नेभिगेशन
अष्ट्रेलिया समाचार

अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्‍न

 सिड्नी । किरात याक्थुङ चुम्लुङ, सिड्नी र शब्दाङकुर बुक्स एण्ड पब्लिकेशन को संयुक्त आयोजनामा यहि जुलाई २७ तारिख शनिवार अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्‍न भएको छ ।

कार्यक्रमको शुरुवातमा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले आगन्तुकहरूलाई स्वागत गर्दै अष्ट्रेलियामा याक्थुङ लिम्बुहरूको मुन्धुममा आधारित मौलिक संस्कृतिको संरक्षण गर्दै मुन्धुमको ज्ञान तथा संस्कृतिको हस्तान्तरण आवश्यक रहेको बताईन । यस अवसरमा याक्थुङ लिम्बुहरूको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाचको उत्पत्ति र वर्तमान अभ्यासको बारेमा जितमान लिम्बुले जानकारी दिएका थिए भने प्रकाशचन्द्र निङ्लेखुले याक्थुङ लिम्बुहरूको धान नाच र पालामको उत्पत्ति एवम् लिम्बु भाषाबाट राखिएका लिम्बुवान क्षेत्रका विभिन्न स्थानका नामहरूका बारेमा चर्चा गरेका थिए । सो अवसरमा अतिथि वक्ता भोगेन्द्र लिङदेनले याक्थुङ लिम्बुहरूको नाम्सामी र केसामी मुन्धुमको बारेमा चर्चा गर्दै मिथकहरूले आदिम कालदेखि वर्तमान समयसम्म समाजलाई अगाडि बढाउने माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे  । 
कार्यक्रमकै सिलसिलामा याक्थुङ लिम्बु जातिको मुन्धुम र मुन्धुममा आधारित साँस्कृतिक सम्पदाहरूको संरक्षण र प्रबर्द्धन गर्ने प्रमुख लक्ष्य लिएर स्थापना गरिएको सेक्मुरी फाउन्डेसनको लागि शोमा निङ्लेखु र कायरा निङ्लेखुको तर्फबाट रू. एक लाख पचास हजार र शशिकला सुब्बाको तर्फबाट एक लाख एक रूपैया बराबरको अक्षय कोष खडा गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा  सेक्मुरी फाउन्डेसनका महासचिव भोगेन्द्र लिङदेनले उक्त रकमबाट याक्थुङ लिम्बु जातिको मुन्धुम, मिथक, भाषा, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न फेलोसिप स्थापना गरिने बताए ।
सिड्नीस्थित् एसबरी सिनियर सिटिजन्स सेन्टरमा स्थानीय समय अनुसार साँझ ६ बजे देखि ८ बजेसम्म सम्पन्न सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले सिलाम साक्मा र च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाउने सहभागीहरूलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिन । किरात याक्थुङ चुम्लुङ, सिड्नीका महासचिव मनुराज निङलेखुले संचालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा सहभागीहरूद्वारा केलाङ (च्याब्रुङ नृत्य) प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।