नेभिगेशन
बिचार/ब्लग

नेपालको राजनीति सत्ता हस्तान्तरणको लागि मात्र हुँदैआयो, रुपान्तरण कहिल्यै हुनसकेन : प्रदीप गिरि

नेपाली काँग्रेसका नेता प्रदीप गिरि (वि.स.२००४–२०७९), ज्ञानको भण्डार, लोकतान्त्रिक समाजवादका सिद्धान्तकार (Ideologue) र सत्ताको भोकरहित, आदर्शवादी राजनीतिका त्रिवेणी थिए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्यको रूपमा संविधान लेखन कार्यमा सक्रिय भए पनि नेपालको संविधान २०७२ प्रति विमति राखेर त्यसमा समर्थनको हस्ताक्षर नगरेका एकमात्र काँग्रेस नेता पनि हुन् ।
जननायक बीपी कोइरालाका विचारधारा र लोकतान्त्रिक समाजवादका व्याख्याताको रुपमा उनी बेजोड नेता थिए । भारतीय समाजवादी नेताहरूसँग उनको राम्रो उठबस थियो । उनको भाषणकला (Oratory skill) ले सबैलाई मन्त्रमुग्ध बनाउँथ्यो । गत वर्ष कांग्रेसको १४ औं महाधिवेशन भएयता उनी काँग्रेसको केन्द्रीय समितिमा परेनन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटलाई जान्नेहरूका अनुसार, देउवाले विचारशत्रु कसैको रुचि र इच्छाको कदर गर्दै उनलाई पन्छाउँदै लगेका थिए । उल्लेखनीय के छ भने २०५९ मा काँग्रेस फुटाउँदा उनै देउवालाई साथ दिंदै प्रदीप गिरिले ‘बाध्यताको समर्थन’ दिएका थिए ।


पिता मित्रलाल गिरि (१९७६–२०४५) २०१२ सालमै नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य र आजीवन काँग्रेस भएको कारणले घरको वातावरण अनुरुप प्रदीप गिरि बाल्य उमेरदेखि राजनीतिमा संलग्न (२०१७) भए, जुन बेला उनी केवल १३ वर्षका थिए । २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एकवर्ष, सबै गिरफ्तारीमा जम्मा चारवर्ष जेल जीवन बिताए । सानै उमेरदेखि धर्मशास्त्रको आलोचनात्मक अध्ययनमा रुचि राखेका उनी समाजवादको ब्याख्याका क्रममा समेत धर्मशास्त्र वा पुराणका सन्दर्भलाई घतलाग्दो उपमा वा उदाहरणको रुपमा सजाउन पोख्त विशेषता थियो ।

बनारस (भारत) मा २०२४ सालमा स्थापित नेपाल छात्र सङ्घको निर्वाचित उपाध्यक्ष थिए उनी । सोही साल स्थापित प्रजातान्त्रिक समाजवादी युथ लिग (DSYL) को उपसभापति भए । २०५१ को संसदीय निर्वाचनमा सिरहा–५ बाट निर्वाचित गिरि २०५६ को संसदीय निर्वाचनमा पराजित भए । दुवै संविधानसभामा उनी समानुपातिक सभासदको रुपमा आए । २०७४ को संसदीय निर्वाचनमा उनी सिराहाबाटै विजयी भए ।
२०४० को दशकका ५-६ वर्ष मेरो उनीसँग घनिष्ठ सम्बन्ध रह्यो, जुन बेला उनको बसोबास पुतलीसडक पछाडि पञ्चायत प्लाजामा थियो । मेरो अध्ययनलाई गति दिनमा प्रदीपदाईको योगदान छ । उनीसँग पुरानो आत्मीयताकै कारण अघिपछि भेट हुँदा खुलस्त कुराकानी हुनपाउँथ्यो ।
खोटाङ् जिल्लाको सिमपानी बाटेस्वाँराबाट प्रदीपजीका जिज्युबाजे कुलदीप गिरि उदयपुरगढीमा आई त्यहाँ सेनाको सानोतिनो जागीरमा प्रवेश गरे । कुलदीपका पिता जयकृष्ण गिरि पनि उद्यमी थिए । कुलदीप करिब १५ वर्ष उदयपुरमा बस्दा इलामपछि दोस्रो चियाखेतीका जनक भए । सेनाको जागीरबाट निस्केपछि उनी ब्यापारमा लागे । ब्यापारबाट एकदमै मालामाल भएका कुलदीपलाई उदयपुर छोडाएर सिराहाको बस्तीपुरमा स्थायी बसोबास गरायो ।
बस्तीपुरमै पिता मित्रलाल र माता पूण्यप्रभाका ५ छोरामध्ये जेठो छोरा प्रकाश गिरि, माईला प्रदीप दाई साईंला लक्ष्मण, काईंला शेखर र कान्छा कमलेश हुनुहुन्छ।‌ तिहारको गोबर्द्धन पूजाको दिन उनको जन्म भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट प्रदीप गिरिले अर्थशास्त्र र दर्शनशास्त्रमा एम.ए. को पढाई पूरा गरे । पार्टीको लागि खटेर हिंड्दा विवाह गर्न नसकेका/नचाहेका— कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, शैलजा आचार्य, रामहरि जोशी, पी.एल. सिंह आदिको लामो सूचीमा प्रदीप गिरि पर्दथे ।
बीपी कोइरालाका लेख, अन्तर्वार्ता र भाषणहरूको विभिन्न पुस्तकाकार सँगालोहरूका साथै लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत उनका एक दर्जन जति पुस्तक प्रकाशित छन् । माथि उल्लेखित उनको विचार संसदमा दिएको भाषणको एक अंश हो ।

( प्रदीप गिरिको साथमा स्तम्भकार )

घाँटीको क्यान्सरले गर्दा मुम्बई लगायत भारतका विभिन्न स्थानमा उपचार गराएका प्रदीप गिरि स्वदेश फर्केको दुई दिनमै निमोनियाले पनि संक्रमित भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा २०७९ भदौ ५ गते दुःखद निधन भयो ।
भावपूर्ण श्रद्धासुमन प्रदीप दाई !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...