नेभिगेशन
अन्य

ध्रुबको पहिलो र अन्तिम रोजाइ

मध्यम कद, हँसिलो अनुहार अनि तार्किक कुरा गर्न रुचाउने ध्रुब दाहालको जन्म खोटाङ जिल्लाको दुर्गम ठाउँ बाक्सीलामा भए पनि उनको बाल्यकाल भने राजधानी काठमाडौंमा नै बित्यो । बुबा सरकारी जागिरे भएका कारण उनी ३ वर्षको हुँदा राजधानी आउने अवसर जु¥यो । शिक्षित परिवारमा जन्मेहुर्केका दाहालले सानै उमेरदेखि सिद्धार्थ बनस्थलीमा पढ्ने अवसर पाए । पढाइमा उनी अब्बल दर्जामा नै गनिन्थे । पढाइका अलावा अतिरिक्त क्रियाकलापतिर पनि औधी रुचि राख्दथे । वि.सं. २०४२ सालमा प्रथम श्रेणीमा प्रवेशिका पास गरेका दाहालको परिवारले उनलाई विज्ञान विषय पढ्न सुझाए । घरपरिवारमा छोरो साइन्स पढेर डाक्टर, इन्जिनियर बनोस् भन्ने आकांक्षा थियो । तर दाहालको सोचाइ भने सानैदेखि भिन्न थियो । उनी जहिले पनि अन्याय, अत्याचार वा थिचोमिचोमा परेका व्यक्तिहरुको पक्षमा केही बोलिहाल्थे । उनको हठी तथा तार्किक स्वाभावका कारण कानुन विषय पढ्ने उनको रहर थियो । नभन्दै उनी कानुन विषय अध्ययनका लागि नेपाल ल क्याम्पसमा भर्ना भए । दाहाल तर्कसंगत कुरा गर्न रुचाउँछन् । आफ्नो पक्षको बारेमा वकालत गर्न जति कडा रुपमा प्रस्तुत देखिन्छन्, त्यति उनको मन कोमल पनि छ । प्रवेशिकामा राम्रो अंक ल्याउनेलाई दिइने आफ्नो कोटाको छात्रवृत्ति उनले आर्थिक समस्याबाट गुजे्रका आफ्ना साथीहरुलाई दिने गर्दथे । मध्यम परिवारका दाहालले क्याम्पसको शुल्क आफै तिर्थे । उनले नेपाल ल क्यापसबाट २०५१ सालमा बिएल पनि सके । अनि हिमालयन ल एसोसिएट्समा झण्डैं चार वर्ष काम गरे । अध्ययनसँगै कामको अनुभवले दाहाल खारिदै गए । आयश्रोतका हिसाबले प्रोजेक्टमा जागिर खाने रहर उनमा पलायो । कानुनी सेवालाई केही समय बिट मार्दै उनी जापानी संस्थामा जागिर खान पुगे । बर्दिवास– धुलिखेल, सिन्धुली– बर्दिवास सडक निर्माण प्रोजेक्टमा उनी संयोजक भएर करिब चार वर्ष जति काम काम गरे । जीवनमा नयाँ–नयाँ अनुभवहरु सँगाल्न मन पराउने दाहालले पछि सो जागिर पनि छोडे । अनि आफ्नै व्यवसाय शुरु गर्ने तरखरमा लागे । प्रिन्टिङ प्रेस, सहकारी तथा पेट्रोलपम्पतिर लगानी गरे । केही वर्ष मालिकसमेत बने । विसं २०५५ सालमा सिन्धुली मुल थलो भए पनि विराटनगरमा बसोवास गरेकी रचनासँग उनको मागीविवाह भयो । आफन्तहरुबीच विवाहको कुराकानी चलेपछि केटाकेटीको भेटघाट गराइयो । पहिलो भेटघाटमा सामान्य कुराकानी र हेराहेर भयो । आफन्तबाट एक अर्काको पृष्ठभूमि थाहा पाइसकेका ध्रुब र रचनालाई भेटघाट एउटा औपचारिकता मात्र थियो । दाहाल भन्छन्– रचना मेरो पहिलो र अन्तिम रोजाइ हुन् । अन्यत्र कतै कुनै केटी हेर्न जानु नै परेन । पहिलो भेटमा नै नजर बस्यो भने झैँ भयो ध्रुबलाई । शिक्षित परिवारमा जन्मेहुर्केकी रचनाका बुवा नेपाली विषयका प्रोफेसर थिए । त्यतिवेला रचना मानविकीतर्फ स्नातकोत्तर तहमा अध्ययन गर्दै एक विद्यालयमा अध्यापन समेत गर्थिन् । विवाहको कुराकानीमा रचनाको एउटै माग थियो, विवाह भएपछि पनि अध्ययनलाई निरन्तरता दिन पाउनुपर्ने । शिक्षित दाहाल परिवारमा रचनाको अध्ययनप्रतिको तीब्र इच्छाले अझ बढी उत्साही बनायो । दुबैको मन मिलेपछि अन्नत नेपाली परम्परा अनुसार यी जोडीले लगनगाँठो कसे । नेपालमा पनि ध्रुबको जीवन व्यस्त नै थियो । सधैं अवसरको खोजीमा रहने ध्ु्रबले विदेश जाने निर्णय गरे । आफ्नी जीवनसंगिनीको सर–सल्लाह पछि अन्नतः यो जोडीले अस्ट्रेलिया आउने निधो गरे । सन् २००८ मा जीवनसंगिनी रचनाको एकाउन्टिङ विषयमा मास्टर्स अध्ययनका लागि दाहाल परिवार अस्ट्रेलियाको सिड्नी आइपुगे । केही समय आफ्नो कानुनी क्षेत्रबाट विश्राम लिए पनि दाहाल अस्ट्रेलिया आएपछि कानुनी क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भने सोचाइ मनमा आइरहन्थ्यो । त्यसैले उनले ‘ग्राजुएट सर्टिफिकेट इन माइग्रेसन ल’ कोर्ष पनि पुरा गरे । नेपालदेखि नै चिनजानमा रहेका शम्शेर थापासँग सिड्नीमा एकदिन जम्काभेट भयो । सञ्चो विसञ्चोको छोटो भलाकुसारीपछि थापाले आफ्नै ल फर्ममा काम गर्न सुझाए । कानुनी क्षेत्रमा नै सेवा गर्ने इच्छा पुरा भएपछि उनी निकै खुसी पनि भए । सन् २०१२ बाट ध्रुब शम्शेर थापा एण्ड एसोसिएट्समा कार्यरत छन् । नेपाल लगायत अस्ट्रेलियाबाट कानुनी क्षेत्रको ज्ञान र अनुभव सँगालेका ध्रुब आपूmले पाएको कामको जिम्मेवारीलाई मिहिन रुपमा अध्ययन गर्न रुचाउँछन् । उनी भन्छन्– ‘छिटो कामभन्दा पनि सबै प्रक्रिया पुगेको छ कि छैन, कस्ता–कस्ता कागजातहरु आवश्यक छ भनेर पहिल्यै नै मिहिन रुपमा केलाएर प्रक्रियामा गइयो भने काम सफल हुन्छ ।’ जीवन भनेकै सिक्ने र सिकाउने कला हो । ज्ञान आर्जनका लागि अध्ययन, मिहिनेत र संकल्प चाहिन्छ । कोही पनि मानिस सबै विषयमा पोख्त हुँदैन । अध्ययन र अनुभवले नै मानिसलाई आफ्नो पेशामा बढी व्यवसायिक बनाउँदै जान्छ । त्यसैले होला ध्रुब अध्ययनलाई जीवनको एउटा पाटो नै सम्झन्छन् । माइग्रेसन कोर्षसमेत पुरा गरेका ध्रुब आफ्ना ग्राहकहरुको सन्तुष्टि नै आफ्नो सन्तुष्टि हुने बताउँछन् । उनी भन्छन्– जीवन भनेको एउटा संघर्ष हो । कहिले खुसी त कहिले दुखः, कहिले घाम त कहिले छायाँ । जीवनमा आइपरेका संघर्षसँग मुकाविला गर्दै लक्ष्यमा पुग्नु नै सफलता हो । आफ्नो सफलतामा जीवनसंगिनी रचनाको सहयोग र सहकार्यको उनी खुलेर प्रशंसा गर्छन् । सफल जीवन जिउन एकअर्कामा विश्वास, माया, सहकार्य आवश्यक रहने अनुभव दाहाल दम्पत्तिको छ । जीवनसंगिनी रचना घरपरिवारको रेखदेख गर्दै एजुेकेटरको रुपमा कार्यरत छिन् । दाहाल परिवारमा एक छोरा हिमांशु तथा एक छोरी अवन्ती छिन् । फुर्सतको समयमा आफ्नो परिवार तथा साथीभाइहरुसँग रमाउने चाहने ध्रुब जीवनलाई रमाइलो क्षणको रुपमा ग्रहण गर्न सक्नुपर्ने बताउँछन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्