नेभिगेशन
नेपाल समाचार

किन पाएनन् गगनले संसदीय दलको नेता बन्न मत

काठमाडौं । मंगलवार नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध मनोनयन दर्ता गर्दै गर्दा महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन कुमार थापा आफू नेता चुनिनेमा आशावादी थिए । महाधिवेशनमा पार्टी सभापति देउवा विरुद्ध चुनाव लडेका नेता शेखर कोइरालाको समर्थन र युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने पार्टी भित्रका केहि दोस्रो र धेरै तेस्रो पुरस्ताका नेताहरुको चाहना र साथ समेत गगनलाई थियो । कहाँसम्म भने नेता कृष्ण सिटौलाको पक्षबाट महामन्त्रीको चुनाव नै लडेका प्रदीप पौडेल समेत साथमा आए पछि गगनको पल्ला भारि भएको बुझाइ कांग्रेस वृतमा थियो । यद्यपी सभापती देउवाको पकड र प्रभावका कारण परिणाम प्रतिकुल हुनसक्ने तर्फ पनि गगन पक्ष सचेत थियो ।

र भइदियो पनि त्यस्तै । बुधवार विहानै भएको मतदानमा गगनले २५ मत पाए भने देउवाको पक्षमा ६४ मत पर्यो ।

चुनाव प्रचार शुरु अघिबाटै आफू अब नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने प्रचार गगनले गरिरहेका थिए । कतिपयले गगनको त्यहि अभिव्यक्तिले गर्दा पार्टी भित्रबाट सहयोग नहुने र उनले चुनाव हार्ने विश्लेषण त्यतिबेला भएको थियो । तर चुनावी प्रचारमा मुख्य एजेण्डा बनेको गगनको प्रधानमन्त्री बन्ने अभियानलाई दलभित्र मन नपराइएको र उनको महत्वकांक्षा बढ्दै गएको विश्लेषण गरिए पनि आम मतदाताले मनपराए र अत्यधिक मतसहित विजयी बनाएर संसदमा पठाए । जनतालाई गरेको वाचा अनुसार गगनले निर्वाचित भएको क्षणबाटै संसदीय दलको नेता बन्ने अभियान शुरु गरे । किनकी नेपाली कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

गगनको यो अभियानमा दल भित्रका युवा नेताहरुको साथ शुरु बाटै छदै थियो पछि ३१ सांसद समूह रहेको शेखर कोइराला समूह पनि गगनको पक्षमा उभिएको थियो ।

तर बुधार भएको नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । जबकी परिणाममा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।

किन भयो त यस्तो?
यसको मुख्य कारण नै तेस्रो तहका नेता मुख्य पदमा पुग्दा पहिलो पुस्ता त रिटायर्डमा जाने नै भयो संगसंगै पद र पोजिसनको ताक कुरेर बसेको दोस्रो पुस्ता समेत घर जानु पर्ने अवस्था आउने पक्का थियो । यहि डरको सुविधा 'वेनिफिट अफ फेयर'को फाइदा देउवालाई पुग्यो । र यो डर कांग्रेस भित्र मात्रै थिएन । कांग्रेसमा देखिएको यो पुस्तान्तरणको किस्साले समकालीन राजनीतिका अन्य दल र तिनका नेताहरुलाई पनि स्वभाविक रुपमै प्रभावित पार्ने थियो ।

भलै कांग्रेस बाहेकका दलहरुले आफ्ना संसदीय दलका नेता अहिले निर्विरोध र सर्वसम्मत चयन गरे तर कांग्रेसले प्रयोग गरेको सुन्दर प्रजातान्त्रिक अभ्यासको बाछिटाले भने यसपटक सबै दलहरुलाई हानेको छ । र यसको प्रभाव आगामी दिनमा देखिदैं जानेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्