाउँमा जस्तै विवाद नगरमा पनि देखिएको छ ।’ केन्द्रमा अहिले सम्म चालीस जिल्लाको क्रियाशील सदस्यता आइसकेको छ । बाँकी ३५ जिल्लालाई चैत १५ भित्र बुझाउन अन्तिम मौका दिइएको छ । केन्द्रमा बुझाइ नसकेका जिल्लामा बढी विवाद देखिएको छ ।
यादवका अनुसार यसपटक देशभरबाट झन्डै सात लाख हाराहारीमा क्रियाशील सदस्यता पुग्ने अनुमान छ । यसअघि साढे तीन लाखको संख्यामा क्रियाशील सदस्यता दिइएको थियो । क्रियाशील सदस्यता वितरण शत प्रतिशत बढाउने पार्टीको नीति अनुसार यसपटक नयाँ वितरण प्रक्रियामा पनि दायरा फराकिलो पारिएको हो । नयाँ वितरणको संख्या बढेसँगै जिल्ला–जिल्लामा संस्थापन र देउवा पक्षबीच विवाद पनि चुलिएको छ ।