नेभिगेशन
आमनिर्बाचन २०७९

प्रतिनिधि सभा निर्वाचनको सबै परिणाम प्राप्त; सरकार गठनको कसरतमा दलहरु

काठमाडौं । गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भै सकेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ कुल १६५ निर्वाचन क्षेत्रमा ५७ सीट जित्दै नेपाली कांग्रेस पहिलो भएको छ । समानुपातिक तर्फको मतगणना बाँकी नै रहेकोले दलहरुले प्राप्त गर्ने अन्तिम सिट संख्याको टुङ्गो भने अझै लागिसकेको छैन् ।
मंसिर ४ गते प्रतिनिधिसभाको १ सय ६५ र प्रेदश सभा तर्फ ३ सय ३० सिटकालागि निर्वाचन भएको थियो । सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ सिट जितेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ ।
प्रतिनिधिसभा संगै प्रदेशसभाको प्रत्यक्ष तर्फको मतरिणाम सार्वजनिक भै सकेको छ । प्रतिनिधि तथा प्रेदश सभाको सबै मतपरिणाम आएसंगै समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलवार सम्म समानुपातिक तर्फको मतगणना सकिने छ । प्रत्यक्ष र समानुपातिक तर्फको मतपरिणाम आएसंगै आयोगले निर्वाचनको मतपरिणाम यहि मंसीर अन्तिम सम्ममा राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको छ ।
आयोगले मतपरिणाम राष्ट्रपति समक्ष बुझाएसंगै सरकार गठन प्रक्रिया सुरु हुनेछ । निर्वाचनको मतपरिणाम आएसंगै दलहरु नयाँ सरकार गठन प्रक्रियामा जुटि सकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्