नेभिगेशन
व्यक्ति/व्यक्तित्व

सिड्नी ट्रेनका नेपाली इन्जिनियर

मध्यम कद, हसिँलो अनुहार । नेपाली समुदायका कार्यक्रममा उनी विरलै भेटिए पनि समयले भ्याएसम्म कार्यक्रममा सहभागी हुन रुचाउँछन् । पेशाले उनी सिभिल इन्जिनियर हुन् । करिब आठ वर्ष अघिदेखि रेल कर्पोरेसनमा (सन् २०१३ बाट सिड्नी ट्रेन नामाकरण) आफ्नो सीप, ज्ञान र अुनभवलाई निखार्दै आएका भुपेन्द्र केसी हाल प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत छन् । सिड्नीमा रहेका विभिन्न रेल स्टेसनहरुको भौतिक पूर्वाधार तथा संरचनाहरुको निर्माण तथा पुननिर्माणमा केसीले सक्दो देन दिएका छन् । स्याङ्जा जिल्लाको मनकामना गाविस आरुखर्क गाउँमा मध्यम परिवारमा जन्मेहुर्केका केसी परिवारमा जेठो छोरा थिए । उनको हजुरबुवादेखि बुवालगायत बुवाका दाजुभाई सबै आर्मीका जागिरे थिए । बिट्रिस आर्मीका जागिरे हजुरबुवा दोस्रो विश्वयुद्धताका इटालीको मोन्टे क्यासिनोमा होमिएर भाग्यले बचेर नेपाल फर्केका थिए । शिक्षित परिवारमा जन्मेहुर्केका कारण केसीलाई पढ्ने घरायसी वातावरण निकै अनुकुल थियो । उनले गाउँकै नवज्योति माविबाट प्रारम्भिकदेखि माध्यमिकसम्मको अध्ययन पुरा गरे । पढाइमा उनको स्तर मध्यम नै थियो । सुरुमा त केसीलाई आपूm पनि आर्मी बन्ने ठूलो रहर थियो । हजुरबुवाको बिट्रिस आर्मीको कहानी उनी खुब चाख लिएर सुन्दथे । दोस्रो विश्वयुद्धताका हजुरबुवा घाइते भई करिब पाँच वर्ष घरपरिवारसँग सम्पर्कविहिन भएर पछि घर फर्केको कुराले उनको कलिलो मानसपटलमा आर्मीदेखि अलि वेग्लै सोच राख्न थाले । अनि उनी कक्षा ५÷६ तिर हुँदा एकै घरका आर्मी दाजुभाई मरेका खबर गाइने दाईले सारङगी रेट्दै सुनाएपछि भने उनको आर्मी बन्ने सोचाई पूर्ण रुपमा परिवर्तन भयो । गाउँमा एसएलसी पास भएपछि आर्मी बन्ने लहड उनको गाउँमा खुबै थियो । तर केसी भने विसं २०४८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि भारतको चण्डिगढ पुगे । उनले त्यहाँ विज्ञान विषय छाने । विज्ञान लिएपछि सकियो भनेपछि डाक्टर बनौला, सकिएन भने इन्जिनियर त कसो नबनौला र ? भन्ने सोचाइ थियो । विद्यार्थीदेखि नै उनी पढाइका अलवा अतिरिक्त क्रियाकलापमा समेत निकै रुचि राख्दथे । विद्यार्थी राजनीतिले समेत उनलाई गाँजिसकेको थियो । स्थानिय नेताहरुसँगको भेटघाट र उठबसबाट उनी राजनीतितिर विस्तारै नजाँनिदो गरी होमिंदै गए । यता घरपरिवारमा छोराको पढाई बिग्रने चिन्ता बढ्दै गयो । अनि नेपालमा हुने शैक्षिक हड्ताल, बन्दजस्ता क्रियाकलापले गर्दा पनि केसीलाई उनको परिवारले उच्च शिक्षाको लागि भारतको चण्डिगढमा अध्ययन गर्न पठाए । सन् १९९५ मा उनी चण्डीगढबाट प्लस टु सके सकेर नेपाल आए । त्यतिवेला पारिवारिक बसाइ स्याङ्जा सदरमुकाम प्रगतिनगरमा थियो । सन् १९९८ तिर पारिवारिक बसाइ स्याङ्जाबाट पोखरा स¥यो । अब उनी एमबिबिएसमा नाम निकाल्न अध्ययन गर्न थाले । त्यसैबेला उनले यता इन्जिनियरिङतिर पनि फर्म भरे । एमबिबिएसमा नाम ननिस्किए पनि केसीले नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा नाम निकाले । डाक्टर बन्ने सपनालाई छोडेर उनी अब इन्जिनियरिङ क्षेत्रतिर लागे । सन् १९९९ मा केसीले सिभिल इन्जिनियरङ सकिने वित्तिकै कालीगण्डकी हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा काम पाए । भर्खरै अध्ययन पुरा गरेका केसीले युवा जोस जाँगर निकाले सो प्रोजेक्टमा करिब एक वर्ष काम गरे । त्यसपछि उनी शिक्षा मन्त्रालय अन्र्तगत सरकारी इन्जिनियरको रुपमा देशका विभिन्न दुर्गम गाउँका विद्यालयहरुको भौतिक संरचना निर्माणमा जुटे । सन् २००१ मा उनी डडेलधुरा गए । त्यहाँ उनले जिल्ला शिक्षा कार्यालय बनाए । त्यसपछि उनी कन्चनपुर, बैतडी, स्याङ्जाका विभिन्न विद्यालयहरुमा भवन निर्माण, शौचालय निर्माण, खानेपानी लगायत बाह्य वातावरण सुधार सम्बन्ध िकाममा आफ्नो सीप र अनुभवलाई खर्चिए । करिब पाँच वर्ष गाउँमा रमाएका केसीले स्थानियको माया र सत्कार निकै पाए । माओवादी द्धन्द्धका वेलामा गाउँमा गएर काम गर्न निकै गाह्रो थियो । सरकारी गाडीमा समेत प्राइभेट नम्बरका प्लेट राखेर गाउँ गाउँ जानुपर्दथ्यो । तर पनि स्थानियले गरेको व्यवहार तथा आत्मीयताले डरत्रास हल्का लागेपनि मनमा भने डर र त्रासले सधै डेरा जमाउँथ्यो । अस्ट्रेलियाको यात्रा आफ्नो युवा जोस र जाँगरलाई केसीले नेपालकै भूमिमा खर्चिन चाहन्थे । तर एकाएका उनी विदेशीने तरखरमा लागे । सन् २००५ तिर केसीले नेपालबाटै अस्ट्रेलियामा स्थायी बसोवासको लागि आवेदन हाले । नेपालमा कामको अनुभवले खारिएका केसीले सन् २००६ मा अस्ट्रेलियाको स्थायी बसोवासको अनुमति पाए । अनि श्रीमतीसहित उनी सिड्नी आइपुगे । सुरुमा निकै उत्साही बनेको केसी कामको लागि एक÷दुई ठाउँमा अन्तवार्ता समेत दिए । ब्रिसवेनतिर पनि आवेदन हाले । तर श्रीमतिको पढ्ने चाहनाले सिड्नी छोड्न सकेनन् । स्थानिय स्तरमा आफ्नै क्षेत्रको काम पाउन केही गाह्रो नै भयो । तर हरेश भने खाएनन् । उनले टेफ कलेजबाट ६ महिनाको ओरसिज क्वालीफाइड प्रोफेसनललाई दिने एउटा कोर्ष पनि गरे जसले गर्दा केसीलाई जागिर पाउन केही सजिलो भयो । सन् २००७ को सुरुवातमा उनी कन्ट्रयाक्ट वेसिसको आधारमा इन्जिनियरिङ इनभेष्टिगेसन पदको रुपमा रेल कर्पोरेशनमा छिरे । झण्डै एक वर्ष काम गरेपछि केसी प्रोमोसन भएर प्रोजेक्ट इन्जिनियरको रुपमा काम गरे । सुरुमा कन्ट्रयाक्ट वेसिसमा छिरेका केसी सन् २००८ अस्ट्रेलियन सरकारी मातहतमा रहेको रेल कर्पोरेसनमा स्थायी रुपमा जागिर खान पुगे । डिजाइन प्रोजेक्ट इन्जिनियरको रुपमा स्थायी जागिरमा छिरेका केसीको कामको लगाव। अनुभव र कार्यक्षमतालाई उचित मूल्याकन गर्दै सन् २०१४ बढुवा भए । हाल उनी सिड्नी ट्रेनमा “प्रोजेक्ट म्यानेजर” को रुपमा कार्यरत छन् । केसी विभिन्न स्टेसनको भौतिक पूर्वाधार निर्माण, पूर्ननिर्माण तथा हाजार्डियस मेटेरियल रिमुभल प्रोग्राममा समेत संलग्न छन् । अध्ययन र नयाँ–नयाँ अनुभव सगाल्न चाहने केसीले भर्खरै मास्र्टस इन इन्जिनियरिङ म्यानेजमेन्ट समेत सकेका छन् । वैवाहिक सम्बन्ध र जीवन सन् २००५ मा स्याङ्जाकै संगीता बस्नेतसँग लगनगाँठो कसेका केसी आफ्नो विवाहलाई मागी विवाह भन्न रुचाउँछन् । उनी भन्छन्– पहिलेदेखि नै दुवै घरपरिवारमा चिनजान थियो । सुरुमा केसीले संगीतालाई विवाहको वारेमा प्रस्ताव राखे । त्यतिवेला उनी मणिपाल कजेलमा नसिङ विषय अध्ययन गर्दै थिइन् । केसीले संगीताको बानी व्यहोरा, लगनशील र अध्ययनलाई औधी मन पराए । केसीले सोचे– स्याङ्जादेखि सिड्नीसम्म फिट हुने युवती मेरो लागि यीनी नै हुन् । किनकी यता केसीले अस्ट्रेलियातिरको प्रोसेस चालिसकेका थिए । आफूहरु मञ्जुर भएपछि मात्र घरपरिवारबाट कुरा अगाडि बढ्यो । अनि पोखराबाट विवाह गरे । हाल केसी परिवारमा श्रीमती सहित दुई छोरीहरु शुभाना लक्ष्मी केसी र वेला मोहिनी केसी छन् । जीवनका हरेक मोडमा साथ दिदै आएकी केसीकी जीवनसंगीनी संगीताले उनलाई इन्जिनियरङ क्षेत्रमा अगाडि बढ्नमा हौसला दिदै आएकी छिन् । नसिङमा व्याचलर्स गरेकी संगीता ओबन अस्पतालमा रजिष्टार्ड नर्सको रुपमा कार्यरत छिन् । केसी अगाडि भन्छन्– सबैको जीवनमा उतारचढाव आई नै हाल्छ । तर दुखमा आत्तिने र सुखमा मात्तिने कहिल्यै गर्नु हुदैन् । जे छ, त्यसैमा सुखी रहेर जीवन जीउनसक्नु नै सार्थक जीवन हो । वितेको कुरालाई सम्झेर निराश हुनुभन्दा सधै सकारात्मक सोचाई राखेर आफूले गर्न सक्ने कुरामा अगाडि बढेमा जीवनमा एक न एक दिन सफलता मिल्ने केसी बताउँछन् । नेपाल इन्जिनियर एसोसियसन अस्ट्रेलिया च्याप्टरको संयोजक समेत रहेका केसीले अस्ट्रेलियामा छरिएर रहेका नेपाली इन्जिनियरहरुलाई एकत्रित गरी एक आपसमा ज्ञान, अनुभव साटासाट गर्ने तथा नेपालमा पनि नलेज ट्रान्सफर गर्ने लक्ष्य लिएका छन् । सन् २००८ मा खुलेको सो संस्थाले नयाँ आगन्तुक नेपाली इन्जिनियरहरुलाई काम खोजीदिने सहयोग गर्दै आएको छ । त्यस्तै ४५ जना नेपाली इन्जिनियरहरु सम्मीलित भएर फ्यूजन टेक ग्रुप सन् २०१० मा खोलिएको संस्थामा पनि सम्मिलित छन् । केसी एनआरए अस्ट्रेलियामा व्यवसायिक कोटाबाट मनोनित सदस्य पनि हुन् । केसीले नेपालमा सडक दुर्घटना घटाउन के गर्न सकिन्छ भनेर “रोड सेफ्टी” सम्बन्धि कार्यपत्र एनआरएन सम्मेलनमा प्रस्तुत गरेका थिए । उनी भन्छन्– हामी प्रवासमा जहाँ रहेपनि यहाँ आर्जेका ज्ञान , सीप र अनुभवलाई नेपालमा ट्रान्सफर गर्न सक्छौं । त्यस्तै नेपालमा वालमृत्युदर र मातृमृत्युदर घटाउन पनि केसीको कार्यपत्र मार्फत फ्लाईङ डाक्टरको सुरुवात गर्न सुझाव दिएका छन् । अब हामी यसमा सबै पक्ष लागि पर्नुपर्ने केसी बताउँछन् । उनी संलग्न संस्था नेपाल इन्जिनियरिङ एसोसियन अस्ट्रेलिया च्याप्टरले एक लाखको अक्षय कोष खडा गरी स्याङ्जाको एक विद्यालयमा एलएलसी परिक्षामा जेहेन्दार विद्यार्थी, आफ्नो विषयमा शत प्रतिशत उत्र्तिण गराउने शिक्षक, शिक्षिका, तथा विद्यालययको भौतिक पूर्वाधार विकासको लागि सहयोग गर्दै आएको छ । ठूला कुराभन्दा साना कुरा गरी कार्यन्वयनतर्फ लागिपर्ने केसीले आफुले विकसित मुलुकमा आर्जन गरेका सीप, ज्ञान र अनुभवलाई नेपालमा साटासाट गर्न चाहान्छन् । नेपाल जस्तो विकासशिल मुलुकमा रेल सेवा विस्तारका कुरा आइरहेको प्रसंग कोट्याउदै उनी भन्छन्– धनले नसके पनि मनले सेवा गर्ने रहर छ । आफुले जानेका कुराहरु आदनप्रदान गर्ने धोको छ । प्रवास जहाँ रहे पनि नेपाली संस्कृतिलाई बिर्सन नहुने केसी बताउँछन् । त्यसैले आफ्नी चार वर्षकी छोरीलाई उनले हरेक आइतवार डो¥याउँदै शब्दमालामा नेपाली भाषा सिकाउन लैजान्छन् । फुर्सतमा गार्डेनिङ तथा स्वीमिङ गर्न रुचाउने केसी जीवनमा सफल हुन आफुले गर्न सक्छु भन्ने सोच बनाउनु तथा आफुभन्दा अग्रज र अनुभवीको सुझाव सल्लाह पनि मनन गर्नुपर्ने बताउँछन् । आफू यस स्थानमा आउन आमाबुवा, परिवार, आफन्तजन, साथीभाईको सहयोगले अमुल्य भूमिका रहेका केसीले खुलसा गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्