नेभिगेशन
LEADING_MAIN

 सिड्नी स्थित डार्लिङ हार्बरमा नेपाल फेस्टिभल भब्य र सभ्यरुपमा सम्पन्न  

 

सिड्नी । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा स्थापित "नेपाल फेस्टिभल " हिजो सम्पन्न भएको छ । सन् २००६ देखि हरेक २/२ बर्षमा गरिदै आएको नेपाल फेस्टिभल कार्यक्रम अष्ट्रेलियामा मात्र नभएर विश्व नेपाली डायस्पोरामा समेत लोकप्रिय बन्दै गएको छ ।

गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्स राज्य समितिको आयोजनामा यहि नोभेम्वर २३ तारिख शनिवार सिड्नीको डार्लिङ्ग हार्वर स्थित टर्न्वेल पार्कमा  सम्पन्न फेस्टिभलमा करिव पचास हजार जनाले सक्रिय सहभागिता जनाएका थिए । अत्यन्त व्यस्त पर्यटकीय क्षेत्र डार्लिङ्ग हार्बरमा शनिवारको दिन जताततै फहराइएको चन्द्रसूर्य अंकित त्रिकोणाकार झण्डा, नेपाल झल्कने पहिरन, कला र संस्कृति अनि नेपाली सम्पदा, नेपाली खाना र सांस्कृतिक कार्यक्रमले यो क्षेत्रलाई गुञ्जायमानगराएको थियो । महोत्सवमा राखिएका विभिन्न स्टल र नेपाल हाउसको माध्यमबाट नेपाली खाना, नेपाली कलासंस्कृति, जात्रा तथा पर्व झाँकी र नेपालको पर्यटनको बारेमा विदेशीलाई जानकारी दिइएको थियो ।


अष्ट्रेलियाका केन्द्रीय मन्त्री, प्रिमियरलगायत अन्य राजनीतिक दलका नेतासँगै नेपाली उच्च पदस्थ सरकारी अधिकारीले महोत्सवमा सहभागि हुँदा यसले दुई देशबीचको कुटनीतिक सम्बन्धलाई थप सुमधुर बनाउने सेतुको काम गरेको बिस्वास गर्न सकिन्छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा इमान्दार भएको भन्दै डार्लिङ हार्बरमा एकसाथ यतिधेरै सहभागी हुँदा आफू सिड्नी नभएर काठमाडौं या पोखरा कतै भएको बताए । उनले डार्लिङ हार्बरमा एकै  दिनमा यति ठूलो र उत्साहजनक सहभागिता आफुले कहिल्यै नदेखेको समेत बताए । उनले भने - 'यो उपस्थिति  कुनै काठमाडौं या पोखराको होइन, यो त सिड्नीको हो'  'यो संख्या आगामी दिनमा अझै बढ्दै जान्छ, नेपाली समाजसँग मिलेर आफूहरू काम गर्न सधै तयार छौ ।'


कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियाको नेपाली समुदायको अभिभावक सस्थाको रुपमा एनआरएनए अष्ट्रेलिया रहेको बताउदै यहाँको नेपाली समुदायले भोग्दै आएको समस्यालाई समाधान गर्न आफुहरुले सक्दो प्रयास गर्दै आएको बताए ।

न्यु साउथवेल्स राज्यका महावाणिज्यदूत सञ्जीव शर्माले यस्ता कार्यक्रमले प्रवासमा नेपाली कला सस्कृति र पर्यटनको प्रबर्धन गर्न थप योगदान पुर्याउने उल्लेख गरे ।

कार्यक्रममा भिक्टोरिया राज्यका लागि नेपाली महावाणिज्यदूत निराजन गौली,एनआरएनए ओसिनिया क्षेत्रिय संयोजक दिनेश पोखरेल , एनआरएनए ओसिनियाका पुर्व क्षेत्रिय संयोजक दिनेशराज जोशी , अष्ट्रेलियाका विपक्षी दलका नेता, केन्द्रीय मन्त्रीहरू लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा फेस्टिभल आयोजक समितिका संयोजक एवं एनआरएनए उपाध्यक्ष विनोद कुँवरले  फेस्टिभललाई भब्य एबम सभ्य रुपमा सम्पन्न गर्न यहाँको नेपाली समुदायले गरेको योगदान र दिएको साथलाई सस्थाले कहिल्यै भुल्न नसक्ने बताए ।


कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले नेपाली कला संस्कृति झल्कने बिबिध प्रस्तुति र नेपाली परिकारका खानपिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको थियो ।       
महोत्सव सुरू हुनु अघि सिड्नीको टाउनहलबाट शहरका विभिन्न भाग हुँदै नेपाली झाँकी र बाजागाजासहित सांस्कृतिक परेड गरिएको थियो। परेडमा अष्ट्रेलियामा बसोबास गरिरहेका विभिन्न जातजातिले आफ्नै मौलिक पहिरनमा सजिएर सहभागी भएका थिए। यस्तै मौलिक नेपाली पोशाकमा सजिएका बालबालिकादेखि हजुरबासम्मले हातमा त्रिकोणाकार नेपाली राष्ट्रिय झन्डा बोकेर परम्परागत गीत संगीत र पञ्चेबाजामा झुमेका थिए ।
औपचारिक कार्यक्रम पश्चात नेपालबाट आएको सांगीतिक समूह 'द एक्स' का साथै हेमन्त शर्मा, आस्था राउतलगायतका कलाकारको विशेष सांगीतिक प्रस्तुतिले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिएको थियो ।


वर्षभरि सिड्नी शहरमा हुने कयैन कार्यक्रम भन्दा केही फरक अनि मुलुकपरक यो महोत्सवले कम्तीमा एक दिन भए पनि सबै नेपालीलाई एकैथलो र एउटै पहिचानभित्र बाँध्ने गरेको छ। वर्षभरि भिन्न झुन्ड र समूहमा विभाजित भई आ-आफ्नो लय पकड्ने हाम्रो परम्परालाई नेपाल महोत्सवले एउटै छातामुनी बाँध्ने काम गरेको छ।
यो कार्यक्रम एउटा संस्थाको मात्र भएर अष्ट्रेलियाका हरेक नेपालीको साझा कार्यक्रम हो । यसले कर्मभूमिमा छरिएका हामी सम्पूर्ण नेपालीलाई अपनत्व र जन्मभूमिप्रतिको दायित्वलाई थप उजागर गरेको छ ।
पहिलोपटक सन् २००६ मा आयोजित कार्यक्रमनै भव्य एवं सभ्य रूपमा सम्पन्न भएपछि उत्साहित अस्ट्रेलियाको नेपाली समुदायले हरेक २ वर्षमा यस महोत्सवलाई पर्वको रुपमा मनाउने एनआरएनए अष्ट्रेलियाको क्यालेन्डर नै बनिसकेको छ ।  अष्ट्रेलियामा नेपालीको आगमन र उपस्थिति बढ्दै जाँदा महोत्सवलाई पनि हरेक राज्यमा विस्तार गरेको छ ।  
एनआरएनए अष्ट्रेलियाले सिड्नीबाट सुरू गरेको महोत्सव यतिबेला अन्य देशका एनआरएनले पनि सिको गरेका छन् । यो हामी अष्ट्रेलियामा रहेका नेपालीका लागि गौरवको विषय हो । प्रवासमा हामी नेपाली जहाँ रहे पनि नेपालप्रतिको माया र सद्भावमा कहिल्यै कमी आउँदैन। देशबाट जति टाढा गयो उति नै आफूनो मातृभूमिको माया झनझन गाँढा हुँदै जान्छ। त्यहीँ मातृभूमिको मायालाई सम्झदै विश्वभर नेपाल चिनाउन यस्ता कार्यकमहरु निकै प्रभावकारी बन्दै आएका छन् । 
महोत्सव मार्फत् नेपालको पर्यटन विकासमा टेवा पुग्यो कि पुगेन त्यो आफ्नो ठाउँमा रहला तर यही जन्मेहुर्केका हाम्रो दोस्रो पुस्ताका बाबुनानीका लागि यी र यस्ता महोत्सवले नेपालसँग नजिक्याउने काम अवश्य नै गरेको छ । महोत्सवमा प्रदर्शन गरिने झाँकी तथा संस्कृति र परम्परा झल्कने पोशाकले सांस्कृतिक रूपले हामी वास्तवमै धनी छौं है भन्ने कुराको बोध हाम्रा बाबु नानीले गरेकै हुनुपर्छ । अष्ट्रेलियामा नेपालको कला, संस्कृति, रीतिरिवाज एवम् परम्पराको प्रचारप्रसार गरी विदेशीहरूलाई नेपाल घुम्न जाउजाउ पार्ने उद्देश्यले दुई दशकदेखि हुँदै आएको नेपाल महोत्सवको निरन्तरता लाई नै अष्ट्रेलियाको नेपाली समुदायको सबैभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ ।
महोत्सवका केही तस्बिरहरू

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्