नेभिगेशन
अन्य

राष्ट्रपतिलाई दलहरूको आग्रह–‘चिनियाँले संविधानबारे सोधे दलहरू प्रयत्नशील छन् भन्दिनुस्’

काठमाडौं । राजनीतिक दलका नेताहरूले राष्ट्रपति रामवरण यादवलाई आगामी चीनको भ्रमणताका उहाँका समकक्षी सी जिङ् पिङ्को नेपाल भ्रमणमा जोड दिनुपर्ने सुझाव दिएका छन्। चीन भ्रमणको तयारी गरिरहेका राष्ट्रपतिले दलका राजनीतिक दलका मुख्य नेताहरूलाई संविधान निर्माणका सवालमा छिमेकी देशले चासो राख्दा के उत्तर दिने भनी प्रश्न सोधेका थिए। ‘चीनमा मलाई नेपालको संविधान लेखनबारे पनि सोध्लान्, तपाईहरू नै भन्नुस् मैले के उत्तर दिने ?’ एक सहभागीले राष्ट्रपति यादवलाई उद्धृत गर्दै भने। उक्त बैठकमा धेरै नेताहरूले नेपालको आर्थिक विकासमा जोड दिनुपर्ने बताएका थिए भने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारको प्रतिनिधि बैठकमा उपस्थिति नभएकोमा आपत्ति प्रकट गरेका थिए। अलंकारिक राष्ट्रपतिको संवैधानिक सीमाहरू हुने भएकाले यस्तो बैठकमा कार्यकारीका तर्फबाट पनि उपस्थिति अनिवार्य हुनुपर्ने उनको तर्क थियो। ‘प्रधानमन्त्री नभए कम्तिमा परराष्ट्रमन्त्री त बैठकमा उपस्थिति हुनु पर्ने थियो,’ एक सहभागीले श्रेष्ठलाई उद्धृत गर्दै भने। यसपछि नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले पनि कुनै सन्धि सम्झौताभन्दा पनि नेपाल–चीन सद्‌भावलाई सुदृढ गर्ने काम राष्ट्रपतिको भ्रमणबाट हुनु पर्ने बताएका थिए। चिनियाँहरूले संविधान निर्माणमा प्रश्न सोध्दा दलहरू प्रयत्नशील छन् भनेर राष्ट्रपतिले भन्दिँदा राम्रो हुने दलका नेताहरूले सुझाव थियो। चीनको हाइनान प्रान्तमा हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन आगामी बिहीबार त्यसतर्फ जाने तयारीमा छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्