नेभिगेशन
नेपाल समाचार

माओवादीको निष्कर्ष- आगामी निर्वाचन एक्लै लड्ने

नेकपा माओवादीले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धनभित्र अरू पार्टीहरूलाई पनि सन्तुलन गर्नुपर्ने हुँदा हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन । अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ ।’ 

यसको साथै, उनले कम्युनिष्ट पार्टीको पुनर्गठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चाहना भएको भन्दै बृहत् वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्ने उनले बताए । 

उनले भने, ‘हामीले कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि निरन्तर प्रयास गरिहनुपर्छ र हाम्रो बैठकको निचोड पनि बृहत् वामपन्थी एकीकरण विस्तार गर्दै अहिले जुन चारवटा पार्टीको संयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौँ नै । यसको साथै, कम्युनिष्ट पार्टीको पुनर्गठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनर्गठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस् भन्ने जनता चाहन्छन् । जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ ।’ 

यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भए पनि त्यसलाई गुणात्मक बनाउने निर्णय पनि भएको बताए । 

उनले भने, ‘यसको साथै प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम भए पनि त्यसलाई गुनात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरुलाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने, भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ । साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।’ 

पार्टी अध्यक्षले मुख्य रूपमा देशव्यापी रूपमा जनताको माझमा गएर जनताको कुरा सुन्ने कुरा उठाएको पनि उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्