पर्थ । एन आर एन ए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको नेपाल फेस्टिभल एनआरएनए वेस्टर्न अष्ट्रेलिया राज्य समिती को आयोजनामा यहि सेप्टेम्बर १४ तारिख शनिवार पर्थमा सम्पन्न भएको छ ।

स्थानिय सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल फेष्टिभलमा १२ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । महोत्सवमा नेपाली मौलिक पाराको घर, धरहरा, पशुपतिनाथ, बौद्ध स्तुपा लगायत को स्तापना गरि नेपाली कला सस्कृति र ईतिहास झल्काउने प्रयास गरिएको थियो । अष्ट्रेलियामा नेपाली कला सस्कृति ,र पर्यटनको प्रबर्धन गर्ने मुख्य उद्देस्यले आयोजना गरिएको फेस्टिभलमा नेपाली मौलिक खानाका परिकार , माइग्रेसन ,ट्राभल्स लगायतका विभिन्न व्यवसायहरुका ३८ वटा स्टल राखिएका थिए । यस्तै नेपालको परिचय गराउने खालका विभिन्न प्रतिकात्मक सामग्री पनि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नागरिकता र बहुसांस्कृतिक चासो समन्धि मन्त्री डा.टोनी बुटीले पर्थको बहुसास्कृतिक समुदायमा नेपाली समुदायको उपस्थिति प्रसंसनिय रहदै आएको बताए । उनले यहाँको नेपाली समुदायको समस्याका बारेमा आफु जानकार रहेको र ती समस्या समाधानमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिए । उनले अगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुने बिस्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष विनोद श्रेष्ठ, क्षेत्रीय संयोजक दिनेश पोखरेल ,सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएन महिला संयोजक रोजिना प्रधान, टीका गुरुंग लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले टिमका सबै साथीहरुको सामुहिक प्रयास र समुदायसंगको हातेमालोको कारणले गएको एक वर्षको आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु हासिल हुन सकेको बताउदै आठ वटै राज्यमा हुने नेपाल फेष्टिभलले यहाँको नेपाली समूदायलाई अष्ट्रेलियन समूदायसँग सामिप्यता कायम गराउन सकारात्मक भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाको संघीय सांसद साम लिमले आफ्नो कला सस्कृति र मौलिकताको बारेमा दोश्रो पुस्तालाई जानकारी गराउन समुदायमा यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सिड्नीबाट न्यू साउथ वेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमलराज पाठक , मेलबर्नबाट प्रवक्ता बबिन मिश्र, क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर र डार्विनबाट सञ्जीव ढकाल लगायतले महोत्सवमा सहभागिता जनाएका थिए । महोत्सवमा एक्स व्याण्डले आफ्नो प्रस्तुति दिएको थियो भने आस्था राउत र बद्री पंगेनी लगायतका कलाकारहरुले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतिबाट भरपुर मनोरंजन दिलाएका थिए ।

पानसमा बत्ती बालेर एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी र नेपाल फेष्टिभलका संयोजक शेखर घिमिरेले पानसमा बत्ती बालेर महोत्सवको शुभारम्भ गरेका थिए भने सो अवसरमा पर्थ पूजा सेवाका स्वयंसेवकहरुले स्वस्ती वाचन गरेका थिए । महोत्सवको समापनका बेला करिव १० मिनेट आतिशबाजी समेत गरिएको थियो ।
नेपाल फेस्टिभलमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नागरिकता र बहुसांस्कृतिक चासो सम्बन्धी मन्त्री डा. टोनी बुटीले पर्थको नेपाल फेष्टिभलका लागि स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराएका थिए ।