नेभिगेशन
बिचार/ब्लग

काँग्रेसमा गुमनाम पारिएका जीवित इतिहास - बलदेव मजगैया,

बलदेव मजगैया, काँग्रेसमा गुमनाम पारिएका सयौं जीवित इतिहास मध्येका एक हुन् । तिनताकमा नेपाली काँग्रेसको प्रवास अर्थात वाराणसीको राजनीति जान्ने बुझ्नेले बलदेवलाई बिर्सन सक्दैन। संसद कालमा दांगबाट पटक पटक सांसद, मंत्री, पार्टीका अनेकन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको मजगैया शायद, अचानक अहिले काँग्रेसका ठुला नेताहरूका सामुन्ने आई पुगे भने चिनिदैनन् होला। शैलजा आचार्यको बारेको यस लेखमा मैले बलदेवको थोरै चर्चा यस कारणले गरे कि, बलदेव व्यक्तिगत रूपमा पनि शैलजालाई नजिकबाट चिन्ने साथै, तेस बेलाका घटनाक्रमका पनि स्वयं साक्षी रहेको हुनाले उनको लेखको आघिकारिकता छ ।

तलको लेख बलदेव मजगैयाले शैलजा आचार्यको बारे गत बर्ष लेखेका हुन। यो लेख त्रैमासिक ‘शिवपुरी सन्देश’मा छापिएको थियो । शैलजाका बारे बलदेव मजगैया लेख्नु हुन्छः

छोटो कद भए पनि विचारको प्रष्टता, त्याग एवम् सक्रियतामा वहाँको उचाइ काङ्ग्रेसका कुनै युवा नेताहरूभन्दा कम थिएन। प्रतिभावान अग्रणी नेतृ सुश्री शैलजा आचार्यलाई वाराणसीमा निर्वासनमा रहेका हाम्रो पुस्ताले ‘दिदी’ भनेर सम्बोधन गर्दथ्यो। दिदीसँग मेरो प्रथम भेट २०२७ सालमा वाराणसीमा भएको थियो।

त्यस समयमा वहाँ नेपाली काङ्ग्रेसको युवा सङ्गठन DSYL (प्रजातान्त्रिक समाजवादी युवा लिग) को अध्यक्ष भइसक्नुभएको थियो। जब नेपाली युवाहरूलाई मार्गदर्शन गर्न भनेर वाराणसीबाट तरुण पत्रिका निस्कन थाल्यो। शैलजा दिदी त्यसको सम्पादक बन्नुभयो। तरुण पत्रिकाको प्रथम संस्करणदेखि नै नेपालमा निकै लोकप्रिय रह्यो। त्यस पत्रिकाले पञ्चायती व्यवस्थाबाट साङ्गठनिक रूपमा छिन्नभिन्न एवम् निराश भएका युवाहरूलाई ऊर्जा एवम् स्पष्ट दिशानिर्देशन प्रदान गर्योन। तरुण पत्रिकाको लोकप्रियताको साथसाथै सम्पादक शैलजा दिदीको लोकप्रियता पनि त्यसरी नै बढ्यो।

२०१७ साल पौष १ गतेको कालो दिनको विरोधमा कालो झण्डा देखाएर सर्वप्रथम गिरफ्तारी दिएर शैलजा दिदीले क्रान्तिकारी नेतृको इतिहास रच्नुभयो। आज यस्ता घटना आम लाग्लान् तर त्यो समयमा एउटी महिलाले देखाएको असाधारण साहस मिथकको रूपमा उदाहरणीय रह्यो।

नेपालमा लोकतन्त्रको पुनर्स्र्थापनाको लागि सशस्त्र सङ्घर्षको क्रममा पनि वहाँ बढेर, चढेर सक्रिय हुनुहुन्थ्यो। भारतमा बसेर हतियार जम्मा गर्नु चुनौतीपूर्ण काम हुन्थ्यो। एकातिर भारतीय सरकारी निकायबाट जोगिनुपर्ने हुन्थ्यो। मात्र एउटा रिभल्भरको गोली तलासीमा फेला पर्दा हाम्रा कतिपय साथीहरूले ३/३ वर्ष जेल बस्नुपरेको यथार्थ सबैले बुझेकै थिए। अर्कोतिर हामीलाई हतियार बेच्ने तस्करहरूकै सूचनाको विश्वसनीयतामा चनाखो हुनु पनि पर्दथ्यो।

हतियार खरिदको अभियानमा भारतको मैसूर शहरमा शैलजा दिदीले झण्डै जीवन गुमाउनुपरेको थियो। हतियार तस्करहरूको धोकाको कारण वहाँमाथि बलात्कारको प्रयास भयो। वीपी कोइरालाले भारतीय प्रशासनको सहयोगबाट शैलजा दिदीको जीवन–रक्षा सम्भव भएको थियो। अन्यथा, वहाँको दुरावस्थाको कल्पना गर्न पनि डर लाग्दछ। मैले साझा प्रकाशनबाट प्रकाशित ‘धर्ती माता’ आत्माख्यानमा दिदीको मैसूर दुर्घटनाको प्रसङ्गबारे चर्चा गरेको छु।

वीपी कोइराला, गणेशमानजीहरू राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर नेपाल फर्कनुभयो। त्यस समयमा शैलजा दिदी पनि वहाँहरूसँगै स्वदेश फर्कनुभयो। नेपालमा वहाँ मेलमिलाप नीतिको प्रमुख विश्लेषकको रूपमा उभिनुभयो। पञ्चायतकालमा वहाँजस्ता कैयौँ नेताहरू चिप्लिए भने कतिपय चिप्लिँदा चिप्लिँदै जोगिए। दिदी भने सिद्धान्त र निष्ठामा अविचलित रहनुभयो।

शैलजा दिदी नेपाली काङ्ग्रेसको लोकप्रिय नेताका रूपमा अगाडि बढिरहनुभएको थियो। गणेशमानजी, किसुनजी, गिरिजाप्रसाद कोइरालापश्चात् नेपाली काङ्ग्रेसको नेतृत्व शैलजा आचार्यले लिन सक्षम हुनुहुन्छ भन्ने कुरा स्थापित गर्न सफल हुनुभएको थियो।

२०५१ सालको मध्यावधि निर्वाचनमा ३६ र ७४ का कारण काङ्ग्रेसले बहुमत त गुमायो, गुमायो; ऊ संसद्मा सबभन्दा ठूलो दल पनि बन्न सकेन। नेपाली काङ्ग्रेस संसद्मा दोस्रो ठूलो दल बनेर बस्न बाध्य भयो। आफ्नै नेतृत्व भएको दलको पराजयको नैतिक दायित्व लिँदै गिरिजाप्रसाद कोइराला काङ्ग्रेस संसदीय दलको निर्वाचन नलड्ने हुनुभयो।

संसदीय दलभित्र भने गिरिजा बाबुकै बहुमत थियो। सुशील कोइरालाले निर्वाचन हारिसकेकाले अब दलको नेता शैलजा दिदी नै हुने निश्चित थियो। कोइराला परिवारबाट दिदीको जति हाइट भएको अर्को नेता पनि थिएन। तर, अनपेक्षित रूपमा गिरिजाप्रसाद कोइरालाको समर्थन शेरबहादुर देउवाले पाउनुभयो।

देउवालाई गिरिजाप्रसादको समर्थन गिरिजाप्रसादको यही निर्णय हो, जसले शेरबहादुरजीको भाग्योदय र शैलजा दिदीको राजनीतिक असफलताको समय प्रारम्भ भयो भन्ने मेरो बुझाइ हो। गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई दिएको समर्थनलाई लिएर केही समय गाइँगुइँ त चल्यो; त्यसपछि यो कुरा आयो–गयो भयो। त्यस घटनाबाट प्रष्ट भयो कि शैलजा दिदीले आउँदो समयमा परिवारभित्र पनि कठिन लडाईँ लड्नुपर्ने छ। सुशील कोइराला त शैलजा दिदीको ठाउँमा बरु खुमबहादुर खड्का नै दलको नेता बनून् भन्नेमा थिए।

यो कुरा रिटायर्ड कर्नेल लालकाजी गुरुङको लैनचौरको घरमा नेपाली काङ्ग्रेसका बहुमत संसद् सदस्यहरूको उपस्थितिमा सुशील कोइरालाले भनेका थिए। पछि यो कुरा थाहा पाएर गिरिजाप्रसाद कोइरालाले हस्तक्षेप गरेर शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय दिनुभएको थियो। परिवारभित्रबाट ठूलो चुनौतीका रूपमा रहेकी शैलजा दिदी दलको नेता हुन नपाएकोमा त्यस समयमा सुशील कोइरालाले ठूलो राहत महसूस गरेका थिए।

पार्टी पङ्क्तिमा गिरिजाप्रसाद कोइरालाका खास सहयोगीहरूमध्ये अधिकांश गिरिजाप्रसाद कोइरालापछि सुशील कोइरालालाई नै गिरिजा दाजुको उत्तराधिकारीको रूपमा देख्न चाहन्थे। गिरिजाप्रसाद कोइरालालाई सुशील कोइरालाको सङ्गठनमा रहेको पकडको राम्रो ज्ञान थियो। यसै कारण सुशील कोइरालालाई नरुचाए पनि उनको दबाबमा शैलजा दिदीमाथि पटक–पटक अन्याय हुन गएको थियो।

त्यसपछि प्रधानमन्त्रीको प्रबल दाबेदार दिदीसँग प्रायः सबै नेताहरू सतर्क हुन थाले। यसको परिणाम वहाँ पार्टीको केन्द्रीय कमिटीमा पनि एक्लिँदै जानुभयो। जसको परिणामस्वरुप २०५६ सालको आमनिर्वाचनमा दिदीकै नजिकका सहयोगीहरू पनि वहाँको विरुद्ध उभिन पुगे। परिणाममा ०५६ सालको आमनिर्वाचनमा दिदी पराजित हुनुभयो। यसपछि परिवारभित्र अन्तरकलह बढ्दै गयो। स्वयम् गिरिजाप्रसाद कोइरालालाई परिवारमा सामन्जस्य र सन्तुलन मिलाउन धौधौ हुँदै थियो।

पार्टीको दशौँ महाधिवेशन आउँदा परिवारभित्र अन्तरद्वन्द्व यसरी चर्कियो कि सुजाता कोइरालाको केन्द्रीय सदस्य उम्मेदवारीमा शैलजा दिदी स्वयम्ले नै सुजाताविरुद्ध योग्यताको प्रश्न उठाएर दाबी–विरोध गर्नुभयो।

२०५६ सालको निर्वाचनपश्चात् होलेरी काण्डपछि गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभयो। त्यसपछि संसदीय दलको नेतामा सुशील कोइराला र शेरबहादुरजी बीच निर्वाचन हुने भयो। तर, त्यस समयमा पनि शैलजा दिदीजस्तै सुशील कोइरालालले गिरिजाप्रसादको समर्थन पाउनुभएन।

गिरिजाप्रसाद कोइराला तटस्थ रहनुभयो। मजस्तै अनेकन् साथीहरूको सुशील कोइरालालाई सहयोगको आग्रहलाई गिरिजाप्रसाद कोइरालाले अस्वीकार गर्नुभयो। परिणाममा गिरिजाप्रसाद कोइरालाका अत्यन्त नजिकका प्रभावशाली सहयोगीहरूले पनि खुलेरै सुशीलको विरुद्धमा शेरबहादुरजीलाई मत दिन पुगे।

गिरिजाप्रसाद कोइरालाले शैलजा दिदी र सुशील कोइराला दुवैलाई किन समर्थक गर्नुभएन भन्ने चर्चा वहाँकै सहयोगीहरूको वृत्तमा आलोचनाको विषय बन्यो। सत्ता–राजनीतिमा गिरिजाप्रसाद कोइरालाका केके आन्तरिक बाध्यता थिए, त्यो वहाँले बताउनुभएन। त्यस समयमा सबैले बुझेको कुरा के थियो भने गिरिजाप्रसाद कोइरालाको अझै प्रधानमन्त्री बन्ने आकाङ्क्षा बाँकी थियो। प्रष्ट शब्दमा भन्नुपर्दा जति शेरबहादुरजी अथवा अझ किसुनजीबाट समेत सत्ता फर्काउनु सजिलो थियो, शैलजा र सुशीलबाट सम्भव थिएन।

शैलजा दिदी प्रधानमन्त्री हुन नपाउँदा खुशी भएका सुशील कोइरालासँग पश्चाताप गर्नुको विकल्प थिएन। शैलजा दिदीलाई एकातिर कोइराला क्याम्पकै सुशील कोइराला र अर्कोतिर शेरबहादुरजी, रामचन्द्र पौडेलजीलाई उछिनेर अगाडि बढ्न कठिन भयो।

यसरी बिस्तारै दिदी नेतृत्व प्रतिस्पर्धाको आन्तरिक लडाईंबाट अलग थलग पर्नुभएको महसुस गर्दछु। यसरी पारिवारिक अन्तरकलह, गूटको ताकत, छलकपट, मनी र मसल, प्रोपोगण्डा र चाटुकारिता मनोवृत्तिको अगाडि त्याग, तपस्या, वैयक्तिक क्षमता पराजित हुँदै गयो।

मलाई लाग्दछ— परचक्रीभन्दा आफ्नैबाट प्रताडित भएर दिदी निराश हुनुभयो। प्रतिगमनविरुद्धको लडाईँहरूमा शैलजा दिदीको निष्कृयता यसै कारण परिलक्षित भएको हो। सबैलाई थाहा छ— वहाँ बिस्तारै बिरामी पर्न थाल्नुभयो। गणतन्त्र आइसकेपछि भारतीय राजदूत हुने वहाँको इच्छामा आफ्ना केही वैयक्तिक समस्याहरू थिए होलान् तर वहाँले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई त्यसबारे बताएको मेरो जानकारीमा छैन। परिणाममा भारतको राजदूत हुने वहाँको निर्णयले वहाँका अनेकन् शुभेच्छुकहरू निराश भए।

मलाई यो पनि लाग्दछ— जीवनको अत्यन्त नाजुक मोडमा वहाँले आफ्नाहरूबाट उचित सल्लाह पाउन सक्नुभएन। अथवा, वहाँले सधैँ आफ्नैबाट धोका पाएका कारण कसैको सल्लाहलाई ध्यान दिनुभएन। यस्तो प्रसङ्ग आउँदा म भारतका लोकनायक जयप्रकाश नारायणजीका सहयोगी ब्रह्मानन्दजीलाई सम्झन्छु। जीवनको अन्तकालतिर जब वहाँ निकै बिरामी हुनुभयो ।

जयप्रकाशजी विरुद्ध चाहिने–नचाहिने प्रसङ्गहरूमा वहाँको प्रतिष्ठालाई नै समाप्त गर्ने खालका छद्म प्रयासहरू भए। तर, ब्रह्मानन्दको सतर्कता र इमान्दारिताका कारण त्यस्ता प्रयास सफल हुन सकेनन्। अन्तकालको समयमा वीपी कोइरालाका सामुन्ने आफ्ना एकसेएक हस्तीहरू हुनुहुन्थ्यो। किसुनजीलाई पनि अमिता कपालीलगायतको आध्यात्मिक सङ्गति एवम् रेखदेख थियो। गिरिजाप्रसाद कोइरालालगायत परिवारका अन्य सदस्यहरू प्रयासरत थिए ।

शैलजा दिदीलाई सहयोगीहरूको सहयोग रहेन या वहाँले माथि भनेजस्तै कसैको कुरा सुन्नुभएन या चाहनुभएन। अलि जिद्दी स्वभावकी त वहाँ हो नै । नेपाली काङ्ग्रेसलाई आजसम्म पनि निर्विकल्प नेतृत्व दिन सक्ने शैलजा दिदीजस्तो उचाइ भएको व्यक्तित्वलाई त थिचीथिची अवसान गराइयो भने अनगिन्ती प्रजातान्त्रिक योद्धाहरू अपमानित र तिरस्कृत हुनु कुनै अचम्मको विषय भएन ! सरसर्ती खोज्यौँ भनेमात्र पनि काङ्ग्रेसमा प्रतिभावान् सेनानीहरूको बर्बादीको डरलाग्दो तथ्याङ्क भेटिनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...