नेभिगेशन
नेपाल समाचार

कुख्यात बिकिनी किलर चार्ल्स शोभराज 'डिपोर्ट'; १० वर्ष नेपाल प्रवेशमा प्रतिवन्ध

काठमाडौं । कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई नेपालले देश निकाला गर्दै उनकै देश फ्रान्स पठाएको छ । सर्वोच्च अदालतको फैसलाले शुक्रवार थुनामुक्त भएका चार्ल्स शोभराजलाई शुक्रवार नै स्वदेश पठाइएको हो । अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध पनि लगाएको छ ।

 केन्द्रीय कारागारबाट हिरासतमुक्त कुख्यात शोभराजलाई अध्यागमन विभागले साँझको ६ बजे फ्रान्स पठाएको विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । शोभराजलाई कैदबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेर कतार एयरवेजमा उनकै देश पठाइएको हो ।

हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज आजै थुनामुक्त हुनु भएको हो ।

अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । 

सन् १९७० को दशकमा युवतीहरुको हत्या गरी एशियामै कुख्याती कमाएका शोभराजलाई विभिन्न मुलुकका प्रहरीले खोजी गरेका थिए । नेपालमा त्यस्तै हत्या घटनामा दोषी पाइएपछि उनलाई कारावासमा राखिएको थियो । विद्यमान नेपाल कानूनमा ७० वर्ष उमेर पार गरेका वृद्ध कैदीबन्दीहरुलाई असल चालचलन र कमजोर स्वास्थ्य अवस्थाको आधारमा कैद मिनाहा गर्न सक्ने प्रावधान बमोजिम उनका वकिलले बन्दीप्रत्यक्षीकरणको रीट दर्ता गरेपछि त्यसको सुनुवाइमा अदालतले शोभराजलाई कैदमुक्त गर्दै उनकै देश फिर्ता पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्