ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीबाट साना ठूला गरेर ४ दर्जनभन्दा बढी घर र लगभग ९० ओटा पसल जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी डम्बरप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार आपतकालिन राहत कसरी उपलब्ध गराउने र दिर्घकालिन राहतका लागि केन्द्रसँग के अनुरोध गर्ने भन्नेबारे छलफल गर्न जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।
फुङलिङ बजारमा सोमबार साँझदेखि लागेको आगो अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । बेलुकी साढे ७ बजेबाट सुरु भएको आगो इलाम र झापाबाट आएका दुईओटा दमकलले नियन्त्रणको प्रयास जारी राखेका छन् । अहिले पनि धुँवाको मुस्लो निस्किरहेको र कतिबेलासम्म आगो पूर्ण रुपमा नियन्त्रण हुने भन्ने यकिन छैन ।
तोक्मेडाँडास्थित पूर्वेली होटेलबाट ग्याँस पड्किएर सल्किएको आगो हावाका कारण बजारतिर फैलिँदै गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तोक्मे बजारका रेखा श्रेष्ठ, खेम श्रेष्ठ, डम्बर कार्की, हर्क श्रेष्ठ, मुक्ति पौडेल, दावा शेर्पा, भरत श्रेष्ठ, युवराज बराल, सुशीला सिटौला, नरेन्द्र सावाँ, खगेन्द्र तिमिल्सिना, गोपाल बराललगायतका घर जलेर नष्ट भएका छन् । जिविस भवनमा पनि क्षति पुगेको छ ।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाले दमकल नहुँदा आगो निभाउन गाह्रो भएको तर स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो निभाइएको बताए ।