जननायक बीपी कोईरालाले २०१४ सालमा काँग्रेसका कार्यकर्ताहरूका नाममा लेख्नुभएको कालजयी पत्र (‘काङ्ग्रेस–कार्यकर्ताका सात खराबी’) को पाँचौँ बुँदामा भन्नुहुन्छ, “हाम्रा साथीहरूको पाँचौँ खामी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौँ । जनता र पार्टीकै कार्यकर्ताहरूवीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ (नेपाली काङ्ग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को २०१५ अङ्कबाट) ।
२०४४ सालको एक सन्दर्भमा सर्वमान्य नेता गणेशमान सिंहले भनेको सम्झिन्छु, “काँग्रेस हुँ भन्छ । लेखपढ गर्नु साडेबाईस ! हरफनमौला जस्तो छ, हावा कुरा गरेर हिंड्न रुचाउँछ । भरोसाको कुरा एउटै छैन । किसुनजीले भन्नुहुन्छ नि, यिनीहरूले काँग्रेसलाई कहिलेकहीं पार्टी, धेरैजसो पाटी बनाउने भए....।”
आत्मसंस्मरण ‘न्याय’मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेकी छन्, “नेपाली काँग्रेस प्रजातन्त्र पक्षधर हुँदाहुँदै पनि नेताहरूमा अहम् छ । तिनीहरूमा राजनीतिक संस्कारको अभाव देखिन थालेको छ । गहिरो अध्ययन र गतिलो बुझाई भएका नेता पनि कम छन् । काँग्रेसका नेतालाई हरेक नियुक्तीमा आफ्नो पार्टीको लेबल लागे पुग्छ” (पृ. १४७) ।
वामपन्थी नेता राधाकृष्ण मैनाली आफ्ना जेल भोगाईसम्बन्धी लेखहरूको सँगालो (पुस्तक) ‘बन्दी रहर’ मा लेख्छन्, “सामान्य मानिसहरूसँग नेपाली काँग्रेसका कार्यकर्ताहरू विल्कुलै घुलमिल गर्न रुचाउँदैनन् । उनीहरू आममानिसका आवश्यकता र रुचिबारे पनि त्यति वास्ता गर्दैनन् । त्यस्तै स्थिति यहाँ पनि रहेको मैले पाएँ । यो रोगले नै विस्तारै नेपाली काँग्रेसलाई भुईँबाट आकाशतिर लाग्दैछ। आकाशमा मानिस छैनन्, अनि कसको नेतृत्व गर्छन् यिनीहरू” (‘बन्दी मित्रहरूसँग भेटघाट’ लेख, पृ. ६३) ।
नेपाली कांग्रेसमा उल्लेखित प्रवृत्तिगत रोग क्रोनिक रुपमा आजतक यथावत छ । कसले सुधार्ने ! राजधानीमा बसेर शक्तिकेन्द्र चहार्दै हिंड्ने, टपरटुईंया गफ हाँक्ने, निर्वाचनको बेलामा पार्टीको निर्वाचन चिन्हमा मत दिन्छ कि दिंदैन, त्यसको पनि यकिन नभएको, अघिपछिको ओठे कांग्रेसको त झन् कुनै भरोसा रहेन ।
सबैले आ–आफ्नै नियतसँग संघर्ष गरेर यस्ता रोगबाट विजय पाउन सकेमात्रै । काँग्रेसमुखी, परिणाममुखी, जनमुखी र भविष्यमुखी भएरै तीतो ओखती बोलियो । यो पार्टीको माया नभएको भए यति कुरा बटुलेर भन्न मलाई केको सखसख थियो र !
फलामलाई अरु केहीले गलाउन सक्दैन, तर आफैँमा उब्जिने खियालाई हटाइएन भने फलामलाई सिध्याउँछ । हेक्का राखौँ, ठालुपन् र अहंकार मानिस मक्काउने खिया (Rust) सरह दुई भाईरस भएपछि मानिसभित्रको मानवता नष्ट गर्न अरु कुनै रोग चाहिन्न ।