आज भन्दा १९५ वर्ष अगाडि बि.सं. १८८६ कार्तिक ६ गते अर्थात कार्तिक कृष्ण पक्ष अष्टमी तिथि मंगलवारका दिन जन्मेका युवराज सुरेन्द्र जन्मदा नै युवराजधिराज भएका थिए । बुबा राजा राजेन्द्रको समयमा राजकाजमा खिचातानी भएको थियो । यिनका मुमा रानी साम्राज्य राज्य लक्ष्मी सत्तामा निकै हावी हुँदै गएका थिए । राजा राजेन्द्रलाई नाम मात्रको राजाका रुपमा राखेर रानी साम्राज्य राज्य लक्ष्मीले बि.सं. १८९६ देखि १८९९ सम्म राजकाज सम्हालेर बसेका थिए । पाण्डेहरुसंग मिलेर रानी साम्राज्य राज्य लक्ष्मीले मुख्तियार भिमसेन थापा माथि बिभिन्न आरोप लगाएर उनको पतन नै गराएर छोडेका थिए । बाल्यकाल देखि नै पागलपना रहे जस्तो देखिने युवराज सुरेन्द्रको बाबु राजा राजेन्द्रले १३ वर्षको उमेरमा नै नानी महाराजको पदवी दिएका थिए । यसरी केही समय भारदारहरुलाई तीन सरकार प्रमुखको दवाव हुन थाल्यो - एक राजा, दोश्रो महारानी र तेश्रो नानी महाराज । राजा राजेन्द्रलाई नै पदच्युत गराएर छोरा सुरेन्द्रलाई राजा बनाउन चाहेका महारानी साम्राज्य राज्य लक्ष्मी षडयन्त्रमा बिफल भएपछि काशी जान हिडेका थिए । तर भारतले अनुमति दिएन, जसले गर्दा केही दिन अलौमा केहि दिन बसेर फर्कदा हेटौडामा नै निधन भएको थियो ।
जेठी महारानी साम्राज्य राज्य लक्ष्मीको निधन भए पछि कान्छी रानी राज्यलक्ष्मी देवी राजनीतिमा अगाडि आइन् । जेठी महारानी साम्राज्य र कान्छी रानी राज्यलक्ष्मी दुबै गोरखपुरबाट विवाह गरेर ल्याएकी एकैघरका दिदीबहिनी हुन । तर पनि कान्छी रानी आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने षडयन्त्रमा लागिन । यहि समय माथवरसिंह थापा सत्तामा पुग्न सफल भए ।
माथवरसिंह थापा सत्तामा पुगेपछि राजा राजेन्द्रबाट युवराज तथा नानी महाराज सुरेन्द्रलाई बि.सं. १९०१ मंसिर २७ गते बिशेष अधिकार दिए । यसै बिच कान्छी रानीको षडयन्त्रमा साथ नदिँदा माथवरसिंह थापाको समेत भाञ्जा जङ्गबहादुरको हातबाट हत्या गराइयो । सत्ताको नजिकै पुगेका जङ्गबहादुरले कान्छी रानीका प्रिय गगनजङ्गको हत्यारा पत्ता लगाउने भन्दै बि.सं. १९०३ भदौ ३१ गते नेपालको इतिहासमा सबैभन्दा चर्चित कोटपर्व हुन पुग्यो । जसले गर्दा जङ्गबहादुर र १०४ वर्षे राणाशासनको समेत बिजारोपण भयो ।
राजा राजेन्द्र तथा रानी राज्य लक्ष्मी राज्याधिकारबाट बञ्चित भए पछि काशी जाने तैयारी गरे । अन्तत बि.सं. १९०३ को मंसिर ११ गते मंगलवार राजा राजेन्द्र, रानी राज्य लक्ष्मी, तथा छोराहरु राजकुमार रणेन्द्र र विरेन्द्र काशीका लागि हिडे ।
राजा राजेन्द्र कान्छी महारानीका साथ सपरिवार काशी हिडे पछि जङ्गबहादुरले भारदार सभा बोलाइ राजा राजेन्द्रको राज्यच्युत गरिएको घोषणा गर्दै युवराज सुरेन्द्रलाई राजा घोषणा गराइदिए । १९०४ बैशाख ३१ गते धुमधामले राज्याभिषेक पनि गराइयो । यसरी जन्मको समय नै युवराज घोषणा भएका सुरेन्द्र १८ वर्षको उमेरमा बुबा राजा जीवित नै हुँदा राजा बने । राज्याभिषेक भएको ३ महिना पछि १९०४ को साउनमा राजा राजेन्द्रले आफ्नो शासन अधिकार फिर्ता पाउन जङ्गबहादुरको हत्याको योजना सहित प्रवेश गरेको समुहलाई अलौमा पुग्दा जङ्गबहादुरले हत्या गरि राजा राजेन्द्रलाई कैदमा राखे । यस पर्वलाई अलौ पर्वका रुपमा इतिहासमा उल्लेख गरिने गरिएको छ ।
यसरी हेर्दा सनकी राजा सुरेन्द्रको जीवनकालमा कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व लगायतका घटनाहरु घटे भने भीमसेन थापा, माथवरसिंह थापा, गगनसिंह, अभिमानसिंह, खड्ग बिक्रम शाह, चौतरिया फत्तेजङ्ग शाह लगायत सयौंको हत्या पनि भयो । यसरी पाण्डे, थापा, बस्न्यात लगायत चौतरियाहरुको अस्तित्व नै मासिने गरि हत्या भयो ।
जङ्गबहादुरको शासनकाल पछि श्री ३ बनेका रणोद्वीपको समय सम्म यिनकै राज रह्यो । बाबु पूर्व राजा राजेन्द्र र बुबा राजा सुरेन्द्र जीवित नै हुँदा युवराज त्रैलोक्य वीर बिक्रमको ३० वर्षको उमेरमा असामयिक निधन भयो । त्रैलोक्यको निधनलाई दरवारिया षडयन्त्रका रुपमा हेर्ने गरिन्छ । यसरी अन्तत भक्तपुर दरवारमा नजरबन्दमा रहेका पूर्व राजा राजेन्द्र जीवित हुँदै बि.सं. १९३८ जेठ ६ गते यिनको निधन भएको थियो । जसले गर्दा नाति अर्थात त्रैलोक्यको छोरा सानो बालक युवराज पृथ्वी वीर बिक्रम राजा घोषणा भए । हजुरबुबा तथा पूर्व राजा राजेन्द्र जीवित नै रहेको समय पनाति पृथ्वी वीर बिक्रमले राजा हुने सौभाग्य पाएका थिए ।
यिनको शासनकालमा भएका केही उपलब्धीहरुमा नेपालको पहिलो मुलुकी ऐन घोषणा भयो । भारतमा रहेको अंग्रेज सरकारबाट नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता भयो । गुरुङ र मगरलाई कर्णेल सम्म पदोन्नती हुने अवसर प्राप्त भयो । राजा सुरेन्द्रकै शासनकालमा नेपाल भोट युद्ध भएको थियो । जुन युद्धमा भोटको हार भए पछि सालाना १० हजार रुपैया नेपाल सरकारलाई दिने थापाथली सन्धि भएको थियो । उनकै समयमा भोटमा रहेका ५६ खालसा सैनिकहरुलाई पनि रिहाइ गराएका थिए । ति युद्धबन्दीहरुलाई नेपालको बाटो फिर्ता ल्याएर संस्मरणका लागि राजा सुरेन्द्रको नामांकित तक्मा दिएर स्वदेश पठाइएको थियो ।
उनकै शासनकालमा बेलायती रेसिडेन्टमा आइपुगेका क्लरेन्स क्रोमिन टेलरले पहिलो पटक नेपालमा फोटोग्राफीको शुरुवात गरेका थिए । त्यस अगाडि हातले लेखेका चित्रहरु मात्र हुन्थे । बि.सं. १९२४ मा उनकै निर्देशनमा पोखराको बिन्द्यवासिनी मन्दिरको निर्माण गरिएको थियो । यस अगाडि बनाइएको मन्दिर भत्किसकेको हुँदा नयाँ मन्दिर बनाइएको थियो ।
सुनिल उलक, फेसबुक