नेभिगेशन
अन्य

ओवनमा अविभावक कार्यक्रम सम्पन्न

पश्चिम सिड्नीस्थित ओवन क्षेत्रमा बस्दै आएका अविभावकहरुले जलपान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । १९ डिसेम्वर २०१४ शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म संचालित सो कार्यक्रम ओवन कम्यूनिटी सेन्टर, ओवनको प्राङ्गणमा भएको थियो । ओवनमा बस्ने छोरा बुहारी तथा छोरी ज्वाई र नातिनातिना भेट गर्न नेपालदेखि आएका ६० जनाभन्दा बढी अविभावकहरुको समुहले एल बि गिरीको संयोजकत्वमा एक समिति गठन गरी कार्यक्रमको आयोजना गरेको हो । जलपान तथा बार्बिक्यूबाट शुभारम्भ गरिएको सो भेटघाटको औपचारिक कार्यक्रम आयोजक समितिका संयोजक एल.बि गिरीको संयोजकत्वमा साँझ ७ बजेबाट सुरु गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई कमला गिरीले स्वागत मन्तव्य राख्दै छोराछोरीप्रति भावपूर्ण माया र प्रेमको विचार व्यक्त गरेकी थिइन् । अष्ट्रेलियामा आएर देखेका भोगेका अनुभव क्रमशः आयोजक समितिका सचिव केदारप्रसाद चापागाई, कोषाध्यक्ष उमाकान्त भन्तना, सदस्य नरबहादुर थापाले राखेका थिए । सो अवसरमा कार्यक्रम संयोजक गिरीले प्रवासमा आएपछि कुन जिल्ला र गाउँको भन्ने भन्दा पनि नेपाली हौं भन्ने कुराको बढी महत्व हुंदोरहेछ भन्दै उपस्थित छोरा छोरीहरुलाई कार्यक्रम सफल पार्न सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गरे । उनले अविभावकका तर्फबाट क्रिसमस र नयाँ वर्ष २०१५ को शुभकामना समेत व्यक्त गरे । औपचारिक कार्यक्रम पश्चात उपस्थित अविभावकहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । सिड्नीका लोकप्रिय गायक राजकुमार गोश्वामीको मिठो गीत प्रस्तुतीले कार्यक्रमलाई निकै आनन्दित तुल्याएको थियो भने बार्बिक्यू कार्यक्रम सम्पन्न गर्न जितेन्द्र पुरी, सन्तोष न्यौपाने, सुमन बोहोरा, सन्तोष दाहाल, पुरु पन्त, विधान, बलराम कार्की, लगायतका युवाहरुको सक्रियता रहेको थियो । कार्यक्रमका लागि अभिभावकहरुले डलर २० संकलन गरेका थिए भने स्थानिय यूवाहरुले सहयोग समेत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्