काठमाडौँ । बागलुङ क्षेत्र नं १ को संविधानसभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले रु तीन करोड ४० लाख एक हजार खर्च लाग्ने जनाएको छ । गत मङ्सिर ४ सम्पन्न निर्वाचनमा नेपाली काँगे्रसका उम्मेदवार हरिबहादुर खड्काको गत माघमा जिप दुर्घटनामा परी मृत्यु भएपछि यही चैत २८ गते सो क्षेत्रमा निर्वाचन हुँदैछ । यस पटक सो क्षेत्रमा करिब पाँच हजार मतदाता थप भई कुल ५२ हजार २०२ मतदाताले पहिलोपटक विद्युतीय उपकरणमार्फत आफ्ना उम्मेदवारलाई मत दिने आयोगले आज यहाँ जनाएको छ । मङ्सिर ४ को निर्वाचनमा ४७ हजार ७३४ मतदाता रहेका थिए ।
निर्वाचनका तयारीका बारेमा सरोकारवालासँगको अन्तरसंवादमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । सो क्षेत्रका मतदातालाई आयोगले ३५ निर्वाचन स्थल र ७० केन्द्रमार्फत ४९० जना जनशक्ति परिचालन गरी मतदान गर्ने प्रबन्ध मिलाएको छ । नेपाली काँग्रेस, एमाले एमाओवादी लगायत दस दलका उम्मेदवारसहित तीन स्वतन्त्र उम्मेदवार सो क्षेत्रको निर्वाचनको मैदानमा उत्रेका छन् । गत असार ८ मा सम्पन्न काठमाडौँ २, चितवन ४, बर्दिया १ र कैलाली ६ को उपनिर्वाचनमा प्रयोग गरिए जस्तै गरी आयोगले सो क्षेत्रमा विद्युतीय उपकरणमार्फत मतदानको व्यवस्था मिलाउने तयारी गरेको छ । विद्युतीय मतदानका बारेमा सिकाउन निर्वाचन शिक्षाका स्वयम्सेवक घरघरमा खटिरहेका आयोगले जनाएको छ ।
‘बागलुङ क्षेत्र १ को निर्वाचनलाई नमुना निर्वाचनका रुपमा सम्पन्न गर्ने अभियानमा आयोग जुटेको छ, यसलाई सदा र्झै साथ र सहयोग दिन म सबै दल, तिनका उम्मेदवार एवम् निर्वाचनमा खटिएका कर्मचारीलाई आग्रह गर्दछु’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने । उनले निर्वाचनलाई तडकभडक नबनाउन, आचारसंहितालाई पूर्ण पालन गर्न र निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आचारसंहिताको प्रभावकारी कार्यान्वयनको आयोगले अनुगमन गरिरहेको स्पष्ट पार्दै भने । आयोग उम्मेदवारी खारेजीको पक्षमा छैन ।”
निर्वाचनका तयारीका बारेमा आयोगका सहसचिव वीरबहादुर राईले निर्वाचनका लागि आवश्यक ७१ प्रकारका सामग्री जिल्लाबाट मतदान स्थलमा लैजाने तयारी अवस्थामा रहेको बताए । आयोगका सहसचिव मातृका श्रेष्ठले विद्युतीय उपकरणमार्फत मतदान हुन लागेकाले आवश्यक तालिम, मतदाता शिक्षाको व्यवस्था मिलाइएको जानकारी दिए । अर्का सहसचिव लीलादेवी गडतौलाले निर्वाचन आचारसंहिता र निर्वाचन ऐन, नियमका बारेमा जानकारी गराएकी थिइन् । सो अवसरमा सहभागी रहेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचनलाई सफल बनाउने प्रतिबद्धता जनाएका थिए ।