मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नमा आगामी मार्च १५ तारिख शनिवारका दिन फेडरेसन स्वायरमा नेपाल फेष्टिभल आयोजना हुँदैछ । सबै तयारी पुुरा भएको छ । आयोजना मिति नजिकिँदै जाँदा मेलबर्नको नेपाली समूदाय कार्यक्रमलाई लिएर उत्साही बनेको छ । उत्साह दोश्रो पुस्ताका नेपालीहरुमाझ अझ बढी छ । दोश्रो पुस्ता अर्थात् नेपाली आमाबाबुका अष्ट्रेलियामै जन्मिएका छोराछोरीहरु आफ्नो जीवनको अधिकांश समय यहीँ शिक्षादिक्षा लगायतमा सहभागी भएका युवाहरु ।
नेपाल फेष्टिभल मेलबर्नको सांस्कृतिक परेड बाहेक चार घण्टा विभिन्न उमेर समूहका अष्ट्रेलियन नेपाली युवाहरुले आफ्नो प्रस्तुति दिने भएका छन् । कार्यक्रमको सञ्चालन, स्वयंसेवा लगायतलाई जोड्ने हो भने नेपाल फेष्टिभलमा उनीहरुको भूमिका महत्वपूर्ण रहनेछ । यी प्रस्तुतिमा नेपालको हिमाल, पहाड र तराईका विभिन्न जात जाति, भाषा, संस्कृति र परम्पराको प्रदर्शनबाट नेपाली समाज आफैंमा पनि बहुसांस्कृतिक समाज हो भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको छ ।
मेलवर्नको नेपाल फेष्टिभलमा एनआरएनए भिक्टोरियाका युवा संयोजक सिद श्रेष्ठले १ सय ३० भन्दा बढी बालबालिकाले आफ्नो प्रस्तुती दिने बताए । उनका अनुसार गायन, नृत्य, प्रहसन मात्र नभएर कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि दोश्रो युवापुस्ताले पाएको छ । विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका भाषा विद्यालयमा अध्ययनरत बालबालिकाहरुले कार्यक्रममा प्रस्तुति दिन लागेका हुन् । उनी भन्छन् “हाम्रो टिम पाठशालामा गएर नेपाल फेष्टिभल के हो, यहाँ जाँदा के हुन्छ । यसको महत्व कस्तो हो भनेर हामीले बुझाएका छौं ।“
एनआरएन भिक्टोरिया नारी निकुञ्जकी संयोजक राशीसिंह ठकुरीले १८ भन्दा बढी प्रस्तुतिमा दोश्रो पुस्ताको सहभागिता रहने बताईन् । उनले स्वयंसेवकको रुपमा पनि युवापुस्ताले योगदान दिने जानकारी दिइन् ।
युवा संयोजक श्रेष्ठका अनुसार खुल्ला रुपमा मागिएको ईओआईमा १९ जनाभन्दा बढी दोश्रो पुस्ताका युवाहरुले नेपाल फेष्टिभलमा स्वयंसेवा गर्न तयार रहेको भन्दै आवेदन दिएका थिए । उनले भने, “हामी उनीहरुलाई समावेश गर्ने चरणमा छौं । नेपाल फेष्टिभलमा दोश्रो पुस्ताका नेपालीहरुको सहभागिताले युवापुस्तामा आफ्नो भाषा, संस्कृति र परम्पराको ज्ञान मात्र बढाउने नभई समूदायका लागि केही योगदान गरें भन्ने गौरवबोध पनि गराउनेछ । भावी दिनहरुमा पनि नेपाली समुुदायप्रति दायित्वबोध हुनेछ ।
नारी निकुञ्ज भिक्टोरिया सयोजक ठकुरीले भिक्टोरियामा नेपाली समूदायको ईतिहासमै दोश्रो पुस्तालाई अहिले जस्तो सहज विगतमा नरहेको बताउँछिन् । १२ वर्षको उमेरमा अष्ट्रेलिया टेकेकी उनी भन्छिन् “हिजो हामीहरुले आफ्नो परिवार या केही साथीभाई र नातेदार बाहेक अरु नेपाली भेट्दैनथ्यौं । आज हाम्रो बालबालिकाहरु हरेक साता भाषा विद्यालय जान्छन् । नेपाली संस्कृति परम्पराबारे पढ्छन् । घरमा नेपाली बोल्छन् अनि नेपालीमै आफ्नो भावना व्यक्त गर्न सक्छन् । आफुले स्कुलमा नेपाली साथीभाई नभएकोले युनिभर्सिटी पुगेपछि मात्रै नेपाली बोल्ने अवसर पाएको अनूभव सुुनाउछिन् ।
नयाँ पुस्ताका अष्ट्रेलियन नेपालीहरुको आत्मविश्वासलाई निरन्तरता दिन सके नेपाल फेष्टिभलले ठूलो भूमिका खेल्ने युवा संयोजक श्रेष्ठ र नारी निकुञ्ज भिक्टोरिया सयोजक ठकुरीको ठम्याई छ ।