नेभिगेशन
व्यक्ति/व्यक्तित्व

समाजसेवामा समर्पित श्री नापित

कृष्ण तिवारी ध्यम कद अनि हँसिलो गोलो अनुहार । नेपाली समुदायका प्रायजसो कार्यक्रममा देखिने अनुहार हो, यो । विगत २० वर्षदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका आई टि विशेषज्ञ श्री नापित नेपाली समुदायमा नौलो अनुहार पटक्कै होइनन् । अस्ट्रेलियाको नेपाल समुदायमा पुरानादेखि नयाँ पुस्ताले समेत “श्री दाई” नामले कहलिएका नापित विस्तारै नेपालीहरु बीचमा मात्र नभई अस्ट्रेलियन समुदायमा समेत आफ्नो छुट्टै परिचय बनाउन सफल भएका छन् ।Shree_Napit2 अस्ट्रेलियाका सुरुवाती दिनदेखि नै आई टी क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाउँदै आएका नापितले जीवनमा अध्ययन र कामको अनुभवबाट संगालेका आफ्नो सीप, कार्यदक्षतालाई मनग्य रुपमा नेपाली समुदायमा समेत खर्चिसकेका छन् । काठमाडौंको नघल टोलमा आजभन्दा झण्डैं आधा शताब्दि अगाडि बुवा चन्द्र नापित तथा आमा हिरादेवीको कोखबाट जन्मेका श्री परिवारमा जेष्ठ सुपुत्र थिए । स्वास्थ्य क्षेत्रमा कार्यरत बुबा स्थानिय परोपकारी संस्था परोपकारमा आवद्ध थिए । परोपकार संस्था ९० साल भन्दा अगाडिदेखि स्थानिय जनताहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिदै आएको संस्था हो । उनी ९० सालमा नेपालमा आएको महाभुकम्पमा घाइतेहरुको उद्धारमा खटिएका थिए । शिक्षालाई प्राथमिकता दिने परिवार भएकाले श्री वाल्याकाल देखि नै अध्ययनमा रुचि राख्दथे । त्यसैले उनले तीन वर्षको उमेरबाटै स्थानिय विद्यालय प्रभात माविमा कक्षा एकमा भर्ना भएर अध्ययन थाले । कक्षामा उनी सधैं “टप तीन” मा आउने श्री २०३५ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा उर्तिण भए । श्रीको वाल्यकालको चाहना डाक्टर बनेर बुवा जस्तै सेवा गर्ने थियो । तर एसएलसी उत्र्तिण भएपछि निर्णय परिवर्तन गरी अमृत साइन्स क्याम्पसमा फिजिकल विषय लिएर अध्ययन थाले । २०३९ सालमा आइएस्सी सकेपछि श्रीले यूएसएसआरको रस्सामा इन्जिनियरिङ विषयमा अध्ययनका लागि छात्रवृति पाए तर भगवानको चाहना अर्कै थियो । आफ्नो बुवाको स्वर्गवास भएको कारण श्रीले यो पढ्ने मौका गुमाउन पुगे । घरको जेठो छोरो भएकाले घर चलाउने अभिभारा श्रीकै काँधमा थपियो । त्यसपछि उनी त्रि–चन्द्र क्याम्पसमा बिएस्सीमा भर्ना भए र किङस्वेमा सानो किराना पसल खोलेर जीवनलाई अगाडि बढाए । व्यवसाय त्यति फलिफाप नभएकाले केही समयपछि व्यापार छोडेर होटल क्षेत्रमा काम गरे । त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी सकेपछि सन् १९८९ मा कामको सिलसिलामा श्रीलंकाको कोलोम्बो शहर पुगे । कोलम्बो बस्दा उनले इन्टरन्यासनल बिजनेस स्कूलबाट डिप्लोमा ईन इन्फरमेसन टेक्नोलोजी कोर्स पुरा गरे । विस्तारै श्री सुचना प्रवधिको क्षेत्रमा प्रवेश गरे । सन् १९९१ मा अध्ययन सकेर नेपाल फर्केपछि श्रीले पुतलीसडक स्थित युनिभर्सल ल्याङवेज एण्ड कम्प्युटर इष्टिच्युटमा कम्प्युटर अध्यापन गराउन थाले । त्यतिवेला उनले शान्ति सेनाका अधिकारी, हिमालय बैक, अमेरिकी दुतावास, तत्कालिन आरएनएसीका कर्मचारी लगायतलाई समेत कम्प्युटर तालिम दिएका थिए । अस्ट्रेलियाको यात्रा केही वर्ष अध्यापन गरेपछि आईटी क्षेत्रमा अझ बढी ज्ञान हासिल गर्ने रहर श्रीमा पलायो । कुन देशमा अध्ययन गर्न जाँदा राम्रो होला भनी सोचिराखेकै वेला संयोगवंस अस्ट्रेलियामा बसोवास गर्दै आएका बिमल भट्टराई नेपाल भ्रमणमा हुँदा काठमाडौंमा भेट भयो । भेटघाटको क्रममा श्रीले आईटी विषय पढ्न रुचि भएको कुरा भट्टराईलाई सुनाए । बिमलले श्रीलाई आई टी पढ्नको लागि अस्ट्रेलिया एकदम राम्रो छ अस्ट्रेलिया आउन सुझाएँ । अनि बिमलकै सल्लाह र सहयोगबाट सन् १९९५ मा अध्ययनका लागि श्री सिड्नी आइपुगे । आफ्नै कार्यक्षेत्रमा काम गर्ने अठोट लिएर बसेका श्रीले अस्ट्रेलिया आएको झण्डै चार महिनापछि आफ्नै पहलमा काम पाउन सफल भए । कम्पनीको डाटावेस अपडेट र व्यवस्थापन गर्ने काम पाएका श्रीलाई एक्जीक्यूटिभ टीमले कामको मूल्याङकन गर्दै डाटावेस म्यानेजरको काम सम्हाल्न आग्रह गरे । डाटावेस म्यानेजर भैसेकेपछि विस्तारै कामको अभिभारा बढ्दै गयो । त्यतिवेला श्रीले इन्भेष्टमेन्ट प्रोपर्टी सम्बन्धि क्याम्पेन व्यवस्थापन र मार्केटिङ डाटावेस डिजाइन र व्यवस्थापन गर्दथे । सहयोगी भावनाले भरिएका श्रीले आफू म्यानेजर हुँदा चार जना नेपालीहरुलाई आफ्नो डिपाटमेन्टमा काम दिए । जुनवेला नेपालीहरुको नेटवर्क बलियो नहँुदा काम पाउन निकै गाह्रो थियो । त्यतिवेलाको नेपाली समुदाय र अहिलेको समुदायबीच तुलना गर्दा धेरै भिन्नता महसुस श्रीले गर्छन् । हाल बढ्दै गएको नेपाली समुदाय र नेपाली मुलकावासीहरुले गरेको प्रगति देखेर श्री नेपालहरुप्रति गर्व गर्छन् । सन् २००१ अकस्मात कम्पनी बन्द भएपछि श्री सेन्चुरी २१ मा इन्भेष्टमेन्ट प्रपर्टी शाखाको म्यानेजर भएर काम गरे । झण्डै एक वर्षपछि अस्ट्रेलियन मतदाताहरुको डाटावेस अपडेड गर्ने एउटा ठूलो प्रोजेक्टमा प्रोजेक्ट म्यानेजर भएर काम गर्ने आवसर पाए । अनि सेन्चरी २१ छोडे । आफ्नो घरसँगैको कामको खोजीमा सन् २००३ मा अस्ट्रेलियन ग्याँस लाइट (एजिएल) कम्पनीमा सिनियर एनालिष्ट भएर काम थाले । अवसरको खोजीमा सन् २००५ मा न्यु साउथ वेल्स राज्य सरकार निकाय इन्ट्रिगल इनर्जीमा छिरे । त्यतिवेला श्रीको जिम्मेवारी भनेकै बजार रणनीति बनाउने, बजार सेगमेन्ट गर्ने, डेमोग्राफिक विश्लेषण गर्ने र रणनीतिलाई कार्यन्वयन गर्ने थियो । दैनिक घर र अफिसको आवतजावतमा निकै समय खर्चिएकोले सन् २०१० मा श्रीले सेन्टजर्ज बैकमा क्याम्पेन म्यानेजरको रुपमा एक वर्ष काम गरे । त्यतिवेला उनले होम लोन, क्रेडिट कार्ड, पर्सनल लोन, इन्सुरेन्स लगायतका क्षेत्रमा क्याम्पेन गरेर धेरै अनुभव संगाले । सन् २०११ बाट फेडरल सरकारको निकाय अस्ट्रेलियन हेयरिङमा काम गरे । त्यहाँ उनले झण्डै तीन वर्ष बिताएपछि हाल अन्र्तराष्ट्रिय कम्पनी नेस्लेकोे नेस्प्रेसोमा सो कम्पनीका ग्राहकहरुको जीवनचक्र सम्बन्धित क्याम्पेन व्यवस्थापन, रणनीति निर्माण र कार्यन्वयन गर्ने अभिभारा समाल्दै आएका छन् । इन्भेष्टमेन्ट प्रोपर्टी क्षेत्रमा बिगत १४ वर्षको लामो अनुभव संगालेका श्रीले हालैदेखि नीजि व्यपार व्यवसाय पनि संचालनमा ल्याएका छन् । मनास्लु प्रालि नामबाट संचालित उक्त कम्पनीले रेन्टल ग्यारेन्टी भएका घर बिक्रि गर्ने गर्दछ । श्री भन्छन्– “मैले जीवनमा पढेर काम गरेर जुन ज्ञान आर्जन गरे, त्यही ज्ञान र अनुभवलाई आफ्ना ग्राहकहरु माझ बाढ्न पनि व्यवसाय शुरु गरेको हो ।” पारिवारिक जीवन करिब २१ वर्ष अघि श्रीले प्रतिज्ञा पाण्डेसँग वैवाहिक सम्बन्ध गाँसेका थिए । हाल उनको परिवारमा दुई छोराहरु श्रवण र प्रतिक छन् । श्रवण र प्रतिक दुवै नर्थसिड्नी व्याईज हाइस्कुलमा कक्षा १० र ८ मा अध्ययरत छन् । श्री वाल्यकालमा अध्ययनको अलवा फुलबल खेल्दथे । उनले आठ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरे । २०३५ सालदेखि उनी नेपालको “ए ” डिभिजनमा खेल्न थाले । २०३९ सालमा श्रीले “आर सि टी” टीमबाट खेल्ने मौका पाए । दुई छोराहरु श्रवण र प्रतिक पढाईमा मात्र होइन् , आफ्नो बुवा जस्तै फुटबल खेलप्रति निकै लगाव छ । जेठो छोरा श्रवण फुटबल फेडरेसन अफ अस्ट्रेलियाबाट मान्यताप्राप्त प्रशिक्षक हुन् । हाल उनले अण्डर १३ वर्षका टीमलाई प्रशिक्षण दिदै आएका छन् । भने आफु पनि अण्डर १६ मा नर्थ सिड्नी ब्याईजको टीमबाट खेल्छन् । यता कान्छो छोरा प्रतिक न्यासनल प्रिमियर लिगमा नोर्दन टाइगर्स टीमबाट अण्डर १४ मा स्ट्राइकरको रुपमा खेल्दै आएका छन् । उनी गोल गर्नमा माहिर छन् । गत साल पनि प्रतिक सिड्नी यूनिभर्सिटीबाट प्रिमियर लिगमा अण्डर १३ वर्षको समुहमा खेलेका थिए । छोराहरुको फुटबल खेलमा लगाब र प्रगतिमा देखेर श्री र प्रतिक्षा निकै प्रशन्न छन् । समाजसेवामा नापित समयले भ्याएसम्म श्री अस्ट्रेलियामा हुने नेपाली समुदायका कार्यक्रममा जान छुटाउँदैनन् । समाजसेवा उनको परिवारमै जोडिएको छ । युवा अवस्थामा स्थानिय श्रीधः क्लबको सचिव पदबाट शुरु भएको समाजसेवा यात्रा अस्ट्रेलियाको सबैभन्दा पुरानो नेपाली संस्था नेप्लीज अस्ट्रेलियन एसोसियसनको कार्यकारिणी सदस्यबाट पुनः शुरु भयो । श्रीले एनएएको उपाध्यक्ष तथा अध्यक्ष रहेर नेपाली समुदायलाई ठुलो योगदान दिएका छन् । त्यस्तै उनी एनआरएनए अस्ट्रेलियाको संस्थापक सदस्य पनि हुन् । एसफिल्डको संस्था स्थापनाको लागि भएको पहिलो भेलामा श्री पनि सामेल थिए । नेपाली समुदाय भित्र पर्ने दुखःसुखमा श्रीको सहयोग साच्चिकै गौरव गर्न लायक छ । उनले सन् २००१ मा जस्टीस अफ पिस अर्थात जेपीको सदस्यता लिए । नेपालीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्नु पर्यो भने श्री सदैब तयार हुन्थे । एनआरएनए अस्ट्रेलियाको स्थापनाकालमा यसकोे वेवसाइट र मार्केटिङ गर्ने कामको जिम्मेवारी श्रीले लिएका थिए । Shree_OK1 श्रीले २००५ देखि प्रत्येक २ वर्षमा हुने एनआरएनको अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन अहिलेसम्म छुटाएका छैनन् । हाल उनी एनआरएनए (आई सि सि) को सल्लाहकार हुन् । गैर आवासिय अन्र्तराष्ट्रिय समन्वय परिषद्को विभिन्न सम्मेलनमा श्रीले आफ्नो कार्यपत्र पेस गरेका छन् । संसारको प्रत्येक कुनामा छरिएर रहेका दक्ष नेपालीहरुको संजाल बढाउनका लागि सीप र ज्ञान नेपालमा लगानी गर्नका लागि एउटा स्कील डाटावेसको आवश्यकता महसुुस गरि यसको स्थापना समेत गरे । सन् २०१२ को गैर आवसिय अन्र्तराष्ट्रिय समन्वय परिषद्को क्षेत्रिय सम्मेलनमा सहसंयोजक भएर श्रीले कार्यक्रमलाई सफल बनाउन योगदान दिए । उनी भन्छन्– “हामी प्रवासमा रहेर नेपाली समुदायको सानो घेरामा मात्र सीमित हुने होइन । स्थानिय समुदाय राजनीति पनि घुलमिल हुनु आवश्यक छ ।” उनी स्थानीय समुदायमा घुलमिल हुनकै लागि सन् २००० लिबरल पार्टी अफ अस्ट्रेलियाको सदस्यता लिए । त्यही लक्ष्यलाई पुरा गर्न सन् २०१४ मा “लिबरल फ्रेण्डस अफ नेपाल” खोलेर संस्थापक चेयर म्यान भएर स्थानीय राजनीतिमा नेपाल र नेपालीलाई चिनाउँदै विस्तारै अगाडि बढ्दैछन्, श्री । सन् २०१३ देखि हालसम्म श्री क्यान्सर काउन्सिल न्यू साउथ वेल्सको प्रबक्ता बनेर नेपाली समुदायमा क्यान्सर सम्बन्धि जनचेतना जगाउने अभियानमा लागी परेका छन् । एनआरसीको सल्लाहकार समेत रहेका श्री नर्थ सिड्नी ब्याइज हाइस्कूलको “प्यारेन्स एण्ड सिटिजन एसोसियसन” (पि एण्ड सी) को कार्यकारिणी सचिव रहेर स्थानिय समुदायमा अग्रसर छन् । श्रीले सन् २००६ देखि नै स्थानिय फुटबल क्लबहरुमा प्रशिक्षक म्यानेजर भएर स्थानिय समुदायलाई सहयोग गर्दै आएका छन् । श्री भन्छन्– “जीवन एक विचित्रको यात्रा हो, जीवनमा कुनवेला उतारचढाब आउँछ, थाहै हुदैन । जीवनको यात्रामा सकारात्मक सोचाई राख्दै चुनौतिहरुलाई आत्मविश्वासका साथ अगाडि बढाउदै जानु नै सफल जीवन हो । कुनै पनि लक्ष्य पुरा गर्नका लागि धैर्यता, लगनशिलता र संयमता चाहिन्छ ।” कसैको कुभलो नचाहने भन्ने मुल मन्त्र श्रीले सदैव मनमा राख्छन् । आफुले भोगेको अनुभव र सहयोग साटासाट गर्न श्री औंधी खुसी हुन्छन् । उनी भन्छन्–“ कसैले कुनै राय सल्लाह माग्छ भने विवेकले भ्याएसम्म सहि सल्लाह दिनु पनि एक धर्म हो ।” श्री दोस्रो पुस्ताको लागि आवश्यक पुर्वाधारहरु तयार पार्नु कतव्र्य ठान्छन् । उनी भन्छन्– “अहिलेको पुस्तालाई दुईवटा कल्चरसँग हिड्नुपर्ने बाध्यता छ । नेपालको धर्म, संस्कृतिलाई जबरजस्ती नगरी बुझाएर नयाँ पुस्तालाई अगाडि लैजानुपर्दछ । नेपाली संस्कार, धर्म र ज्ञानका वारेका प्रत्येक घरघरबाट शुरुवात गर्नुपर्दछ ।” चाहे स्वास्थ्यक्षेत्र होस् वा इन्जिनियर, आइटी, एकाउन्टेन्ट, शिक्षण या व्यवसाय हरेक क्षेत्रमा नेपालीहरुको उपस्थिति र प्रगति सन्तोषजनक छ । तर यहाँका अस्ट्रेलियनलाई हामी को हौं ? भन्ने कुरा बुझाउँन सकिरहेका छैनौ । यहि कुरा बुझाउनको लागि स्थानिय क्रियाकलापमा संलग्न हुनुपर्ने श्री नापितको तर्क छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्