गणेश केसी (आईसीसी सदस्य) एनआरएनए
गणेश केसी गैर आवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य हुनुहुन्छ । अस्ट्रेलियामा बसोबास गर्ने केसी एनआरएनए भवन शिलान्यास कार्यक्रममा सहभागी हुन् नेपाल आउनुभएको हो । एनआरएनए अस्ट्रेलियाको पूर्व अध्यक्ष केसी नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अस्ट्रेलियामा समेत सक्रिय हुनुहुन्छ । केसीसँग एनआरएन अभियान र जनसम्पर्क समितिको गतिविधिमा केन्द्रित भएर गरेको कुराकानी
नेपाल के उद्देश्यले आउनुभयो ?
खासगरी एनआरएन भवन शिलान्यासको सिलसिलामा आएको हुँ । नेपाल आउनुको प्रमुख उद्देश्य यही नै हो । त्यसबाहेक घरपरिवार, नातागोता र साथीभाइसँगको भेटघाट गर्ने उद्देश्य त छदै थियो ।
यतिबेला एनआरएनएको मूल नेतृत्वमा शेष घले हुनुहुन्छ, तपाईं पनि केन्द्रीय सदस्य हुनुहुन्छ, एनआरएन अभियान कसरी अघि बढिरहेको छ ?
जुन उद्देश्य लिएर एनआरएन अभियान अघि बढेको थियो– त्यो उद्देश्यमा अस्ट्रेलियामा रहेका नेपालीले सुरुदेखि नै साथ दिंदै आएका हौं । मैले पनि एनआरएनको सानो सदस्यदेखि नै काम गर्ने अवसर प्राप्त गरें । यही क्रममा एनआरएन अस्ट्रेलियाको अध्यक्षसमेत भएँ । त्यसलगत्तै अहिले आईसीसी मेम्बर छु । शेष घलेजी अध्यक्ष हुनुभइसकेपछि उहाँले हिजोका कमीकमजोरीबाट पाठ सिक्दै एनआरएन अभियानलाई अत्यन्तै सक्रियतापूर्वक अघि बढाउनुभएको छ । खासगरी स्वदेश र विदेशमा बसेका नेपालीलाई जोड्नको निम्ति र प्रवासमा बसेका नेपालीको शिर उचो गर्नेगरी काम गर्दै आउनुभएको छ । अझ म त के भन्छु भने विगतभन्दा अहिले एनआरएनको उद्देश्यले सार्थकता पाएजस्तो अनुभव भएको छ । हिजो भएका भन्दा राम्रा काम गर्ने प्रयास भएका छन् । त्यसको परिणाम देखिइ पनि सकेको छ । अध्यक्ष बन्न चुनाव लड्दै गरेको अवस्थामा गरेका प्रत्येक प्रतिबद्धतालाई पूरा गर्ने बाटोमा घले हुनुहुन्छ । उहाँले अध्यक्षमा निर्वाचित भएसँगै एनआरएनएको आफ्नै भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसको लागि उहाँले दिनरात खट्नुभयो र आज भवन शिलान्यास भएको छ । यो सानो उपलब्धि होइन ।
तर एनआरएनए संस्थालाई घलेजीको व्यक्तित्वले छायामा पार्यो, एनआरएन संस्थाभन्दा घले एकजना व्यक्तिको प्रसिद्धि बढाउने काम भयो भन्ने गुनासो पनि सुनिन्छ नि ?
वास्तविक रूपमा भन्नुपर्दा अस्ट्रेलियामा स्थापित व्यवसायी घलेजीलाई एनआरएन अभियानमा सामेल हुन आवश्यक पनि थिएन होला । तर यो संस्थामार्फत प्रत्येक प्रवासी नेपालीले स्वदेशलाई माया गर्ने वातावरण बन्नुपर्छ भनेरै उहाँँ यसमा जोडिनुभएको हो । तपाईंले भनेको कुरा सही हो, घलेजीलाई नेपालमा आफ्नो नाम स्थापना गर्न एनआरएन अभियानमा सहभागी हुन आवश्यक थिएन । उहाँँ आफैं सफल व्यवसायी र सफल उद्यमीको रूपमा स्वतन्त्र हैसियतले नेपालमा छुट्टै पहिचान बनाउन सक्नुहुन्थ्यो । त्यसमा कसैको पनि दुईमत नहोला । तर उहाँले त्यसो गर्नुभएन । एनआरएनसँग जोडिएर प्रवासमा बस्ने हरेक नेपालीको स्वामित्व रहने गरी उहाँले काम गर्नुभएको छ । भोलि उहाँले छोडेपछि पनि आउने नेतृत्वलाई उहाँले एनआरएनए संस्थाको उच्च हैसियतपूर्ण विरासत हस्तान्तरण गर्ने दिशामा हुनुहुन्छ । त्यसैले घलेजीको व्यक्तित्व र उचो कदसँगै एनआरएनए संस्थाको हैसियत पनि बढ्दै गएको छ । उहाँको व्यक्तित्वले एनआरएनएलाई छायामा पार्यो भन्ने कुरासँग सहमत हुन सकिंदैन । वास्तवमा भन्नुपर्दा भोलि नेतृत्वमा आउनेलाई समेत चुनौती दिने गरी उहाँले काम गर्नुभएको छ ।
यसअघिको नेतृत्वले घलेले जति काम गर्न सकेका थिएनन् भन्ने तपाईंंको दाबी हो ?
वास्तवमा यो कुरा सत्य हो । म पनि एनआरएनए मुभमेन्टमा लागेको बर्षौं भइसक्यो । अस्ट्रेलियाको अध्यक्षसमेत भएर काम गरें । हिजोको नेतृत्वले केही नै गरेनन् भन्ने पनि होइन । सुरुवात उहाँहरुले नै गर्नुभएको हो । कुनै पनि कुराको आविस्कार गर्ने कामलाई सानो उपलब्धि भन्न मिल्दैन । तर त्यसलाई जसरी अघि बढाउनुपर्ने थियो– त्यसमा जे–जस्ता कमीकमजोरी देखिए– त्यसको गुन्जायसचाहिं अहिले छैन । एनआरएनए संस्थालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण गैर आवासीय नेपालीको भावनालाई एकत्र गर्दै त्यसलाई अघि बढाउने प्रयास घलेले गर्नुभएको छ ।
तपाईं भवन निर्माण सहयोग संकलन समितिको ओसियाना कोअर्डिनेटर पनि हुनुहुन्छ, भवन बनाउने स्रोत कसरी जुट्दै छ ?
घलेजीको कामको मूल्याङ्कन गर्ने एउटा आधार भवन निर्माणको स्रोत जुटाउने कार्यलाई बनाउन सकिन्छ । यदि साँच्चै भन्ने हो भने घले एक्लैले आफ्नै निजी योगदानले एनआरएनए भवन निर्माण हुन सक्थ्यो । तर उहाँले त्यसो गर्नुभएन । दिनरात नभनी स्रोत जुटाउनको लागि पूरै विश्व भ्रमण गर्नुभयो । किनभने त्यस भवनमा प्रत्येक गैर आवासीय नेपालीको स्वामित्व होस् भन्ने हामीले चाहेका छौं । त्यसैले गच्छेअनुसार सबै गैर आवासीय नेपालीले यसमा सहयोग गर्दै हुनुहुन्छ । त्यही सहयोग नै यसको मुख्य स्रोत हो । सहयोग संकलनको यात्रा अस्ट्रेलियाबाट सुरु भएको थियो । दुई करोडजति नेपाली रुपैयाँ संकलन गर्न हामी अस्ट्रेलियामै सफल भयौं । त्यही सुरुवातलाई निरन्तरता दिंदै अध्यक्षज्यूले विश्व भ्रमण गर्नुभयो । अमेरिका, जापान, बेलायत, हककङ जहासुकै बस्ने नेपालीको घरदैलोमा पुगेर अध्यक्षज्यूले भवन निर्माणको लागि सहयोगको आह्वान गर्नुभएको छ । त्यसैको जगमा भवनको शिलान्यास हुन सकेको हो । यसमा सम्पूर्ण एनआरएनले होस्टेमा हैंसे गरेका छन् । उहाँकै कार्यकालमा भवन निर्माण कार्य सम्पन्न होला भन्ने हामीले आशा गरेका छौं ।
एनआरएनएमा सबै प्रवासीलाई समेट्न नसकेको र यसमा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्ने गुनासो पनि सुनिन्छ नि, तपाईंलाई के लाग्छ ?
विदेशमा खुलेर भर्खरै हामीले सुरु गरेको संस्था हो एनआरएनए । त्यसैले दलीय राजनीतिभन्दा माथि उठेर सम्पूर्ण नेपालीको हित हुने कुरामा अघि बढ्नुपर्छ । त्यसअनुरूप यसले अगाडि फड्को मारेको छ । हो– कतिपय विषयमा विवाद आउने गर्छन्, केही कुरामा समझदारी पनि हुन नसकेको होला तर समयक्रमसँगै त्यसलाई सुधार्दै संस्था हिजोभन्दा आज राम्रो रूपले अघि बढिरहेको छ । यसको सदस्य संख्या पनि बढ्दै गएको छ । दायरा फराकिलो हुँदै गएको छ । स्पष्ट रूपमा हामीले भनेका छौं यो राजनीति गर्ने थलो हैन– यो त देशलाई माया गर्ने माध्यम हो । देशलाई कसरी समृद्धिको दिशातर्फ डोर्याउन सकिन्छ– त्यसको चिन्तन गर्दै व्यवहारमा उतार्ने माध्यम हो । हुन त यतिबेला नेपाल संविधान निर्माणको चरणमा छ । त्यसले गर्दा अन्य विषयले भन्दा राजनीतिले प्रधानता पाएको अवस्था छ । त्यसको असर एनआरएनमा पनि परेको होला । तर मुलुकको राजनीतिक संक्रमणको अन्त्यसँगै एनआरएनमा देखिएका राजनीतिक विकृति पनि हराएर जाने हामीलाई विश्वास छ ।
मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउने कुरा गर्नुभयो, त्यसको लागि एनआरएनएले ठोस कदम के चालेको छ ?
हो– हामीले सुरुवातमा नेपालीलाई ठूलो सपना देखाएकै हो र त्यो गल्ती थियो पनि भन्छु । हामीले आफ्नो हैसियतअनुसार प्रतिबद्धता व्यक्त गर्नुपथ्र्यो । रातारात मातृभूमिलाई स्वर्ग बनाउने हाम्रो तागत थिएन । तर एउटा कुरा के हो भने त्यो उत्साह र आत्मविश्वास प्रकट नगरेको भए यति उपलब्धि पनि हासिल हुन सक्दैनथ्यो । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने कविताको भावमा हामीले काम गर्नु थियो । हो– हाम्रो उद्देश्य त्यही नै हो तर त्यसको प्राप्ति रातारात हुन सक्ने अवस्थाचाहिं थिएन र छैन । तर हामीले जे गर्दै छौं र गरिरहेका छौं– त्यसलाई न्यून मूल्याङ्कन गर्न भने मिल्दैन । एनआरएनएको संस्थागत जानकारीमा नभइकनै गैर आवासीय नेपालीका तर्फबाट व्यक्तिगत वा सामूहिक रूपमा अनगिन्ती काम भएका छन् । त्यसको रेकर्ड हामी खोज्दैछौं । तर कामै नभएको भने होइन । अब बिस्तारै हामीले सामूहिक लगानीमा जोड दिंदै आएका छौं । त्यसको परिणाम एक दुई वर्षमा देखिन्छ भन्ने हाम्रो विश्वास छ । पैसामात्रै हैन– सीप, ज्ञान, दक्षता र अनुभवलाई पनि स्वदेशको उपयोगमा ल्याउन चाहन्छौं ।
दोहोरो नागरिकताको मुद्दा तपाईंहरुले उठाएको निकै वर्ष भइसक्यो, त्यसमा के प्रगति भएको छ ?
यसमा पनि राम्रै उपलब्धि हासिल भएको छ । अस्ति एनआरएनए भवन शिलान्यासकै क्रममा सम्माननीय सभामुख सुवास नेम्वाङले आगामी संविधानमा दोहोरो नागरिकताको व्यवस्था हुने सुनिश्चितता गराउनुभएको छ । त्यसैले हामीलाई आशा छ– जन्मभूमिसँग अटुट रूपमा जोडिने हाम्रो चाहनाले नयाँ बन्ने संविधानमार्फत मूर्त रूप पाउँछ ।
अस्ट्रेलियामा नेपालीको अवस्था कस्तो छ ?
अस्ट्रेलियामा नेपालीको संख्या क्रमिक रूपमा बढ्दो छ । जति संख्या बढ्दै गएको छ– त्यति नै समस्या र जटिलता पनि थपिंदै गएको छ । स्वास्थ्यसम्बन्धी समस्या, माइग्रेसन सम्बन्धी समस्या, विद्यार्थीको समस्या आदिलाई मध्यनजर गरेर हामीले एनआरएनए मार्फत सामाजिक काम अघि बढाएका छौं । म अस्ट्रेलिया एनआरएनको अध्यक्ष हुँदा एक करोड ६३ लाख रुपैयाँबराबरको सोसियल वेलफेर फन्ड खडा गरेको थिएँ । त्यसबाट कोही पीडित नेपाली छ भने न्यूनतम ५–६ लाख उपलब्ध गराउँदै आएका छौं । त्यस्तै नेपालीलाई परेको समस्या सुन्न कल सेन्टरको व्यवस्था गरेको छौं । माइग्रेट भएर जानेको सुविधाका लागि इन्फर्मेसन डेस्क राखेको छौं ।
तपाईंं एनआरएनएमा मात्रै होइन– नेपाली जनसम्पर्क समितिमा समेत सक्रिय हुनुहुन्छ । समितिको अवस्था कस्तो छ ?
जनसम्पर्क समितिमा केही विवाद छन् । त्यसलाई समाधान गरेर एक ढिक्का बनाउने प्रयत्नमा हामी लागेका छौं । अब चाँडै नै सबैसँग सल्लाह गरेर समितिलाई एक ढिक्का बनाएर अघि बढाउँछौं ।
नयाँँ अधिवेशन हुन्छ ?
गराउने बेला भइसकेको छ । प्रक्रिया पूरा गरेर चाडै नै नयाँ अधिवेशनको मिति तोक्ने साथीहरुबीच सल्लाह भएको छ त्यहीअनुरूप काम हुन्छ ।
यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...आइतबार, भदौ १६, २०८१
यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...मंगलबार, भदौ ११, २०८१