नेभिगेशन
सोसल मिडिया

 रामनारायण मिश्रको ४७ औं स्मृति दिवस

 


उहाँसंग भेटने सौभाग्य मलाई प्राप्त भएन। तर, उहाँको व्यक्तित्वको महत्व मैले यौटा आधारबाट बुझेको थिए। त्यो आधार थियो, बि.स. २०१७ सालमा राजा महेन्द्रले सैनिक कू गरेर संसदीय व्यवस्थालाई समाप्त पारेपछि तत्कालिन प्र.म. बीपी कोईराला लगायत हजारौंका संख्यामा नेपाली काँग्रेसका नेता कार्यर्ताहरू जेलमा कोचिए। बीपी कोईराला सुन्दरीजलको सैनिक आर्सनलमा राखिनु भएको थियो। तेहाँ बीपीसंग गणेशमान सिंह, योगेन्द्रमान शेरचन, देवान सिंह राई, रामनारायण मिश्र लगायत ६/७ जना मात्र राखिनु भएको थियो। यो बन्दीगृह सर्वाधिक नियन्त्रित र अभेद्य थियो। बीपीका सर्वाधिक बिश्वास पात्रहरू मात्र राखिएको थियो, यसमा बीपी मंत्रिमंडलका रामनारायण मिश्र पर्नुले नै मिश्र जीको महत्वलाई जनाउँछ। यो मैले रामनारायण मिश्रलाई चिन्ने एक मुख्य आधार थियो । 
बि.स. २०३७ सालमा नेपाल बिद्यार्थी संघको महाधिवेशन जनकपुरको गोपाल धर्मशालामा भएको थियो। यस ऐतिहासिक महाधिवेशनको उदघाटन गर्न बीपी कोईराला जनकपुर आउनु भएको थियो। बीपी कहाँ बस्नु उपयुक्त हुनेछ भनी खोजिनीति भयो। जनकपुरमा मण्डलेहरूको बडो जगजगी थियो। हेमबहादुर मल्लको आतंक पनि थियो। महेन्द्र नारायण निधीको घर, लीला कोईराला(मैया दिदी) को ब्रम्हपुरीको घर आदि बिकल्पहरू थिए। तर, बीपी आफैले रामनारायण मिश्र जीको दुईतले काठको घरलाई रोज्नु भयो, तेही उहाँलाई बसाउने व्यवस्था भयो। रामनारायण मिश्र जीको अघि नै देहावसान भै सकेको थियो। यसका बावजूद पनि बीपीले मिश्र जीको निवासमा नै बस्नु भयो । 
यी पंक्तिहरू लेख्दा यौटा संझना पनि हुन आएको छ। बि.स. २०४८ सालमा शेरबहादुर देउवा गिरिजा प्र. कोईरालाको मंत्रिमंडलमा गृहमंत्री हुनु भयो। देउवाको बिराटनगरको पहिलो भ्रमण तय भयो। नोना कोईरालाले बडो प्रेम तथा पारिवारिक परम्पराको आधारमा देउवा जीको बसाईको व्यवस्था कोईराला निवासमा मिलाउनु भएको थियो। तर, गृहमंत्री देउवाले बिराटनगर रानी स्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयको गेष्ट हाउसलाई रोज्नु भयो। नोना कोईरालाको आत्मीय आग्रहका बावजूद पनि डिआईजीको गेष्ट हाउसमा नै बस्नु भयो। बास्तवमा देउवा जीमा शुरू देखि नै “हुने बिरूवाको चिल्लो पात” बाला चरित्र रहि आएको हो। तर, बीपी फरक सोचको हुनुहुन्थ्यो, उहाँले रामनारायण मिश्रको घरमा बस्ने इच्छा राखेर रामनारायण मिश्रको धरहरा भन्दा धेरै अग्लो व्यक्तित्वको महत्व हामीलाई बुझाउनु भयो। मैले त यसरी नै बुझे र मिश्र जीलाई चिन्ने प्रयत्न गरें। 
यही बेला कसैले मलाई भनेका थिए-“रामनारायण मिश्र दावाग्नि लुकाएको हिमालय हो।” मैले तत्काल यस भनाईको भावार्थ बुझिन्। बुझ्न ढिलो भयो। पछि बुझ्दै गए कि रामनारायण मिश्र एक अपराजेय, सम्झौताहीन क्रांतिकारी हुनुहुन्थ्यो। उहाँको धमनीहरूमा हुने रक्त संचारमा आगो बहन्थ्यो। तर, बाहिरबाट मिश्र जीलाई देख्दा अत्यन्त शालिन, शौम्य र हिमालयको चमक सहितको शितलता देखिन्थ्यो। 
रामनारायण मिश्रका प्रति बीपी कोईरालाको बिश्वासको तह बलियो थियो। मिश्र जी बीपीको मंत्रिमंडलमा पाचौं वरीयताको मंत्री हुनुहुन्थ्यो। दोस्रोमा सूवर्ण शम्सेर तथा चौथों र पाचौंमा शायद गणेशमान सिंह तथा सूर्य प्रसाद उपाध्याय हुनुहुन्थ्यो। प्रम बीपी कोईराला चीन भ्रमणमा जानु हुने दिन सूवर्ण जी भारतमा रहनु भएको थियो। गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय चीनको भ्रमण दल मैं सम्मिलित हुनुहुन्थ्यो। प्रम बीपी कोईरालाले आफ्नो अनुपस्थितिमा पाचौं वरीयताका मंत्री रामनारायण मिश्र जीलाई कार्यवाहक प्रम तोक्नु भयो। यस्तो बिश्वासिलो हुनुहुन्थ्यो। 
सन् १९५० मा भारतको चाहना अनुसार बहुचर्चित तथा अद्यावधि बिवादमा रहेको “शांति तथा मैत्री संधि” भएको थियो। यसपछि नेपालको भारतसंग “व्यापार र बाणिज्य संधि” तथा मातृका प्रसाद कोईराला प्रम भएको बेला दुबै देशका अपराधीहरूको आपसी “प्रत्यावर्तन संधि” भएको थियो। बिभिन्न अन्य अनदेखा कारणहरू, शायद भारतको अनिच्छाका कारणले नेपाल-भारतका बीच “व्यापार तथा पारवहन संधि” हुन सकेको थिएन। बीपी कोईरालाको समयमा उद्योग तथा बाणिज्य मंत्री रहनु भएका रामनारायण मिश्र जीकै सकृयतामा यो संधि हुनसक्यो र इतिहास मै पहिलो पटक नेपालले भारत भई आउने ढुवानीमा पारवहनको अधिकारलाई सुरक्षित गर्यो। आज कतिपय पूर्वाग्रहीहरूले मधेसीहरूको राष्ट्रियतामा शंका जनाउँछन्-ति मुढाग्रहीहरूका लागि यो हेक्का राख्नु पर्ने बिषय पनि हो । 
यौटा रमाईलो प्रसंग छ। मंत्री रामनारायण मिश्रकोमा गणेशमान जीले काठमांडूका एक पढेलेखेका नेवार युवालाई पठाउनु भयो र कहिकतै जागीरमा लाईदिन अनुरोध गर्नु भयो। रामनारायण जीले त्यस युवाको योग्यताको आभाष पाउनु भयो र गणेशमान जीका प्रति सम्मान स्वरूप तेस नेवार युवालाई आफ्नो ‘पिए’ मा नियुक्ति दिनु भयो। तेस बेलाका त्यो युवा पछि त्रिबिको प्रोफेसर भई राजा बीरेन्द्रको शासनकालमा कयौं पटक अंचलाधिश तथा राजदूत समेत हुनु भयो। यसरी रामनारायण मिश्रले प्रो.सुरेन्द्र बहादुर श्रेष्ठको पहिचान गर्नु भएको थियो। प्रो.सुरेन्द्र बहादुर श्रेष्ठ सौभाग्यबश आज जीवित नै हुनुहुन्छ। तर, आज कुनै मधेसी वा कुनै पर्वते अन्तरजातीय मंत्रीको निजी वा स्वकीय सचिव हुने सोच्न कठिन हुन्छ। (यस जानकारीका लागि पूर्व राजदूत तथा नेपालका बरिष्ठतम् कुटनीतिज्ञ डा. मदन भट्टराईका प्रति सादर आभार व्यक्त गर्दछ। मेरो यो सानो आलेख पढेर, थप जानकारी गराएर माथीका तीन प्याराग्राफ थप्न मद्दत गर्नु भयो) 


आज मधेस र पहाडका नेताहरूमा चरम सत्ता लिप्सा छ।यिनीहरू निमेष भरका लागि पनि सत्ता क्षुधालाई बिराम दिन चाहदैनन्। सत्ता ललकको भोक एक दिनका लागि पनि सहन हुन्न्। जबकी रामनारायण मिश्र सुन्दरीजल बन्दीगृहमा बर्षौंसम्म क्यान्सरको असह्य बेदनालाई झेल्नु भयो। तेस कालखण्डमा सयौं राजबन्दीहरूले सत्य-असत्य बहानामा राजासंग माफि मागे। आफुलाई कुनै अज्ञात गंभीर रोग लागेको आभाष पनि रामनारायण जीले बीपी गणेशमान जीहरूलाई गराउनु भएन। उहाँलाई डर थियो कि यदि उहाँको गंभीर पिडा बारे बीपीहरूले जान्नु भयो भने प्राणरक्षाका लागि राजा समक्ष निवेदन गर्न कर गर्न सक्नु हुन्छ। उहाँले असाध्य रोगलाई लुकाउनु भयो। राजा महेन्द्रलई सुन्दरीजलमा रहेका बन्दीहरूको रोगका बारेमा थाहा थियो भनिन्छ। सोही जेलमा रहेका बीपीलाई क्यान्सर रोग छ, यसर्थ सुबिधा सम्पनन् अस्पतालमा बीपीको उपचार गराईनु पर्दछ भने सिफारिश गर्ने राजाका डाक्टरहरूले रामनारायण मिश्रलाई क्यान्सर लागेको थाहा नपाएको पत्याउन कठिन हुन्छ । जब राज्यलाई लाग्यो कि अब मिश्र केही साता मै संसारबाट बिदा लिन्छन् अनि मात्र मिश्र जीलाई रिहा गिरियो अनि रिहाईको लगत्तै उहाँको देहावसान भयो । 
यस्तो हुनुहुन्थ्यो मैले भेटन नपाएको मिश्र जी। उनि दुनियाँले न सुनेको “दावाग्नि लुकाएको हिमालय” भनिएको रामनारायण मिश्र। आज उहाँलाई संझिने दिन हो। उहाँको संझनालाई सदैव जीवन्त राख्न उहाँका बारेमा धेरै लेख्नु पर्ला, अन्यथा यो अद्भूत, अद्वीतीय व्यक्तित्व, निष्ठाका सगरमाथा, दावाग्नि लुकाएका हिमालय आजका सत्ता लम्पट मधेसी नेताहरू र आजका नेकाका नेताहरूकै रोहमा कसैले मिश्र जीको माटोको शालिक राखि देला जो बर्षामा पाखालिनेछ । 
हार्दिक श्रद्धांजली रामनारायण मिश्र जी 🙏🌸

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सोसल मिडिया
ऋग्वेदमा जमदग्नि

ऋग्वेदमा जमदग्नि

सनकी राजा सुरेन्द्रको जन्मोत्सव

सनकी राजा सुरेन्द्रको जन्मोत्सव