नेभिगेशन
अस्ट्रेलिया समाचार

नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिक उत्सव सम्पन्न

'समाजको सही सूचना संप्रेशित गर्न डराउनुपर्दैन'

सिड्नी, वैशाख ३० |

अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले संप्रेशित गरि समाजलाई सूसुचित गर्ने कुरामा जोड दिएका छन्।

नेपाल न्युज अष्ट्रेलियाको १० औं वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट कार्यक्रममा सहभागी हुन आएका वरिष्ठ पत्रकारले प्रवासको पत्रकारिताबारे चर्चा गरेका थिए।

व्यवसायिक र मर्यादित पत्रकारितामार्फत समाजलाई सुसूचित पार्ने कुरामा यहाँ कार्यरत पत्रकारले विशेष ध्यान दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार हरिबहादुर थापाले जोड दिए।

रहर र प्यासनका आधारमा चलेको प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपालन्युज अस्ट्रेलियाले आफ्नो दसौं वर्ष पुरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताए।

उनले प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यहाँका सञ्चारकर्मीलाई समाजले पनि सकारात्मक सहयोग गर्नुपर्ने खाँचो रहेको औल्याए।

'नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता' शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष शमिरजंग शाहले बदलिएको सञ्चारकर्मलाई प्रवासका पत्रकारले उचित मूल्याङ्कन गरी आफ्नो मूल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिए।

उनले व्यस्त जीवनबीच थोरै समय छुट्याएर पत्रकारितालाई जिवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए।

यस्तै गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका शिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवामा मात्र नभएर नेपाली मुलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गरे।

उनले नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएकाहरू नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधारस्तम्भ भएको भन्दै सत्य तथ्य र समाजमा आधारित भएर पत्रकारितलाई निरन्तरता दिन सुझाव दिए।

कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थिति बिच विदेसीएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको बताए। उनले यसलाई आगानी दिनमा निरन्तरता दिनुका साथै सामाजिक दायित्वसमेत निर्वाह गर्न आग्रह गरे।

समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायउन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गरिन्।

कार्यक्रममा नेपाल न्यूज अष्ट्रेलियाको १० वर्षे यात्रा र उतारचढावबारे हेमन्तराज काफ्लेले प्रकाश पारेका थिए। उनले एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता रहेको भन्दै अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न नसक्नुको प्रमाण नै नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकउत्सव मनाउनु रहेको बताए।

उनले जीविकोपार्जनका लागि अन्त काम गरेर हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्टयाएको भन्दै आगामी दिनमा कमि कमजोरीलाई सुधार गरेर अगाडि बढ्ने प्रण गरे।

यस्तै नेपाल न्यूःज अष्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तब्य राख्दै  प्रवासको नेपाली पत्रकारिताबारे प्रकाश पारेका थिए।

कार्यक्रममा प्रधान सम्पादक माधव गैरेले प्रवासको पत्रकारिता सोचेजस्तो सहज र उपलब्धि मुलक हुन नसकेको भन्दै बचेको थोरै समयलाई उचित सदुपयोग गरेको स्पष्ट पारे।

उनले प्रवासमा रहेका विभिन्न नेपाली समाज, समुदाय र सहयोगी मनका कारण आफ्नो प्यासनलाई निरन्तरता दिन सकेको बताए।

कार्यक्रको दोस्रो सेसनमा देश दुख्दा जुरूक्क उठेर सहयोग गर्ने प्रवासी नेपालीले नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सक्छन्, यहाँको लगानी नेपाल कसरी लैजान सकिनेछ भन्ने विषयमा अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका नेपाली मूलका अष्ट्रेलियन नागरिक ज्ञानेन्द्र कार्की (ग्यारी) ले ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ अभियानको सुरूआतबारे प्रष्ट पार्दै यो अभियान विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमीसँग जोड्ने गतिलो माध्यम बन्ने दाबी गरे।

उनले यो अभियानबाट विदेशमा रहेका नेपालीको लगानी नेपालमा हुनेछ र नेपाललाई समृद्ध बनाउन सघाउ पुर्‍याउने बताए।

यो अभियानलाई विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिहरूले कुन रूपमा लिएका छन्, यो अभियान कस्तो हो अनि कसरी नेपालमा लगानी भित्र्याउन सकिन्छ भनेर एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष, युवा व्यवसायी स्पष्ट वक्ता अनिल पोखरेल र सात लाख बढी अन्तर्राष्ट्रिय विद्यार्थीको साझा संस्था काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीसा) का अध्यक्ष विजय सापकोटाले आ- आफ्नो धारणा राखेका थिए।

गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउने, ज्ञान सिप र पूजी परिचालन गर्ने काममा धेरै अगाडिदेखि चासो लिएको स्मरण गर्दै पोखरेलले यसका लागि नेपालको धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायतका निकायबाक बनेकाले पत्रकारहरूले यस विषयमा सहजीकरण गर्नुपर्ने धारणा राखे।

यसरी विद्यार्थी बनेर अष्ट्रेलिया आएका केही नेपालीले परदेशमा सफल व्यवसायीको परिचय बनाइसकेको भन्दै सीसाका अध्यक्ष सापकोटाले विदेशी नागरिक भइसकेका नेपालीबाट सानोसानो पुँजीलाई जम्मा गरेर त्यसलाई नेपालमा लगानी भित्र्याउने विषयलाई पछिल्लो पुस्ताले सकारात्मक रूपमा लिएको बताए।

कार्यक्रममा ओएनएफका अध्यक्ष केशव जोशी, अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन (एन्जा) अध्यक्षः चिरिन्जिवी देवकोटा, जनसम्पर्क समितिका अध्यक्ष शुरेस गुरूङ, ब्लाकटाउन सिटी काउन्सिलका काउन्सिलर लिभिङ्स्टन चेट्टीपल्ली, (अर्बन होम्स) अर्बन होम्स, एनएसडब्लु, लाभिस कन्स्ट्रक्सन एण्ड डेभलपमेन्टका नितिन बात्रा र शक्तिदा बानियाँ, आइसिसी ओसिनिया रिजनल को-अर्डिनेटर दिनेशराज जोशी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ,  कानुन व्यवसायी, एवं नेपाल न्यूज अष्ट्रेलियाका कानुनी सल्लाहकार शमशेर सिंह थापालगायतले सम्बोधन गर्दै कार्यक्रमलाई शुभकामना दिएका थिए।

कानुनी सल्हाकार थापाले प्रवासी पत्रकारहरूले प्रवासका पत्रकारहरूले पनि सत्य तथ्य र विश्वासमा आधारित समाचार दिएर विश्वसनीयता प्रस्तुत गर्नुपर्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।