नेभिगेशन
न्यू साउथ वेल्स

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया आउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अगष्ट १६ तारिख अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाचौं अधिवेशनका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी मेलबर्न आउन लागेका हुन् ।

प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार संस्थाले १७ अगष्ट शनिबार स्थानीय ईस्टोनियन हालमा आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष लिङ्देनले यहाँको नेपाली समूदायसंग अन्तरक्रिया गर्नेछन् ।

ईस्टोनियन हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियाको नेपाली समूदायका अगुवाहरुलाई आमन्त्रण गरिएको पनि उनले जानकारी दिए । पाँच वर्षअघि स्थापना भएको प्रवासी नेपाली एकता समाजको घोषणा पनि मेलबर्नमा नै गरिएको थियो । संस्थापक अध्यक्ष अजय राजवंशी थिए ।

अध्यक्ष लिङ्देनका साथ राप्रपाका प्रवक्ता, कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि हुनेछन् ।
मेलबर्नपछि एडिलेडमा आयोजना हुने एक कार्यक्रममा सहभागी भएर राप्रपा अध्यक्ष सिड्नीमा झापाली समाज अष्ट्रेलियाको आयोजनमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जानेछन् ।

राप्रपाको विदेशमा भएका संगठनमध्ये अष्ट्रेलियाको बलियो मानिन्छ । पछिल्लो समय राप्रपाका धेरै नेताहरुले अष्ट्रेलियाको भ्रमण गरिसकेका छन् । पूर्वउपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो पहिलो अष्ट्रेलिया भ्रमण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्