नेभिगेशन
नेपाल समाचार

सीमा क्षेत्रमा आफूखुशी निर्माण नगर्न भारतलाई नेपालको नोट

काठमाडौं । सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ ।

दार्चुलाको सिमा क्षेत्रमा पर्ने महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौं स्थित भारतीय दूतावास मार्फत कुटनीतिक नोट पठाएर सचेत बनाएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एकतर्फी रुपमा निर्माण भइरहेको तटबन्ध निर्माण रोक्न र त्यसैको बहानामा नेपाली नागरिकहरु माथि भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको जानकारी दिनुभयो ।

कूटनीतिक नोटमा नेपालले भारतलाई महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पनि सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी कुनै किसिमका क्रियाकलाप नगर्न सचेत रहनुपर्ने विषय उल्लेख गरेको बुझिएको छ ।

दार्चुलाको सीमा क्षेत्रमा महाकाली नदीले भारतीय पक्षले तटबन्ध बनाउन सुरु गरेपछि केहिदिन अघि त्यसको विरोध गरेका नेपालीहरु माथि भएको ढूङ्गा प्रहारबाट केहि घाइते समेत भएका थिए ।

घटनाबारे गृहमन्त्रालयले तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्