नेभिगेशन
नेपाल समाचार

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत माग्दै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज प्रदेश सभाबाट विश्वासको मत माग्दै हुनुहुन्छ ।

कांग्रेस एमाले  गठबन्धनबाट सरकारको  नेतृत्व लिनुभएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराउनुभएको थियो । 

साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका लामाले ३० दिन भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुभएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ । 

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा -४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम -१ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

साउन १२ मा एक जना विनाविभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्