नेभिगेशन
अन्य

नामले हैन कामले चिनिने टीम नेपाल

कामै नगरे पनि नामैले खानेहरुको कमी छैन हाम्रो समाजमा । तर उनीहरु अरुभन्दा भिन्न र अलग धारमा आपूलाई समाहित गर्न चाहन्छन् । फरक यति मात्र हो अरु काम नगर्दै नाम खोज्छन् तर उनीहरुको एकै स्वर छ, पहिलो काम अनि मात्र नाम । ठ्याक्कै भन्नुपर्दा प्रवासको ब्यस्त जीवनबीच फुर्सद निकालेर मातृभूमिप्रति केही गरांै भन्ने युवाहरुको एउटा जमात हो, टीम नेपाल । खेलकुदको मोहले प्रवासमा पनि खेलाडी बनेका एक हुल तन्नेरीहरुको जमात यतिखेर मुलुकको खेल विकाश र महिला, वालकालिकाको क्षेत्रमा सहयोग पु¥याउन आतुर देखिएको छ । उनीहरुले कसैले पत्तो नपाइकन सिन्धुलीको डकाहामा तीन जना गरिब बालबालिकालाई छात्रवृत्ति र एक हुल विद्यार्थीलाई फुटबल र जर्सी तथा खेल सामाग्री वितरण गरिसकेका छन् । कामको सुरुवातसँंगै उनीहरुले आफ्नो संस्थाको स्थापना पनि भएको घोषणा गरे । विना तामझाम आयोजित कार्यक्रममा टीम नेपालका सदस्यहरुले संस्थाको उदेस्यलाई अघि बढाउने अठोट गर्दै संस्थाको बिधिवत उद्घाटन गरे । सिड्नीमा रहेर फुटबल क्षेत्रमा लागि परेका विजय कार्की र जगदिश खड्का यस प्रवासी संस्थाको संस्थापक रहेका छन् । तर उनीहरुले संस्थामा ठुलो र सानोको विभेद नगर्ने र सबैको समान पदमा रहने सोचका साथ संस्थामा आवद्ध सबै समर्को दृश्यका रुपमा रहने घोषणा समेत गरेका छन् । एसफिल्ड पार्कमा संस्थाका सदस्यबीच औपचारिकता निभाउन गरिएको कार्यक्रममा संस्थापक जगदिशले भने– एउटा सानो कार्यको थालनी गर्ने जमर्को गरेका हौ, केही गरौ भन्ने सोच थियो विजय भाइको खेलप्रेम र अन्य साथीहरुको सहयोगमा यसले मूर्त रुप लिएको छ । विदेशिएको मनलाई सान्त्वना दिने काम भएको छ । मध्यपुर युथ क्लबका रहेर फुटबलमा अनुभव बटुलेका खड्का भन्छन्, खेलुकुद मुलुक चिनाउने पहिलो पहिचान बनिसकेको परिप्रेक्ष्यमा हामीले प्रवासमा रहेर पनि मुलुकका कुना कन्दरामा छरिएका फुटबलका प्रतिभालाई उजागर गर्न सकिन्छ कि भन्ने प्रयासका थालनी गरेका हौ । विजय नेपालको ए डिभिजन क्लब सरस्वतीका पूर्व खेलाडी पनि हुन् । यतिखेर टिम नेपालमा धेरै सदस्य बनिसकेका छैनन् तर पनि अस्ट्रेलियाको भिन्न्न शहरहरुमा साथीभाइलाई यसमा समेट्ने प्रयास गरिएको टिम नेपालका विजय कार्की बताउँछन् । कार्कीले सिन्धुलीको डकाहामा पहिलो प्रयासस्वरुप पचास हजार बराबरको खेल सामाग्री र दुई स्थानीय विपन्न वर्गका दुई जेहेन्दार छात्रहरु आदित्य धामी र पारस कनुवर माझीलाई छात्रवृत्ति प्रदान गरिएको बताए । यतिखेर सिड्नीमा टिम नेपालको सदस्यहरुमा राजिव धिताल, सुनिल रोक्का, विजय तामाङ, पवन लामा, प्रज्वल कार्की, प्रवेश श्रेष्ठ, सुदिप तामाङ, दिपक भुजेल, कुनाल लामा र विक्की भण्डारी रहेका छन् । यस्तै मेलवर्नमा ज्ञान श्रेष्ठ, पंकज लामिछाने, संगित श्रेष्ठ, मनिष हाडा तथा ब्रिसवेनमा रामचन्द्र पौडल पर्थमा दिपेन्द्र परियार भुवन खड्का, एडिलेडमा राजेश घिमिरे टिम नेपालका सक्रिय सदस्य हुन् । केही गरांै भन्ने सोंच निकै अघिदेखि थियो त्यसमाथि पनि खेल क्षेत्रमा । साथीभाइको सहयोग र साथले पहिलो कार्य गर्न सफल भएका छौ, अब नेपालका कुनाकाप्चामा टिम नेपाललाई पु्रयाउने लक्ष्य राखेका छौ विजयले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्