सिड्नी । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा यहि मार्च ९ तारिख आईतवार एडिलेडमा नेपाल महोत्सव २०२५ भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको र हरेक दुईदुई बर्षमा गरिदै आएको नेपाल महोत्सव अष्ट्रेलियाको एनएसडब्लु (सिड्नी ),र वेस्टर्न अष्ट्रेलिया (पर्थ )मा यसअघि सम्पन्न भैसकेको छ । बाकि राज्यहरुमा गरिने नेपाल महोत्सवको तयारीमा समन्धित राज्य समिति जुटिसकेको छ ।

एडिलेडको एल्डर पार्कमा आईतवार सम्पन्न महोत्सवलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपालका राजदुत चित्रलेखा यादवले अष्ट्रेलियामा नेपाली समुदायको वृद्धिसंगै नेपाली कला ,संस्कृती, भाषा ,भेषभुषा, रिति रिवाजको जगेर्ना र प्रबर्धन गर्न यस्ता महोत्सवले बिशेस योगदान पुर्याउने बताईन ।

साउथ अष्ट्रेलियाकी बहुसांस्कृति र पर्यटनमन्त्री जोय बेटिसनले नेपालीको यस्ता कार्यक्रमले अष्ट्रेलियामा नेपालीको उपस्थितिलाई अझ बलियो बनाएको बताउदै यस्ता सामुदायिक कार्यक्रमलाई आगामी दिनमा पनि राज्यले सक्दो साथ र सहयोग पुर्याउने प्रतिबद्दता व्यक्त गरिन ।

कार्यक्रममा साउथ अष्ट्रेलियाको विपक्षी लिवरल पार्टीका नेता भिन्सेन्ट टार्जिया, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, मुख्य प्रायोजक बुमर्याङ इन्टरनेशनलका निर्देशक आशिष वाग्ले लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक संजय पुरीले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न साथ र सहयोग पुर्याउने सबै प्रति धन्यबाद दिए । उनले यहाँको नेपाली समुदाय र साउथ अष्ट्रेलिया राज्य सरकारको साथ अनि सहयोगबाट नै कार्यक्रम सम्पन्न गर्न सकिएको उल्लेख गरे । उनले भने नेपाल र नेपालीको पहिचानलाई बिदेशी भूमिमा स्थापित गराउन यस्ता कार्यक्रमलाई अझ ब्यापक र प्रभावकारी बनाउदै जानुपर्छ ।
एडिलेडको एल्डर पार्कमा आईतवार दिनभर भएको महोत्सवमा करिव १५ हजार जनाले सहभागिता जनाएको अनुमान गरिएको छ । ३६ डिग्री तापक्रमको प्रचण्ड गर्मीको बाबजुद पनि त्यतिको संख्यामा मानिसहरुको सहभागिता हुनु नेपाली समुदायको लागि खुशीको बिषय हो ।

महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न एनआरएनए साउथ अष्ट्रेलियाको टिम बिगत ३ महिनादेखि दिन रात नभनी सक्रिय रुपमा लागेको थियो । समाजका कुनै पनि क्षेत्र र वर्ग नछुटोस भनेर १२ ओटा सब कमिटि गठनदेखी स्वयं सेवकहरुले पुर्याएको सहयोग अतुलनिय रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा नेपाल हाउस रहेको थियो । करिव १० हजार स्क्वायर मिटरमा फैलिएको ईभेण्ट स्पटमा नेपालको चर्चित साँगेतिक ब्याण्ड कन्दरा ब्याण्डले आफ्नो बिशेस साँगेतिक कोशेली प्रस्तुत गरेको थियो ।

त्यसैगरी कलाकारहरु शिब परियार र समिक्षा अधिकारीले पनि कार्यक्रममा आ आफ्नो गीत संगीत प्रस्तुत गरेर सहभागीहरुलाई भरपुर मनोरंजन दिलाएका थिए । महोत्सवमा सहभागीहरुले नेपाली मौलिक खानाका परिकारको स्वाद लिदै नेपाली गित संगीतमा रमाएका थिए ।

प्रमुख अतिथि राजदुत यादव र विशेष अतिथि मन्त्री वेटिसनले पानसमा बत्ती बालेर संयुक्त रुपमा फेस्टिवलको उद्घाटन गरेका थिए ।