नेभिगेशन
नेपाल समाचार

ओली नेतृत्वको मन्त्रिपरिषद् विस्तार : कांग्रेसका २ र नागरिक उन्मुक्तिका १ राज्यमन्त्री थपिए


काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरेका छन्  । सत्तारुढ घटक कांग्रेस र एमाले मन्त्रिपरिषद्लाई समावेशी र अन्य दललाई पनि समेट्नका लागि राज्यमन्त्री थप्ने निर्णयमा पुगेका हुन् ।
 अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।
 मन्त्रिपरिषद्‌मा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ । बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन् । रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए । अरूण चौधरी रेशम चौधरी पक्षका हुन् । उनी कैलाली-२ बाट निर्वाचित हुन् । कपिलवस्तुकी बिक कांग्रेसकी समानुपातिक सांसद हुन् । तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।
अब मन्त्रिपरिषद्‌मा ५ दलको सहभागिता भएको छ । यसअघि मन्त्रिपरिषद्‌मा कांग्रेस, एमाले, जसपा र लोसपा सहभागी थिए अब नागरिक उन्मुक्ति पनि थपिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्