समिद्धो अद्य मनुषो दुरोणे देवो देवान्यजसि जातवेदः ।
आ च वह मित्रमहश्चिकित्वान्त्वं दूतः कविरसि प्रचेताः ।।
ऋषि शब्दको तालमेल अँग्रेजीको ‘रिसर्च’ (अनुसन्धान) सँग मिल्छ भन्नु अतिशयोक्ति नहोला । ऋषिहरू त्यही काम गर्दथे, जुन काम ‘रिसर्चर’ (अनुसन्धाता) हरू गर्दछन् । यमदग्नि (जमदग्नि) महर्षि परम तेजस्वी ऋषिको रुपमा परिचित छन्, जो ‘भृगुवंशी’ ऋचीकका पुत्र, सप्तऋषिमा गणनाका साथै ‘ऋषिकुलका आत्मा’ को रुपमा पनि लिईन्छ । यी महर्षिले गोवंशको रक्षाबारे ऋग्वेदका १६ मन्त्रको रचना गरेको पाइन्छ । स्कन्द पुराणको केदारखण्ड अनुसार यिनी आयुर्वेद तथा चिकित्साशास्त्रका पनि विद्वान थिए ।
पौराणिक ग्रन्थहरूका अनुसार यी ऋषि आफ्नी पत्नी भगवती रेणुका (राजा प्रसेनजितकी पुत्री) को साथमा भारतको हिमाचल प्रदेशको हिमाली क्षेत्रतिर बसोबास गरेका र आफ्नो निवासमा पृथ्वीमै पहिलो लोकतान्त्रिक संस्कृतिको श्रीगणेश गरेको श्रेय दिईएको छ । यिनले अन्य ऋषिहरूसँग मिलेर पनि ऋग्वेदका सूक्त रचना गरेको र ऋषिहरूको साझा–संस्कृतिलाई जन्म दिनुका साथै समन्वयवादी विचारधारा का अनन्य पोषक पनि भएकोले जमदग्निलाई लोकतान्त्रिक संस्कृतिका संवाहक मानिएको हो ।
उनले ‘सप्त–ऋषि’ को यस्तो इकाई बनाए, जसलाई आर्य संस्कृतिको इतिहासमा बहुत पूज्य रुपमा लिइन्छ। वैदिककालमा लोकतान्त्रिक संस्कृतिको स्थापना गरेपछि उनले हिमाली शृंखला पार गरेर रेणुका तालको ठीक माथि एक पहाडमा पति–पत्नी नै शिवभक्तिमा लीन भए भनिन्छ ।
उनको भक्तिबाट भगवान् शिव एकदम प्रसन्न भएर उनीहरूकै छोराको रुपमा भगवान विष्णुले छैठौं अवतारको रुपमा जन्म लिने वचन दिए । यमदग्नि र रेणुकाका पाँचमध्येका कान्छा छोरा (विष्णुकै एक अवतार) को रुपमा परशुरामको जन्म भयो । शिवको तपस्या तथा आराधना गरेर उनले दिव्यास्त्रको रुपमा बञ्चरो पाएको हुनाले संस्कृत शब्दमा बञ्चरो बुझिने ‘परशु’ उनको नाम (राम) सँग जोडिएको हो ।
रेणुका पतिव्रता आज्ञाकारी स्त्री नै थिइन् । उनी आफ्ना पतिउपर पूर्ण निष्ठावान पनि थिईन् । तर एउटा गल्तीले गर्दा पति–पत्नीको सम्बन्ध बिग्रेर छुट्टाभिन्न हुने अवस्था आएपछि यमदग्निले पत्नीलाई मृत्युदण्ड दिए । रेणुका यज्ञको निम्ति पानी लिन नदीमा गएकी हुन्छिन् । नदीमा गन्धर्भ चित्ररथ अप्सराहरूका साथ खेलिरहेको देखेर गन्धर्भका प्रति उनको मन थामिँदैन । यता समयमै यज्ञको लागि जल नल्याएपछि यमदग्नि रीसले आगो भए ।
रेणुकाले यौन आशक्ति राखेको कारण, उसै त रिसाहा स्वभावका लागि उदाहरण बनाएका यमदग्निले परशुरामलाई आमा काट्न आदेश दिएको, पिताभक्त परशुरामले आदेश पालन गरेको, आदेश पूरा भएपछि खुशी भएका यमदग्निले छोरा परशुरामलाई बर माग्न भनेको र परशुरामले काटिएकी आमालाई क्षमा दिई पूर्ववत टाउको जोडिदिएर पुनःजीवन चलाईदिन बर मागेको र यमदग्निले सो पूरा गरेको रोचक कथा छ । परशुरामले अत्याचारी, आतङ्की, पापी तथा अहंकारी राजाहरूलाई ‘सफाया’ गरेर पृथ्वीलाई २१ पटक खाली गराएको पनि वर्णन देखिन्छ ।