मुस्ताङ । बाक्लो हिमपातका कारण बन्द भएको लोमान्थाङ पर्यटकलाई खुल्ला गरिएको छ । बाटोमा जमेको हिउँ पग्लेका कारण पर्यटकहरू लोमान्थाङ जान थालेका छन् । फागुन दोस्रो साता तीन दिनसम्म निरन्तर हिउँ परेका कारण बन्द गरिएको लोमान्थाङ मौसममा सुधार आएका कारण भ्रमण खुल्ला गरिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । ‘चैत महिना सुरु भएदेखि यहाँ पर्यटकहरू आउन थालेका छन, बाटोमा हिउँहरू पग्लिसकेको छ,’ शेरचनले भने । अनौठो भू–बनोट, त्यहाँका जीवनशैली, परम्परा र राजदरबार अवलोकन लागि बर्सेनि हजारौँ पर्यटक लोमान्थाङ पुग्ने गरेका छन् । पैदल र सवारी यात्राबाट पर्यटक लोमान्थाङ आउन थालेको प्रमुख शेरचनले बताए । लोमान्थाङमा तेस्रो मुलुकका नागरिक भ्रमणमा बढी जाने गरेका छन् । मौसममा सुधार भएसँगै लोमान्थाङसहित उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारण पनि घर फर्कन थालेका छन् ।