नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियाका पाँच राज्यमा नेपाल फेष्टिभल 

मार्च ९ तारिख एडिलेडबाट सुरु हुने नेपाल फेष्टिभल अप्रिल ६ तारिख ब्रिसबेनमा पुगेर टुंगिने


सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न राज्य समितिहरुको आयोजनामा अष्ट्रेलियाका विभिन्न पाँच शहरमा नेपाल फेष्टिभल हुने भएको छ  । मार्च महिनाको ९ तारिख एडिलेडबाट सुरु हुने नेपाल फेष्टिभल अप्रिल ६ तारिख ब्रिसबेनमा पुगेर टुंगिनेछ । नेपाली कला, संस्कृति, भाषा, खाना र संगीतलाई विशेष प्रस्तुुतिका साथ प्रस्तुत गरिने नेपाल फेष्टिभलका सबै आयोजना अघि नेपाल फेष्टिभल परेड गरिनेछ । नेपाल फेष्टिभल यी शहरका मुख्य केन्द्रहरुमा नै आयोजना हुनेछन् ।
एडिलेडको एल्डर पार्कमा विहान साढे १० बजेदेखि राति साढे १० बजेसम्म १२ घण्टा नेपालमय बनाउने योजना छ । यस्तै मेलबर्नको मुटु फेडरेसन स्क्वायर, यानबेराको स्टेज ८८ कमनवेल्थ पार्क, होबार्टको पार्लियामेन्ट हाउस लन, सालामाङ्का र ब्रिसबेनको मुटु किङ जर्ज स्क्वायरमा नेपाल फेष्टिभल दिन नेपाली झण्डा फहराउदैं यी शहरहरु नेपालमय हुनेछन् । 
एनआरएन अष्ट्रेलियाका राज्य समितिहरुको आयोजनामा भएपनि स्थानीय नेपाली सामूदायमा आधारित संघसंस्थाहरुले नेपाल फेष्टिभलमा सहकार्य गर्दैछन् । यसैगरी दूतावास, अष्ट्रेलियाका राज्य सरकारहरुले पनि नेपाल फेष्टिभलमा हातेमालो गर्ने भएका छन् । 
कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ आठ जनाको टोली लिएर नेपाल फेष्टिभलहरुमा सहभागी हुनेछन्  ।  सन्  २०१६ मा पाँचवटा नेपाल फेष्टिभलमा आफ्नो संगीतमार्फत धमाका मच्चाएको कन्दराले ९ वर्षपछि फेरि अष्ट्रेलियाको नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिने भएको छ । उनलाई ड्रममा सुनील थापा, गिटारमा देव लामा, बेस गिटारमा दयाबाबु झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापाले साथ दिनेछन् । व्याण्डको क्यामेरा र ग्राफीक्स नवीन थापाले हेर्नेछन् भने निरब श्रेष्ठ साउन्ड ईन्जिनियरको रुपमा सहभागी हुँदैछन् । गायक श्रेष्ठ भन्छन् –नेपाल फेष्टिभलको आफ्नै गरिमा छ, दर्शक उपस्थितिको हिसाबले यो एउटा मेगा इभेन्ट पनि हो  । फेरि हाम्रो गीत संगीत बच्चादेखि बुढासम्म सबै जेनरेसनलाई मनपर्ने भएकोले नेपाल फेष्टिभल अवश्य सफल हुन्छ भन्ने अभिलाषा हामीले लिएका छौं ।  
अष्ट्रेलियाको नेपाल फेष्टिभल सकाएपछि कन्दराले आफ्नो वल्र्ड टुरलाई निरन्तरता दिँदै अमेरिका र क्यानडा जाने तयारी गरेको छ । 
यसपटक कन्दराले फरक प्रस्त’तीले दर्शकहरुको मन जित्ने योजनाका साथ स्टेजमा आउने भएका छन् । विवेक अगाडि थप्छन् – हामीले हाम्रो प्रस्तुतिलाई स्टेजमा हेर्नेसँगै झुम्ने, नाच्ने र सँगसँगै गाउने गीत बनाएका छौं । नेपाली माटो सुहाउदो भीरपाखामा गुञ्जिएको मेलोडीलाई विश्वमञ्चमा दमदार रुपमा उभ्याउनेछौं ।Bibek-Shrestha-Kandara-1741238707.jpg

 
एनआरएनए अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र सबै ठाउँमा कन्दरा व्याण्डले आफ्नो भव्य प्रस्तुति दिने भएपनि स्थानिय तथा अन्य कलाकारको हकमा राज्य समितिहरुले नै निर्णय लिने बताउँछन् । कलाकारहरुको व्यवस्थापन लगायत आर्थिक मितव्ययीताका कारण एकपछि अर्को शहरमा लगातार नेपाल फेष्टिभलहरु गरिएको मिंश्रको  भनाई छ । नेपालमा चर्चित विभिन्न व्याण्डहरुसँग लामो छलफलपछि कन्दरासँग नेपाल फेष्टिभलका पाँचै शहरमा प्रस्तुति दिने कुराको निक्र्यौल गरिएको थियो । 
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल नेपाल फेष्टिभलले नेपाल र नेपाली पर्यटन, नेपालको खाना, गीत संगीत र संस्कृतिको मात्र प्रबद्र्धन गर्ने नभई अष्ट्रेलियालाई पनि आर्थिक गतिशीलता  दिने बताउछन् । 
अध्यक्ष पोखरेलले भने – आर्थिक रुपमा कुरा गर्दा डार्विनको मलाई याद आउँछ, त्यतिबेला स्टेजमा मैले त्यहाँ पुगेका एनआरएनए अष्ट्रेलियाका डाईरेक्टरहरुलाई बोलाएँ । उनीहरु कहाँबाट आएका हुन भन्ने पनि बताएँ । त्यहाँको चिफ मिनिष्टर यो देखेर आश्चर्यचकित भए । हामी त्यहाँ बोर्ड मेम्बर मात्र थिएनौं कैयौंको संख्यामा अरु पनि पुगेका थियौं । यसले आन्तरिक पर्यटनमा लाखौं डलरलाई चलायमान बनाएको छ ।
नेपाल फेष्टिभल भइरहँदा त्यहाँ आउने हजारौं दर्शकले वरिपरिको व्यापार व्यवसायमा दिने योगदानको पाटो झन विशेष भएको उनको भनाई छ ।
अध्यक्ष पोखरेल अगाडि थप्छन्– अष्ट्रेलिया आफैंमा मल्टिकल्चरल कन्ट्री हो,  यहाँको सुन्दर बगैंचामा नेपाली समूदाय पनि एउटा आकर्षक पूल हो । तर, हामीले जति योगदान दिएका छौं त्यसको यथेष्ट सम्बोधन  हुन सकेको छैन । विभिन्न शहरहरुमा हुुने यस्ता बृहत नेपाल फेष्टिभलहरुले यहाँको राजनीतिक तह कर्मचारी र प्रशासनिक मात्र होइन व्यवसायिक संघसंस्थालाई पनि नेपाली समूदायको उपस्थिति बोध गराउँछ । यसले पक्कै पनि भोलिका दिनमा उनीहरुले हामीलाई हेर्ने नजर फेरिँदै जाने पोखरेलको विश्वास छ । 
अध्यक्ष पोखरेलले हालै सिड्नीमा सम्पन्न भएको नेपाल फेष्टिभलको प्रसंग सम्झँदै थप्छन्– सिड्नीको नेपाल फेष्टिभलमा नेपाली विजनेस ग्रेसले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा ग्रेसको मुख्य मान्छेलाई  भेट्ने मन्त्रीको चाहनाले हामीलाई थप उत्साही र गौरव बनायो । 
अष्ट्रेलियाका विभिन्न राज्य सरकारहरुबाट नेपाल फेष्टिभलका लागि अनुदान आएको र यी राज्यमा सरकारी तहबाट आउने आर्थिक अनुदान ट्रेजररीले रेकर्डमा राख्ने पोखरेलको भनाई छ ।Babin-Mishra-and-Anil-Pokharel-1741238495.jpg

कार्यक्रम सकेर रिपोर्ट बुझाएपछि सरकारी निकायले अर्को बजेटमा नेपाली समूदायलाई त्यति बराबरको रकम छुट्याउँछ । केही हजारको अनुदानबाट अहिले हामी एक लाखभन्दा माथिको रेन्जमा पुगेका छौं । यसले आर्थिक सहयोगसँगै नेपाली समूदायको मूल््यांकन पनि बढाउँदै लैजाने पोखरेलको भनाई छ । आउनुस् हामी सबै मिलेर नेपाल फेष्टिभल सफल पारौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्