नेभिगेशन
अन्य

‘परिणाम निस्कने गरी सार्थक वार्ता गर्नुस’

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परिणाम निस्कने गरी सार्थक संवाद गर्न शीर्ष नेताहरूलाई फेरि आग्रह गरेका छन् । गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजको दोस्रो स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलबीच ध्रुवीकरण बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै ३७ दिनदेखि सहमतिका लागि स्थगित संविधानसभाको बैठक लामो समयसम्म लम्ब्याइरहनु औचित्यपूर्ण नहुने स्पष्ट पारे । संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न नसकेपछि प्रक्रियाबाट संविधान बनाउने आफ्नो प्रस्तावलाई थाती राखेर दलहरूलाई पुनः सहमति खोज्ने अवसरका लागि अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगन गरेका सभाध्यक्षले लम्बिँदो राजनीतिक संक्रमणबाट देशलाई समाधान दिन दल र तिनका नेताले परिणाममुखी सार्थक वार्ता गर्नैपर्ने तथा त्यसको विकल्प नरहेको दोहोर्याए । सभाध्यक्षले सहमति कायम नभएका विषयमा २४सै घन्टा छलफल गरेर निष्कर्षमा पुग्न सत्तापक्ष र एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई आग्रह गरे । राजनीतिक दल र तिनका नेता सहमति कायम गर्न सक्षम रहेका तर त्यसो गर्न उनीहरुले नचाहेको महसुस आफूलाई भएको बताउँदै नेम्वाङले यही चैत ११ गते अगावै निष्कर्षमा पुग्न पुनःआह्वान गर्नाका साथै नागरिक समाज, विद्वत् वर्गलगायत सबैलाई सकारात्मक दबाब दिन अनुरोध गरे । लोकतन्त्रका उपलब्धि संस्थागत गर्न तथा राष्ट्रलाई समृद्धिका मार्गमा अग्रसर गराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देखाएको बाटामा हिँड्नु आजको आवश्यकता भएको स्मरण गराउँदै सभाध्यक्ष नेम्वाङले देशलाई सहमतिमा संविधान दिन सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गरे । कलेजका अध्यक्ष एवम् सभासद् प्रा भीमसेनदास प्रधानले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर संविधान बनाउन सबै दलका नेतामा सद्बुद्धि प्राप्त होस् भन्दै कोइरालाले अधुरा छाडेका काम पूरा गर्न सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । सभासद् गगनकुमार थापाले दलीय एवम् व्यक्तिगत स्वार्थका कारण संविधान लेखनमा सहमति जुट्न नसकेको बताउँदै जनयुद्धरुपी चक्रब्यूहबाट देशलाई मुक्त गरेका कोइरालाको अभाव राष्ट्रलाई आज पनि खड्किएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्