सम्पादकीय
एक बर्ष अगाडी घरको भित्तामा झुण्ड्याइएको क्यालेण्डरको स्थानमा नयाँ क्यालेण्डरले आज आफ्नो उपस्थिति जनाएको छ । बितेको बर्ष जस्तो रुपले बितेपनि आगामी बर्ष पारिवारिक तथा सामाजिक खुशी ,शुखि र प्रगतिउन्मुख बनोस् भन्ने कामना सहित संसारभरका मानिसहरुले नयाँ बर्ष २०२५ लाई आफ्नो घर आगन र हृदयमा हर्सोल्लासपुर्वक स्वागत गरे । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भएको हो । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरूआत भएको मान्यता रहि आएको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
यसैबीच ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १२ औँ टोपी दिवस आज (जनवरी १ तारिख बुधबार ) नेपाल लगायत संसारका बिभिन्न देशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो । "नेपाली टोपी" मार्फत देशको स्वाभिमान र प्रतिष्ठालाई विश्वसामु प्रस्तुत गर्ने यो सत्प्रयासलाई सवै पक्षले सक्दो साथ र सहयोग पुर्याउनु पर्दछ ।
यसै उपलक्ष्यमा अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यको एडिलेडमा आज नेपालीहरुको सक्रियतामा टोपी दिवस मनाईदै छ । प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजना हुने आजको कार्यक्रम स्थानिय जोन मिलर रिजर्भबाट पदयात्रा शुरु गरेर एडिलेडको मुख्य बिच ग्लेनेल पुगेर समापन हुनेछ । कार्यक्रममा अष्ट्रेलियाको भ्रमणमा रहेका गायक तथा संगितकार सत्यराज आचार्य र स्वरुपराज आचार्य पनि सहभागी हुनेछन् ।
प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाले नयाँ बर्ष २०२५ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा पदयात्रा तथा सम्मान कार्यक्रम गर्न लागेको हो ।
"राष्ट्रिय स्वाभिमान र प्रतिष्ठा" संग गाँसिएको यो अभियान मनाउने दिन "जनवरी १" नै किन राखियो भन्ने बिषय प्रष्ट नभए पनि "राष्ट्रिय स्वाभिमान र प्रतिष्ठा" को श्रीबृद्धि मा यसले बिशिस्ठ योगदान पुर्याउदै आएको छ भन्ने कुरामा कसैको दुईमत रहन सक्दैन ।