काठमाडौं । यस वर्ष नेपालबाट विदेशी मुलुकहरुमा हुँदै आएको निर्यात व्यापार अघिल्लो वर्षको तुलनामा खस्किएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको छ । भारत र चीनबाट हुने आयात उच्च दरले बढ्दै जानु, निर्यात घट्दै जानु व्यापार घाटाको मुख्य कारण हो । चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक हेर्दा भारततर्फको निर्यात ९।५ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि वृद्धिदर घटेको छ ।
जबकि यस अवधिमा भारतबाट भएको आयात ८ प्रतिशतले बढेको छ भने चीनबाट ५० प्रतिशत र अन्य मुलुकबाट १३ प्रतिशतले आयात बढेको छ । भारत र अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको तुलनामा बढे पनि वृद्धिदर भने घटेको देखिन्छ ।
माघ महिनासम्म कुल वस्तु निर्यात ५।१ प्रतिशतले घटेको छ भने आयात ८ प्रतिशतले घटेको छ । आयात–निर्यातको विपरीत गतिका कारण सात महिनाको अवधिमा व्यापार घाटा १६ प्रतिशतले बढेर ३ खर्ब ९४ अर्ब ५९ करोड नाघेको छ । राष्ट्र बैंकका अनुसार भारतसँगको व्यापार घाटा दुई खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, चीनसँगको घाटा ६१ अर्ब रुपैयाँ र अन्य मुलुकसँगको घाटा ८३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा विभिन्न मुलुकहरुमा ५० अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तुहरु नेपालबाट निर्यात भएको छ भने ४ खर्ब ४४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएको छ ।
भारतबाट मात्र दुई खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने चीनबाट ६३ अर्ब रुपैयाँ बराबरको वस्तुहरु भएको छ । त्यस्तै, अन्य मुलुकबाट एक खर्ब रुपैयाँ बराबरको बस्तुहरु आयात भएको छ । त्यस्तै कुल निर्यातमध्ये ३१ अर्ब ७१ करोड रुपैयाँको वस्तु भारततर्फ निर्यात भएको छ भने १ अर्ब ८० करोडको चीनमा र १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु अन्य मुलुकतर्फ निर्यात भएको छ ।