नेभिगेशन
आमनिर्बाचन २०७९

दोलखामा पुनः मतदान

काठमाडौं । दोलखामा बिहीबार १० वटा मतदान केन्द्रमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । 

यही मङ्सिर ४ गते भएको निवार्चनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । पुनः मतदानका लागि आवश्यक तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । 

कर्मचारी, मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ छ । 

मतदाता, मतदान स्थल र केन्द्रमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको छ । मतदानका लागि १० मतदान केन्द्रमा गरी ८० जना कर्मचारी खटाइएको छ ।

वैतेश्वर गाउँपालिका–२, जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र (क) र (ख) र वडा नं. ३ को कालीढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र (क), (ख) र (ग), वडा नं. ६ को वैतेश्वर मावि मतदान केन्द्रको (क), (ख) र (ग) तथा तामाकोसी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवनको मतदान केन्द्र ‘क’ र ‘ख’मा पुनः मतदान हुँदैछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्