नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक, नाटक निर्देशक, युवाकवि मोतीराम भट्ट, पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला छोराको रुपमा १९२३ भदौ २३ गते कुशे औंसीका दिन जन्मे, १९५३ भाद्र कुशेऔंसीकै दिन स्वर्गे भए । उनी,१९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धारा र समालोचना विधाको संस्थापक पनि हुन् ।
आदिकवि भानुभक्तको जीवन चरित्र र काव्य साधना बारे वि.स.१९४८ मा प्रकाशित गरी भानुलाई 'आदि प्रतिनिधि कवि' को रुपमा चिनाए । उक्त जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका पनि भन्छन् समालोचकहरू ।
उनलाई दीर्धजीवी राख्न मातापिताले नाकको दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे रे । मातापिता बनारसमा बसेका हुनाले ६ वर्षको उमेरमा मोतीराम पनि काशी पुगे । उतै पढाई थाले । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र फारसी र उर्दू पढे । कालान्तरमा उनी फारसी र उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा दखल राख्ने भए । बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषा र साहित्यको अध्ययन गरे। गजल गाउन र सितारवादन सिके ।बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए तर नेपाली गीत, कविता र गजलको लागि कलममा मसी चोपेकै थिएनन् ।
काठमाडौंमा आफ्ना छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गएको मौकामा रातभरि श्लोकमा जुहारी खेलेको सुनेपछि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनीमा ज्ञान पलायो। ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले, भानुभक्तका कृतिहरू खोजीवरि प्रकाशनको काममा जुटे। मोतीरामले नै भानुभक्तका वधूशिक्षा,भक्तमाला’, प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा ल्याए ।
काशीमै १७ वर्षको उमेरमा मोतीरामले भानुभक्तको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए। त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू पनि प्रकाशित गराएका थिए। भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे।
आठ वर्ष बनारस बसेर मोतीराम १५ वर्षको उमेरमा १९३७ सालमा पुनः काठमाडौँ फर्किए र बिहे गरे। १९३८ पुसमा उनी फेरि बनारस गए र 'भारतजीवन' हिन्दी पत्रिकाको नेपाली संस्करण ल्याई यसको प्रकाशकीय र सम्पादकीय लेखेर भारतजीवन छापाखानासँग संलग्न भए । त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे। बनारसमा यस कार्यमा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, रंगनाथ, तेजसिंह र तेजबहादुर राना थिए ।
काठमाडौं फर्केर दरबार हाई स्कूलमा अध्ययन गर्दा नै पढाइमा पनि आफ्नो तीक्ष्णता देखाए । साहित्यकारहरूलाई सङ्गठित गरे । उनी प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, सङ्गठनकर्ता, पुस्तकालय संस्थापक आदि पनि थिए । वि.स.१९४८ मा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे।
राजगुरु लोकराज पण्डितबाट झिकाइएपछि भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौँ आए, र उनले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोगमा १९४५ सालमा काठमाडौँको ठहिटीमा मोतीकृष्ण कम्पनी र पुस्तकालय पनि खोले । मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग मिलेर 'मित्रमण्डली' गठन गरे ।
वि.स. १९५० मा यी कलकत्तामा आईए परीक्षामा सम्मिलित भए, तर अनुत्तीर्ण भए । यसपछि खिन्नभाव बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए। त्यहीँ बिमारले थला परे । केही समयपछि उनी अशक्त अवस्थामा काठमाडौ आए । सात महिना बिरामी भएर कुशे औसीमा एकतीस वर्ष लागेकै दिन उनी १९५३ सालमा काठमाडौ आर्यघाटमा स्वर्गीय भए ।
मोतीराम भट्टले मर्ने बेलामा आफ्नी अत्यन्त दु:खी आमा र बहिनीसमक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन्- "अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन । हजुरले पैदा गरीबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनैमा मात्र रह्यो । मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो । यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला ।"
( विभिन्न अनलाइन पत्रिका, आफ्नै नोट र विकिपीडियाको आधारमा चन्द्रमणि गौतमद्वारा तयार गरिएको लेख )