नेभिगेशन
नेपाल समाचार

सचिवलाई प्रधानमन्त्रीको निर्देशन- साँझ परेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अब नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीलाई साँझ ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले नेपाल सरकारका सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘राज्यका मन्त्रालय र निकायमा तलब दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । मुलुकमा २० प्रतिशत भन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरी काम नगर्ने र साँझ ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नु ।’

प्रधानमन्त्री ओलीले दु:खी गरिबलाई मान्छे नै नगन्ने प्रवृति अन्त्य गर्नुपर्ने र नागरिकलाई लाइन नै नबसेर सहज रुपमा सेवा लिनुपर्नेतर्फ सबै निकायका सचिवको ध्यानाकर्षण गराए ।

उनले भने, ‘कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन । हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ । नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहजरुपमा सेवा दिइनुपर्छ । दुःखी गरिबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु ।’

प्रधानमन्त्री ओलीले सेवाग्राहीको काम विना झञ्झट गर्न पनि निर्देशन दिएका छन् । उनले सचिवलाई निर्देशन दिदैँ भने, ‘कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । तत्काल रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विना झञ्झट गरिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आदेशका भरमा भन्दा पनि कानूनबमोजिम आफैले जिम्मा लिएर काम गर्न पनि निर्देशन दिएका छन् ।

उनले भने, ‘हामीले देश र जनताका लागि समर्पित भएर काम गर्ने हो । जिम्मेवारी अर्काेलाई नपञ्छ्याउने हिसाबले काम गर्नु । कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठीक समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानु । आदेशका भरमा भन्दा कानुन बमोजिम आफैले जिम्मा लिएर गर्नु । जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिने बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन ।’

सचिवलाई निर्देशन दिने बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीलाई पनि अरुको आलोचना गर्नु भन्दा पनि आफ्नो काम गर्न र १०० दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिए ।

उनले निर्देशन दिँदै भने, ‘सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीले अरुको आलोचना नगर्नु । आफ्नो काम गर्नु । हरेक मन्त्रालये १०० दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिने गरी मान्छेले गरे है भन्ने सोच्ने गरी लाग्नु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्