नेभिगेशन
नेपाल समाचार

सिग्देल नेपाली सेनाको कामु प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिँदैछ । उक्त कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नु पर्ने परम्परा अनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो  

 

 

रथी सिग्देल नेपाली सेनाको कामु प्रधानसेनापति

 

नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिग्देललाई आगामी साउन २४ देखि लागू हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको रक्षा मन्त्रालय स्रोतले बतायो ।

 

 

 

सैनिक सेवा नियमावली–२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बरबुझारथ गर्ने प्रचलन रहेको छ । सोही व्यवस्थाबमोजिम प्रधानसेनापति प्रभुराम शर्मा यही साउन २४ गतेबाट बिदामा बस्दैछन् । त्यसपछि बलाधिकृत रथी सिग्देलले कायममुकायम प्रधानसेनापतिका रूपमा कमान्ड बुझ्ने छन् ।

सिग्देललाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएसँगै अब भदौ २४ बाट उनको नेपाली सेनाका प्रधानसेनापति बन्न बाटो लभभग तय भएको छ । प्रधानसेनापति शर्माको भदौ २४ मा तीन वर्षे कार्यकाल सकिनेछ र सिग्देलले आगामी तीन वर्ष करिब ९६ हजार सैनिक फौजको नेतृत्व गर्ने छन् ।

करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

नेपाली सेनाका अनुसार सिग्देलले पदिक पृतना,बाहिनी र गणको कमान्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टका रूपमा जिम्मेवारी समेत निर्वाह गरेका छन् । उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायककोरुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सिग्देलले अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताका बाहेक संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा तत्कालीन युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उनले सुप्रबल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित भएका छन् ।

उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबड गरेको अरोप लागेको थियो । तर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गर्‍यो । त्यसपछि उनको प्रधानसेनापति बन्न बाटो खुलेको हो ।

साभार कान्तिपुर 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्