नेभिगेशन
कला/शैली

सिड्नीमा गुन्जियो यो मन त नेपाली हो 

 

सिड्नी ।  सिड्नीको प्रतिष्ठित  भेन्युका रुपमा चिनिएको डार्लिङ्ग हार्वर स्थित आइसीसी को हलमा सेप्टेम्वर २१ तारिख शनिबार अबेर रातिसम्म  नेपाली झन्डा र यो मन त मेरो नेपाली हो भन्ने गितले गुन्जायमान भयो । करिब पैतालिस  सय सिड्नीबासी नेपालीको सहभागितामा चन्द्रसूर्य अंकित झन्डाले भरिभराउ आइसीसीमा नेपाली सांगितिक समुह १९७४ एडीको यो मन त मेरो नेपाली हो ..’गुराँसै फुल्यो..’, ’छुँदैन तिम्रो मायाले..सम्बोधनजस्ता कर्णप्रीय आवाजले दर्शक दिर्घालाई झन्डै मध्यरातसम्म जुरुक्कै पारेको थियो ।


नेपाली सांगितिक समुह १९७४ एडी आफ्नो ३० औं वर्षगाँठ मनाउने क्रममा सिड्नी आइपुगेका थिए । लामो समयपछि पुन एकतामा बाधिएको ब्यान्डले आफ्ना नयाँ पुराना गरी करिब डेढ दर्जन गीत पस्केको थियो। यो सांगितिक समुहले आफ्नो तीन दशक यात्रालाई भव्य र सभ्य मनाउने क्रममा विश्वव्यापी भ्रमणको दौरान अमेरिकावाट सुरु गरेर अष्ट्रेलिया रोजेको हो । गत मे र जुनमा अमेरिकाबाट सुरू भएको ब्याण्डको यात्रा शनिबार अष्ट्रेलियाबाट समापन भएको छ  । सिड्नीका दर्शक र उनीहरुको यो ब्याण्ड प्रतिको मायाँ  देखेर थप उत्साहित बनेका  एड्रियन प्रधानले बिभिन्न आरोह र अवरोहपछि ३० वर्षको आफ्नो  यात्रामा सिड्नीको सहभागिता र मायाभाव कहिल्यै भुल्न नसक्ने  बताए । ’हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको यस्तो माया र साथले हामी नतमस्तक भएका छौं, प्रधानले सुनाए । ब्यान्डका मेन भोकलिष्ट फिरोज स्याङदेनले दर्शक श्रोताको माया र स्नेहसँगै आफूहरुले मञ्चलाई भरपुर सदुपयोग गरेको र यो आफनो समुहको अबिष्मरणीय क्षणका रुपमा रहेको समेत बताए ।


 कुनै पनि नेपाली ब्याण्डले आईसिसीमा प्रस्तुती दिएको यो पहिलो पटक हो । ब्यान्डका सदस्यहरू संजय श्रेष्ठ, मनोज केसी र निराकर याकथुम्बाले नेपाल र विश्वभर फैलिएका नेपाली श्रोतामाझ संगीत क्षेत्रमा पहिचान बनाउन पाउनु सफलताको बिषय भएको बताए ।
चिनिएको नाम र ब्यान्ड हो– १९७४ एडी । केही समय छुट्टिएर पुनः एकाकार भएको यो समूहको गीत संगीतप्रतिको लगाव र लोकप्रियता थप चुलिएको छ । करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि ब्यान्डका प्रशंसकहरू निराश भएका थिए ।  गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्डमा केही खल्लोपन देखिएको थियो। फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए । सन् २०१९ मा समूहका पाँचैजना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा,मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो । आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले आफूहरूले पहिलो पटक सिड्नीको आईसीसीमा कार्यक्रम आयोजना गरेको र यो पूर्ण रुपमा सफल भएको बताए । ’कुनै पनि नेपाली ब्याण्डले यो भेन्युमा कार्यक्रम गरेको पहिलो पटक हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्