आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देश र देश बाहिर विविध कार्यक्रमका साथ मनाईदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
![](https://www.nepalnewsaustralia.com.au/uploads/editor/2025-01-11/035730361462577740_608936884970409_7339227114103210664_n.jpg)
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । उनका दिव्योपदेश आज पर्यान्त उत्तिकै सान्दर्भिक र महत्वपुर्ण छन् । विदेशी व्यापारीलाई पर्सादेखि माथि आउन नदिनू, किनभने उनीहरूले आफ्ना प्रजाहरूलाई कंगाल पार्छन् , विदेशी कपडा नलगाउनू, नाचगान गराउन गाउन परे यहीँका नेवारहरूबाट गराउनू , खेत हुने ठाउँमा घर नबनाउनू, खानी फेला परे खेत मासेर भए पनि त्यसको उपयोग गर्नू , यहाँका जडीबुटीको व्यापार र प्रयोगलाई प्रोत्साहन गर्नूजस्ता कुरा उनले दिव्योपदेशमा भनेका छन् । यस्ता कुराबाट पृथ्वीनारायण शाहको राजनीतिक दृष्टिकोण बुझ्न सकिन्छ । पृथ्वी नारायण शाहले 'भूगोलको एकीकरण' मात्र गरेका हैनन् , सरकारी राजनीतिक महासय हो । वि.स.१८२६ बाट निजामती प्रशासन, कुटनीति र अर्थनीति प्रारम्भ भएको हो । नेपालको विदेश नीतिका अधिष्ठाता उनैलाई मानिन्छ । इतिहास केलाउँदा पृथ्वीनारायण शाह धेरै पढेका जस्ता देखिँदैनन्, तर उनले राज्य विस्तार वा एकीकरणको काम कुशलतापूर्वक गरेको देखिन्छ ।
![](https://www.nepalnewsaustralia.com.au/uploads/editor/2025-01-11/035802846472216974_1110838357020442_5829446075290378920_n.jpg)
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
![](https://www.nepalnewsaustralia.com.au/uploads/editor/2025-01-11/035824584462561147_915366120364416_3129556351504958332_n.jpg)
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । पृ्थ्वी विचार र पृथ्वी पथलाई अवलम्बन गरौं ।