नेभिगेशन
अन्य

एमालेमा केपी र माधव गुटको बल्झियो किचलो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा आन्तरिक किचलो फेरि बल्झिएको छ। प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालको आन्तरिक विवादले पार्टी शीर्ष नेतालाई दुई कित्तामा उभ्याएको हो। युवा संघको संस्थापन पक्षले हेटौंडा र असन्तुष्ट पक्षले काठमाडौंमा शनिबार गरेका समानान्तर कार्यक्रमलाई दुई गुटको प्रतिनिधित्व गर्दै शीर्ष नेताले सम्बोधन गरेका छन्। पार्टी अनुसन्धान आयोग र युवा फाँटका इन्चार्जले कार्यक्रम स्थगन गरी पार्टी नेतृत्वमार्फत समाधान खोज्न गरेको आग्रह लत्याउँदै समानान्तर भेला गरिए। संस्थापन पक्षले हेटौंडामा राखेको विस्तारित बैठक उद्घाटन उपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष वामदेव गौतमले गरे भने राजधानीमा भएको भेलालाई पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपालले सम्बोधन गरेका छन्। हेटौंडाको भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको भेलालाई उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल र केन्द्रीय सदस्य बलवीर चौधरीलगायतले सम्बोधन गरेका छन्। राजधानीको बागबजारमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्यहरू पशुपति चौलागार्इं र बेदुराम भुसालले पनि सम्बोधन गरे। उक्त कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र राई, गरिमा शाह र रचना खड्काको पनि उपस्थिति थियो। अनुशासन आयोगले जनवर्गीय संगठनभित्र देखिएको विवाद तत्काल समाधान नगरे पार्टीमा विभाजन ल्याउने चेतावनी दिएको थियो। युवा फाँटका इन्चार्ज शेरबहादुर तामाङले पनि खुला आमसभाबाहेक अन्य कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए। इन्चार्जको निर्देशन आएपछि हेटौंडा भेलालाई राष्ट्रिय प्रतिनिधि परिषदको साटो विस्तारित बैठक भनिएको छ। करिब ७ सय प्रतिनिधि सहभागी उक्त बैठक होटल सामनामा भइरहेको छ। यता, राजधानीमा असन्तुष्ट पक्षले पुष्पलाल मदन भण्डारी पुस्तकालय तथा अध्ययन केन्द्रका नाममा कार्यक्रम आयोजना गरेको छ। पार्टीका नेताहरूलाई आमन्त्रण गरेर आइतबार पनि कार्यक्रम गर्ने योजना असन्तुष्ट पक्षको छ। राजधानीमा भएको कार्यक्रममा विभिन्न कमिटीका गरी करिब हजार प्रतिनिधि सहभागी रहेको सचिव मञ्जु यादवले नागरिकलाई जानकारी दिइन्। युवा संघ अध्यक्ष निरु पाल एमाले अध्यक्ष ओली र उपाध्यक्ष दिलु पन्त नेता नेपालनिकट हुन्। बुटवलमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेका पाल र पन्त महाधिवशेनतपछि फरक–फरक समूहमा रहँदै आएका छन्। पछिल्लो विवाद महेश बस्नेतले अध्यक्षबाट राजनीनामा दिएपछि सुरु भएको हो। बस्नेत उद्योगमन्त्री बन्नेबित्तिकै पाल कार्यबाहक अध्यक्ष बनेकी थिइन्। बस्नेतको राजीनामापछि पाल अध्यक्ष भइन्। बस्नेतसँगै उपाध्यक्ष झपट रावलले पनि युवा संघबाट बिदा लिएका थिए। त्यसपछि रिक्त दुई उपाध्यक्षमा सचिव सरोजदिलु विश्वकर्मा र कोषाध्यक्ष गोविन्द थापालाई पदोन्नति गरिएको थियो। खाली भएको सचिवमा रावलको सिफारिसमा बच्चन सिंहलाई ल्याइयो भने कार्यालय सचिव मोहन बास्तोलालाई कोषाध्यक्ष बनाइयो। पन्त पक्षले पदाधिकारीहरूको नियुक्ति गर्दा विधान मिचिएको आरोप लगाएका छन्। अनेरास्ववियुको उपाध्यक्षमा पराजित सिंहलाई सचिव बनाउँदा पदाधिकारी हुन एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान मिचिएको पन्त पक्षको तर्क छ। समावेशीअन्तर्गत दलित प्रतिनिधिका रूपमा विश्वकर्माको स्थानमा दलित समुदायकै प्रतिनिधि हुनुपर्ने उनीहरूको भनाइ छ। संस्थापन पक्षले भने अनावश्यक विवाद झिकेर समस्या उत्पन्न गर्न खोजिएको आरोप लगाएको छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्